१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले दिए राजीनामा

एजेन्सी

क्‍वालालम्पुर — मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले सोमबार राजीनामा दिएका छन् । ९४ वर्षीय महाथिरले सोमबार सुल्तान अब्दुल्लाह अहमद शाहसमक्ष राजीनामा पत्र बुझाएका हुन् । 

मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले दिए राजीनामा

प्रधानमन्त्री कार्यालयले जनाएअनुसार महाथिरको राजीनामा पत्र स्थानीय समयअनुसार दिउँसो १ बजे सुल्तानसमक्ष पेस गरिएको हो । महाथिरले राजीनामा पत्रमा के लेखेका छन् भन्नेबारे भने बताइएको छैन । सत्ता साझेदार पिपल्स जस्टिस पार्टीका अनवर इब्राहिमबिनै महाथिरले नयाँ गठबन्धन सरकार बनाउन लागेको भन्ने हल्लाकै बीच उनको राजीनामा आएको हो । सरकारी गठबन्धन पाकातन हरापनको नेतृत्वसमेत गरिरहेका अनवरलाई महाथिरले समय आएपछि सत्ता हस्तान्तरण गर्ने बताएका थिए । पछिल्लो समय यही विषयमा महाथिर र अनवरबीच विवाद थियो । आइतबार महाथिर र उनको पार्टीले आफूलाई बाहिर राखेर सरकार बनाउन लागेको आरोप अनवरले लगाएका थिए । आरोपकै बीच महाथिरको राजीनामा आएपछि मलेसिया सरकारको नेतृत्व अब कसले गर्छ वा नयाँ निर्वाचन हुन्छ भन्नेबारे प्रस्ट भइसकेको छैन । यद्यपि कतिपयले भने महाथिरले पुनः सरकारको नेतृत्व गर्न सक्ने सम्भावना पनि औंल्याएका छन् ।


महाथिरले आफैं अध्यक्ष रहेको बेर्सातु पार्टीबाट पनि राजीनामा दिएका छन् । बेर्सातु सत्तारुढ गठबन्धन पाकातन हरापनको एउटा हिस्सा हो । सन् २०१८ मा अनवरसँगै महाथिर उक्त गठबन्धनमा आबद्ध भएका थिए । राजनीति छोडेर सामान्य जीवन बिताइरहेकै बेला महाथिर पुनः विपक्षीसँग गठबन्धन बनाएर सन् २०१८ को निर्वाचनमा होमिएका थिए । आफैंले उत्तराधिकारीका रूपमा अघि सारेका तत्कालीन प्रधानमन्त्री नाजिब रजाकले अर्बौं डलर सरकारी कोष दुरुपयोग गरेको स्क्यान्डलकैबीच निर्वाचनमा प्रतिस्पर्धा गरेर उनी विजयी भएपछि प्रधानमन्त्रीका रूपमा दोस्रो इनिङ सम्हालेका महाथिर विश्वमै सबैभन्दा बढी उमेरका प्रधानमन्त्री थिए ।


उनले सन् १९८१ देखि २००३ सम्म पनि मलेसियाली सरकार प्रमुखको जिम्मेवारी सम्हालेका थिए । महाथिरसँग निकट सम्बन्ध भएका व्यक्तिका अनुसार दुई वर्षअघि आफैंले पराजित गरेका विपक्षीसँग मिलेर सरकार बनाउन लागेको आरोपपछि उनले राजीनामा दिएका हुन् । यद्यपि यसबारे स्वतन्त्र भनाइ वा पुष्टि भने भइसकेको छैन ।


दशकौंदेखि मलेसियाको राजनीति महाथिर र अनवरबीचको सौहार्दता र दुश्मनीमै रुमल्लिरहेको छ । प्रधानमन्त्रीका रूपमा महाथिरको पहिलो इनिङमा अनवर उनका ‘सेकेन्ड म्यान’ थिए । नेतृत्व विवादकै बीच सन् १९९८ मा महाथिरले अनवरलाई पार्टीबाट निष्काशन गरेपछि भने दुई जनाको सम्बन्धमा दरार उत्पन्न भएको थियो । तर सन् २०१८ मा महाथिरले पाकतान हरापनमा आबद्ध हुँदै अनवरसँग मिलेर चुनाव लड्ने घोषणा गरेपछि मलेसियाको राजनीतिले ‘यु–टर्न’ लिएको थियो । वानएमडीबी भ्रष्टाचार स्क्यान्डलमा मुछिएका नाजिबको सरकालाई बर्खास्त गर्न आफूले अनवरसँगै विपक्षी गठबन्धनमा सहभागिता जनाएको उनले बताएका थिए । मलेसियाको विकासमा महत्त्वपूर्ण भूमिका खेलका महाथिरलाई जनताले विश्वास गरे गठबन्धनले चुनाव जित्यो । आफूपछि अनवरलाई सत्ता हस्तान्तरण गर्ने सर्तमा महाथिर प्रधानमन्त्री बने ।

प्रकाशित : फाल्गुन १२, २०७६ १३:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?