१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

दिल्लीमा दंगा : मृतकको संख्या १३ पुग्यो, डेढ सयभन्दा बढी घाइते 

दिल्लीको उत्तरपूर्वी क्षेत्रमा करिब १५ हजार प्रवासी नेपाली रहेको अनुमान छ । हिंसाले कुनै क्षति नपुगे पनि परिस्थिति थप बिग्रने त्रास उनीहरुमा छ । 
सुरेशराज न्यौपाने

(नयाँदिल्ली) — भारतको राजधानी नयाँदिल्लीको उत्तरपूर्वी क्षेत्रमा तीन दिनअघि सुरु भएको प्रदर्शन भड्किँदा पछिल्लो २४ घण्टामा १३ जनाको ज्यान गएको छ भने डेढ सयभन्दा बढी घाइते भएका छन् । ठूलो मात्रामा निजी र सार्वजनिक सम्पत्तिमा क्षति पुगेको छ । 

दिल्लीमा दंगा : मृतकको संख्या १३ पुग्यो, डेढ सयभन्दा बढी घाइते 

संशोधित नागरिकता ऐनविरुद्ध स–साना झडपका बीच आइतबार प्रदर्शन सुरु भएको थियो । यसले सोमबार कतिपय स्थानमा साम्प्रदायिक (हिन्दु–मुस्लिम) रूप लियो । यस क्रममा जीउधनको क्षति भएको छ । मंगलबार दिल्लीको उत्तरपूर्वी क्षेत्र थप तनावपूर्ण बनेको थियो । प्रदर्शनकारी बिहानैदेखि सडकमा आएका थिए । दुवै पक्षबीच ढुंगा हानाहान चल्यो । घर, पसल तथा सवारीसाधनमा आगजनी गरिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास र गोलीसमेत प्रहार गर्‍यो ।


घटनास्थल पुगेका एम्बुलेन्सलाई समेत अवरोध पुर्‍याइएपछि घाइतेलाई मोटरसाइकल र भ्यानमा राखेर अस्पताल पुर्‍याइएको थियो । उग्र भीडले पत्रकारहरूमाथि पनि हमला गरेको छ । हमलामा एनडीटीभी, एबीपीका पत्रकारहरू घाइते भएका छन् । केही पत्रकारमाथि गोली प्रहार भएको छ ।


परिस्थिति असामान्य बन्दै गएपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मंगलबार अपराह्न केन्द्र सरकारका गृहमन्त्री अमित शाह र दिल्लीका उपराज्यपाल जी बैजाललाई भेटेका थिए । त्यो भेटपछि केन्द्र सरकारले हिंसाग्रस्त क्षेत्रमा थप प्रहरी परिचालन गर्ने निर्णय गरेको थियो । लगत्तै जफरावाद, खजुरी खास, भजनपुरा, मौजपुरलगायत हिंसा प्रभावित क्षेत्रमा मंगलबार साँझ अर्धसैनिक बलका टुकडीहरूले मार्च गरेका थिए । त्यसपछि भने परिस्थिति सामान्य बन्दै गएको बताइएको छ । उत्तरपूर्वीका दिल्लीका सबैजसो भागमा संविधानको धारा १४४ लगाइएको छ, जसअनुसार चार जनाभन्दा बढी मानिस एकै ठाउँमा भेला हुन पाइँदैन ।


आफ्नो निर्वाचन क्षेत्रमा भएको प्रदर्शन हिंसात्मक बन्दै गएपछि भाजपाका सांसद तथा पूर्वक्रिकेटर गौतम गम्भीरले भड्कावपूर्ण अभिव्यक्ति दिने जोकोहीलाई प्रहरीले कारबाही गर्नुपर्ने बताएका छन् । दिल्लीका भाजपा नेता कपिल मिश्रले सोमबार सार्वजनिक रूपमै विगत दिल्लीको जाफरावाद र चाँदवाग क्षेत्रमा जारी प्रदर्शन तीन दिनभित्र अन्त्य गराएर सडक खुला गराउन दिल्ली प्रहरीलाई ‘अल्टिमेटम’ दिएका थिए । मिश्रले अभिव्यक्ति दिएको भोलिपल्टदेखि प्रदर्शन हिंसात्मक बनेको हो । मिश्रको उक्त अभिव्यक्तिले साम्प्रदायिक सद्भावलाई खलल पुर्‍याउन खोजेको भन्दै सबै पक्षबाट आलोचना भएको छ । गम्भीरले मानिसलाई भड्काउने खालको अभिव्यक्ति दिने व्यक्ति जुनसुकै पार्टीको भए पनि कारबाही गर्न माग गरेका छन् ।


नरेन्द्र मोदी सरकारले तीन महिनाअघि नागरिकता ऐनमा संशोधन गरेपछि त्यसको विरोधमा भारतभर प्रदर्शन हुँदै आएको छ । दिल्लीको साहिन वागमा दुई महिनादेखि प्रदर्शन भएको थियो । उक्त प्रदर्शनप्रति भारतीय जनता पार्टीका कार्यकर्ता सुरुदेखि नै असन्तुष्ट थिए । उनीहरूले सार्वजनिक रूपमै आक्रोश व्यक्त गर्दै आएका छन् । त्यस्तो अभिव्यक्ति दिनेमा भाजपाका नेता मिश्र सबैभन्दा अगाडि थिए । भाजपाले भने हिंसाका लागि नागरिकता ऐनको विरोध गरिरहेकाहरू नै जिम्मेवार रहेको आरोप लगाएको छ ।


विश्वकै सबैभन्दा ठूलो लोकतन्त्र भएको मुलुक भारतको राजधानीमा यस किसिमको हिंसात्मक प्रदर्शन हुनु चिन्ताजनक भएको एकथरी विश्लेषकको बुझाइ छ । कतिपय विश्लेषकले भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा रहेकै बेला राजधानी दिल्लीमा साम्प्रदायिक घटना हुँदा भारतको अन्तर्राष्ट्रिय छविमा ठूलो धक्का पुगेको बताएका छन् । उनीहरूले नरेन्द्र मोदी नेतृत्वको सरकारले भारतको अन्तर्राष्ट्रिय छवि उजिलिँदै गएको भन्ने दाबीलाई राजधानीभित्रै घटेको हिसांले गलत सावित गरेको बताए । ‘ट्रम्पको स्वागतमा एक लाख मानिस भेला गरेर भारतको अन्तर्राष्ट्रिय छवि बन्ने होइन, त्यसका लागि देशभित्र शान्तिपूर्ण, भाइचारा, समृद्धिको वातावरण तयार गर्नुपर्छ । मानव विकासमा लगानी गर्नुपर्छ, प्रतिव्यक्ति आय बढाउनुपर्छ । राजधानी दिल्लीमा भएको पछिल्लो हिंसाले छविमा थप धक्का पुगेको छ,’ विश्लेषक उर्मिलेशले कान्तिपुरसँग भने । देशभित्र शान्ति र भाइचारा कायम नभएसम्म जति नै प्रचार गरे पनि भारतबारे अन्तर्राष्ट्रिय जगत्ले राम्रो धारणा नबनाउने उनले बताए ।


सुरक्षित तर त्रासमा नेपाली

दिल्लीमा भड्किएको हिंसाले त्यस क्षेत्रमा बस्ने नेपालीलाई क्षति नपुगे पनि उनीहरूमा त्रास बढेको छ । हिंसात्मक घटना भएका क्षेत्रमा नेपालीको बाक्लै उपस्थिति छ । दिल्लीको उत्तरपूर्वी क्षेत्रमा करिब पन्ध्र हजार प्रवासी नेपाली रहेको अनुमान छ । तीमध्ये अधिकांश आ–आफ्नै स–साना उद्योग व्यवसाय र कलकारखानामा काम गर्छन् । हालसम्म नेपालीलाई कुनै क्षति भने पुगेको छैन । उनीहरूमा दंगा थप भड्किने हो भन्ने त्रास भने छ । तनावपूर्ण माहोलका कारण उनीहरू व्यवसाय गर्न तथा अन्य अत्यावश्यक कामका लागि बाहिर निस्कन सकेका छैनन् ।


गोकुलपुरीमा बस्दै आएका जनक गिरीले सोमबार किनमेलका लागि बाहिर निस्के पनि मंगलबार बिहानदेखि भने बाहिर निस्कने वातावरण नरहेको बताए । ‘सोमबारसम्म त ठिकै थियो तर आजको स्थिति डरलाग्दो बन्यो । हामी बिहानैदेखि घरभित्रै छौं, हिंसा थप चर्किने हो भन्ने डर छ,’ गिरीले भने । दिल्लीस्थित नेपाली दूतावासले विकसित घटनाक्रम र नेपालीको सुरक्षा व्यवस्थालाई नजिकबाट हेरिरहेको जनाएको छ । ‘उत्तरपूर्वी दिल्लीमा रहेका नेपाली समुदायसँग सम्पर्कमा छौं । उनीहरू असुरक्षित छैनन्,’ दूतावासका प्रवक्ता हरि ओडारीले भने । उनका अनुसार दूतावासले त्यस क्षेत्रमा बस्ने नेपालीलाई भीडभाडमा नजान आग्रहसमेत गरेको छ ।


‘हामीले आफ्नो संगठनमार्फत त्यहाँ रहेका नेपालीलाई हल्लाका पछाडि नलाग्न र स्थिति पूर्ण रूपमा शान्त नभएसम्म घरभित्रै बस्न भनेका छौं,’ पूर्वअखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय सचिव आरबी खड्काले भने ।

प्रकाशित : फाल्गुन १४, २०७६ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?