कन्हैया कुमारविरुद्ध देशद्रोहको आरोपमा मुद्दा चलाउन दिल्ली सरकारको अनुमति

एजेन्सी

नयाँदिल्ली — आम आदमी पार्टी नेतृत्वको दिल्ली सरकारले वामपन्थी नेता कन्हैया कुमारमाथि देशद्रोहको आरोपमा मुद्दा चलाउन दिल्ली प्रहरीलाई अनुमति दिएको छ ।

कन्हैया कुमारविरुद्ध देशद्रोहको आरोपमा मुद्दा चलाउन दिल्ली सरकारको अनुमति

जहावरलाल नेहरु विश्वविद्यालय छात्र संघका पूर्वअध्यक्षसमेत रहेका कन्हैयामाथि ‘राष्ट्रविरोधी नारा’लगाएको आरोपमा दिल्ली प्रहरीले देशद्रोहको आरोपमा अदालतमा मुद्दा दायर गरेको थियो । प्रहरीले कन्हैया कुमार, उमर खालिद, अनिर्बानका अलावा सात जनालाई अभियुक्त बनाउदै दिल्ली प्रहरीले मुद्दा दायर गरेको थियो ।


तर मुद्दा अगाडि बढाउनका लागि दिल्ली सरकारको अनुमति प्राप्त भएको थिएन । दिल्ली सरकारले यसलाई टाल्दै आए पनि पछिल्लो पटक अनुमति दिएको हो । देशद्रोहको मुद्दा चलाउनका लागि सम्बन्धित राज्य सरकारको अनुमति चाहिने भारतीय संविधानमा प्रावधान रहेको छ । केन्द्रीय गृहमन्त्री अमित शाह र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालबीच भेट भएको केही दिनपछि नै कन्हैया कुमार, उमर खालिद र आनिर्बान भट्टाचार्यसहितका विद्यार्थी नेतालाई विरुद्ध देशद्रोहको आरोपमा मुद्दा चलाउन अनुमति दिएको हो ।

केन्द्रको नेतृत्वमा रहेको भारतीय जनता पार्टीको सरकारले कन्हैया कुमारसहितका विद्यार्थी नेतालाई देशद्रोहको मुद्दा नचलाएको भन्दै आलोचना गर्दै आएको थियो ।

सन् २०१६ को फेब्रुअरी ९ मा जवाहरलाल नेहरु विश्वविद्यालयमा कथित रुपमा भारतविरोधी नारा लगाएको आरोप लागेको थियो । कथित घटनाको चार वर्षपछि अब कन्हैयासहित अन्य विद्यार्थीविरुद्ध अदालतमा देशद्रोहको आरोपमा मुद्दा चल्ने भएको छ ।

गत हप्ता मात्रै दिल्ली प्रहरीले मुख्यमन्त्री केजरीवाललाई पत्र लेखेर कन्हैयासहितका विद्यार्थी नेतालाई मुद्दा चलाउने अनुमति दिन आग्रह गरेको थियो ।

एक वर्षअघि दिल्ली प्रहरीले देशद्रोहको आरोपमा कन्हैया, उमर, आनिर्बानसहित ९ जना विद्यार्थीविरुद्ध एक हजार २ सय पृष्ठको आरोपपत्र तयार गरेको थियो । तर अदालतले देशद्रोहको मुद्दा चलाउन राज्य सरकारको अनुमतिबिना सम्भव नभएको भन्दै रोकेको थियो । दिल्ली प्रहरीले भारतीय संसद् भवन आक्रमणका मास्टरमाइन्ड अफजल गुरुको समर्थन कन्हैयासहितका विद्यार्थीले नारा लगाएको पनि आरोप लगाएको छ ।

दिल्ली सरकारको पछिल्लो निर्णय राजनीतिक रुपले प्रेरित भएको कन्हैया कुमारले प्रतिक्रिया दिएका छन् । मेजेस्ट्रियल इन्क्वायरीमा जवाहरलाल नेहरु विश्वविद्यालयका कुनै पनि विद्यार्थी भारतविरोधी अभियानमा नलागेको पुष्टि भएको उनले बताएका छन् । कन्हैया कुमार अहिले कार्यक्रमका लागि झारखण्डको राँचीमा रहेका छन् ।

पछिल्लो समय कन्हैया कुमारले बिहारमा विभिन्न ठाउँमा नागरिकता संशोधन कानुनको विरोधमा जन गण मन यात्रा गरेका थिए । 'संविधान बचाओ, नागरिकता बचाओ नारा' सहितको उक्त यात्रामा कन्हैयाको समर्थनमा हजारौं नागरिकको उपस्थिति रहेको थियो । कन्हैयाको यस यात्रालाई आउँदो बिहार विधानसभा चुनावको तयारीका रुपमा समेत हेरिएको थियो ।

बिहार चुनावमा कन्हैयाको उपस्थिति बलियो हुने देखिएपछि भाजपाले उनलाई रोक्नका लागि दिल्ली सरकारबाट पछिल्लो निर्णय गराएको समेत आरोप राजनीतिक विश्लेषकहरुले लाएका छन् ।

प्रकाशित : फाल्गुन १६, २०७६ २१:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?