दिल्लीमा अझै त्रास, भड्काउ भाषण दिने नेतालाई पक्राउ गर्न अदालतको आदेश

सुरेशराज न्यौपाने

नयाँदिल्ली — विगत तीनदिनदेखि हिंसात्मक प्रदर्शनका कारण तनावपूर्ण रहेको भारतको राजधानी नयाँदिल्लीको उत्तरपूर्वी क्षेत्र बुधबार भने शान्त रह्यो । बुधबार अपराह्न मौजपुर, बाबरपुर पुग्दा देखिएका दृश्य मंगलबार भएको कहालीलाग्दो हिंसा बुझाउन पर्याप्त थिए । सडकका छेउछाउमा जलेका सवारीसाधनहरू यत्रतत्र थिए । चोकचोकमा इँटाका थुप्रा थिए, सडकछेउका पसलहरू प्रायः पनि कुनै सद्दे थिएनन् ।

सोमबार र मंगलबार सबैभन्दा बढी हिंसात्मक घटना भएका जाफराबाद, मौजपुर, बाबरपुर, गोकुलपुरी क्षेत्र पूरै सुनसान थियो । पसलहरू सबै बन्द थिए भने सवारीसाधन फाट्टफुट्ट मात्र चलेका थिए । अधिकांशको सिसा फुटाइका थिए भने कतिपयमा आगजानीसमेत गरिएका थिए । मंगलबार सबैभन्दा बढी क्षति मौजपुर र गोकुलपुरीको टायर बजार र कबाडी बजारमा पुगेको थियो ।


परिस्थिति असामान्य बन्दै गएपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मंगलबार अपराह्न गृहमन्त्री अमित शाह र दिल्लीका उपराज्यपाल जी बैजालसँग भेट गरेका थिए । त्यो भेटपछि केन्द्र सरकारले हिंसाग्रस्त क्षेत्रमा थप प्रहरी परिचालन गर्ने निर्णय गरेको थियो ।


बुधबार स्थिति शान्तिपूर्ण रहे पनि त्यहाँमा बासिन्दामा अझै पनि भय र त्रास रहेको देखिन्छ । तर, स्थानीय बासिन्दाहरूमा अहिले भने भय र त्रास कायमै छ । स्थानीयहरू बाहिरका मानिससँग बोल्नबाट अझै डराइरहेका थिए । स्थानीयहरू घरका छतबाट सडकको दृश्य नियालिरहेको देखिन्थे । केही स्थानीयहरूले समयमै पर्याप्त मात्रामा सुरक्षाफौज तैनाथ गरिएको भए हिंसात्मक घटना हुने थिएन भन्दै आक्रोशसमेत व्यक्त गरे ।


यसैबीच, दिल्ली उच्च अदालतले भड्काउ भाषण दिने कपिल मिश्रलगायतका नेतालाई पक्राउ गर्न आदेश दिएको छ । भारतीय जनता पार्टीका दिल्ली नेता कपिल मिश्रले गत आइतबार नागरिकता ऐनको विरोधमा प्रदर्शन गरिरहेकालाई तीन दिनभित्र प्रदर्शन अन्त्य गर्न अन्यथा आफूहरूले जे पनि गर्न सक्ने भन्दै खुला चुनौती दिएका थिए । मिश्राले त्यस्तो अभिव्यक्ति दिएको भोलिपल्टदेखि प्रदर्शनले दंगाको रूप लिएको थियो । सोमबार र मंगलबारसम्म भएको दंगामा परेर एक प्रहरीसहित २७ जनाको ज्यान गएको छ भने २ सय ५० घाइते भएका छन् । प्रकाशित : फाल्गुन १५, २०७६ ०८:०७

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मुआब्जा लिन अंश मुद्दा

भीमबहादुर सिंह

(जाजरकोट) — बारेकोट गाउँपालिका–९ काप्तीका लोकराज बस्नेत अंश र लिखत बदर मुद्दाका लागि दैनिक जिल्ला अदालत धाउँछन् । सोही गाउपालिका–८ सक्लाका धनबहादुर कुमाई लुकाइछिपाई राखेको अंश मुद्दामा अदालत धाएको लामो समय भयो । 

उनीहरू उदाहरण मात्र हुन्, जाजरकोट अदालत र मालपोत कार्यालयमा अंश, लिखत बदर, हक कायम, जग्गा रोक्कालगायत मुद्दा थुप्रिने क्रम बढेको छ । नलगाड जलविद्युत् आयोजनाले यो वर्षमा मुआब्जा वितरण गर्ने भएपछि अंशियार र जग्गा किनबेच गर्नेबीच विवाद हुँदा मुद्दा पर्ने क्रम बढेको हो । बाबु–बाजेको पैतृक सम्पत्ति अर्कै व्यक्तिको नाममा भई जग्गाको मुआब्जा प्राप्त नहुने अवस्था आएपछि अंशियारहरू अदालत धाउने क्रम बढेको हो ।

नलगाडले मुआब्जा वितरण गर्ने सूचना निकालेसँगै जग्गा विवाद बढेको स्थानीय राजुराजा सिंहले बताए । ‘विगतमा गाउँभरका स्थानीयको जग्गाजमिन एउटैको नाममा दर्ता र नामसारी गर्ने प्रचलनले अहिले समस्या निम्त्याएको छ,’ उनले भने, ‘बारेकोटमा मात्रै यस्तो समस्या एक सयभन्दा बढी परिवारमा छ ।’ उनका अनुसार पाँच पुस्तासम्म जग्गाको नामसारी नलिएका उदाहरण प्रसस्तै छन् । जग्गा भोगचलन गर्दै आए पनि आफ्नो नाममा नहुँदा स्थानीय मुआब्जा पाउनबाट वञ्चित हुने अवस्था आएको उनले जनाए ।

स्थानीयका अनुसार मुआब्जा नपाउने भएपछि मुद्दा दर्ता गर्नुको विकल्प छैन । बारेकोट गाउँपालिका–७ सुवाकोटका कर्णबहादुर शाहीले लिखत बदरका लागि अदालतको तारेख भोगिरहेको जानकारी दिए । उनका अनुसार जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका व्यक्तिको बेमाइनीले विवाद बढ्दै गएको हो । जिल्ला अदालतका अनुसार चालु आर्थिक वर्षमा अंश तथा जग्गा विवादका तीन दर्जन मुद्दा दर्ता भएका छन् । मालपोत कार्यालयले जग्गा विवादका करिब ६० निवेदन दर्ता भएको जनाएको छ । नलगाड जलविद्युत् आयोजनाले चालु आर्थिक वर्षमा बारेकोटमा ४ हजार ६ सय रोपनी जग्गाको २ अर्ब ७३ करोड रुपैयाँ मुआब्जा वितरण गर्ने भएको छ । आयोजनाले बारेकोटमा ६ हजार रोपनीभन्दा बढी जग्गा अधिग्रहण गर्नुपर्ने जनाएको छ ।

प्रकाशित : फाल्गुन १५, २०७६ ०८:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×