दिल्लीमा हिंसात्मक प्रदर्शन : एक प्रहरीसहित तीनको मृत्यु 

एजेन्सी

नयाँदिल्ली — दिल्लीमा नागरिकता संशोधन कानुन(सीएए) को विरोध र समर्थनमा भइरहेको प्रदर्शनले हिंसात्मक रुप लिएको छ । सोमबार भारतको राजधानी दिल्लीको यमुना क्षेत्रमा दुई पक्षबीच भएको हिंसात्मक झडपमा तीन जनाको ज्यान गएको छ । मृत्यु हुनेमा एक जना प्रहरीसहित दुई सर्वसाधारण रहेका छन् ।

दिल्लीमा हिंसात्मक प्रदर्शन : एक प्रहरीसहित तीनको मृत्यु 

सीएएको विरोधमा स्थानीयले प्रदर्शन गरिरहँदा सीएएका समर्थकहरुले ढुंगामुढासहित आक्रमण गरेको बताइएको छ । प्रहरीको नियन्त्रण रेखा तोडेर पनि सीएए समर्थकहरुले विरोधमा प्रदर्शनमा उत्रिएका स्थानीयमाथि लाठी, ढुंगामुढा प्रहार तथा पेट्रोल बम प्रहार गरेको रोयटर्सले जनाएको छ ।


प्रहरीले चलाएको गोली लागेर मोहम्मद सुल्तान र शाहिद अल्वीको मृत्यु भएको छ । त्यस्तै दुवै पक्षको झडपमा परि हेड कन्स्टेबल रतनलालको पनि मृत्यु भएको छ । झडपमा दर्जनौं व्यक्ति घाइते भएका छन् ।


नागरिकता कानुनको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि पेट्रोल बम फ्याँक्दै कानुनका समर्थक तस्बिर : रोयटर्स

उत्तर पूर्वी दिल्लीको जाफराबाद, मौजपुर, सीलमपुर तथा चाँदबाग क्षेत्रमा प्रदर्शनले हिंसात्मक रुप लिएको छ । यी क्षेत्रमा धारा १४४ लगाइएको छ । हिंसा प्रभावित क्षेत्रका स्थानीयले भारतीय जनता पार्टी(भाजपा) का नेता कपिल मिश्राका कारण हिंसा भड्किएको बताउँदै प्रहरीमा उजुरी दिएका छन् ।


प्रदर्शन हिंसात्मक बन्दै गएपछि दिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको बताइए पनि अवस्था नियन्त्रणमा आएको छैन ।


यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भारत भ्रमणका क्रममा सोमबार साँझ दिल्ली पुगेका छन् । सोमबार दिउँसो गुजरातको अहमदाबाद आइपुगेका ट्रम्प सोमबार नै उत्तर प्रदेशको आगरामा रहेको ताज महल पुगेर दिल्ली आएका हुन् ।

प्रकाशित : फाल्गुन १२, २०७६ २२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?