दिल्लीमा दंगा : मृतकको संख्या १८ पुग्यो

कान्तिपुर संवाददाता

नयाँदिल्ली — भारतको राजधानी नयाँदिल्लीको उत्तरपूर्वी क्षेत्रमा आइतबारबाट भड्किएको हिंसामा ज्यान गुमाउनेको संख्या १८ पुगेको छ । दिल्लीको गुरु तेगबहादुर अस्पतालका निर्देशक सुनिल कुमारले बुधबार बिहान थप ४ जनाको मृत्यु भएको जानकारी दिए । हिंसामा घाइते भएका चार जनालाई अस्पताल ल्याउँदा मृत्यु भइसकेको उनले जानकारी दिए । मृत्यु हुनेमा एक सुरक्षाकर्मी र बाँकी सर्वसाधारण रहेका छन् ।

हिंसामा ५० भन्दा बढी सुरक्षाकर्मीसहित २५० भन्दा बढी घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। भारतको राजधानी नयाँदिल्लीमा दुई दशकयताकै ठूलो हिंसा फैलिएको बताइएको छ।

यसैबीच बुधबार बिहानै राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले हिंसा प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्। उनले केही बेरमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई दिल्लीको पछिल्लो अवस्थाका बारेमा जानकारी दिने बताइएको छ।

घटनास्थल पुगेका एम्बुलेन्सलाई समेत अवरोध पुर्‍याइएपछि घाइतेलाई मोटरसाइकल र भ्यानमा राखेर अस्पताल पुर्‍याइएको थियो । उग्र भीडले पत्रकारहरूमाथि पनि हमला गरेको छ । हमलामा एनडीटीभी, एबीपीका पत्रकारहरू घाइते भएका छन् । केही पत्रकारमाथि गोली प्रहार भएको छ । घाइतेहरुको उद्धारमा अवरोध पुर्‍याइएपछि मंगलबार राति दिल्ली उच्च अदालतले दिल्ली प्रहरीलाई घाइतेहरुको तत्काल उद्धार गर्न आदेश दिएको थियो।

परिस्थिति असामान्य बन्दै गएपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मंगलबार अपराह्न केन्द्र सरकारका गृहमन्त्री अमित शाह र दिल्लीका उपराज्यपाल जी बैजाललाई भेटेका थिए । त्यो भेटपछि केन्द्र सरकारले हिंसाग्रस्त क्षेत्रमा थप प्रहरी परिचालन गर्ने निर्णय गरेको थियो । लगत्तै जफरावाद, खजुरी खास, भजनपुरा, मौजपुरलगायत हिंसा प्रभावित क्षेत्रमा मंगलबार साँझ अर्धसैनिक बलका टुकडीहरूले मार्च गरेका थिए । त्यसपछि भने परिस्थिति सामान्य बन्दै गएको बताइएको छ । उत्तरपूर्वीका दिल्लीका सबैजसो भागमा संविधानको धारा १४४ लगाइएको छ, जसअनुसार चार जनाभन्दा बढी मानिस एकै ठाउँमा भेला हुन पाइँदैन ।

सम्बन्धित समाचार

दिल्लीमा दंगा : मृतकको संख्या १३ पुग्यो, डेढ सयभन्दा बढी घाइते

प्रकाशित : फाल्गुन १४, २०७६ १०:४०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बालुवाटारमा ओली-दाहाल छलफल जारी

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल भइरहेको छ ।उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने प्रस्ताव लगायत विषयमा दुई अध्यक्षबीच बालुवाटारमा छलफल जारी रहेको प्रधानमन्‍त्री एवं नेकपा अध्यक्ष ओलीको सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार छलफल अमेरिकी नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्‍धमा नेकपा कार्यदलले बुझाएको प्रतिवेदन, गौतमलाई राष्ट्रिय सभामा लैजाने शनिबारको प्रस्ताव, संविधान संशोधनका लागि गठन गरिएको भनेको कार्यदलबारे केन्द्रित छ। त्यस्तै अध्यक्षद्वयबीच पार्टी एकताका टुंगिन बाँकी कामबारे छलफल हुने छ।

राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउनका लागि नेकपाले गठन गरेको भनिएको संविधान संशोधन कार्यदलका विषयमा चर्को आलोचना भइरहेको छ । नेकपाले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा लैजाने कसरतबीच उनको चाहनाबमोजिम संविधान संशोधनको गृहकार्य थालेको हो ।
झलनाथ खनाल संयोजक रहेकोएमसीसी अध्ययन कार्यदलले यथास्थितिमा एमसीसी संसदबाट पारित गर्न नहुने सुझावसहितशुक्रबार ओली र दाहाललाई प्रतिवेदन बुझाएको थियो।

शीर्ष नेताको छलफलपछि आजै नेकपा सचिवालय बैठक बस्‍ने तयारी छ।

प्रकाशित : फाल्गुन १४, २०७६ १०:३६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×