१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

नेभदा ककसमा स्यान्डर्सको जित

एजेन्सी

लस भेगास — अमेरिकाको प्रमुख विपक्षी दल डेमोक्र्याटिकको नेभादा राष्ट्रपतीय ककसमा बर्नी स्यान्डर्सले जित हासिल गरेका छन् । पार्टी सदस्यले गरेको मतदानपछि उनी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक दलका सम्भावित उम्मेदवारको अग्रपंक्तिमा आएका छन् ।

नेभदा ककसमा स्यान्डर्सको जित

उनलाई पूर्वराष्ट्रपतिसमेत भइसकेका जो बाइडनले पछ्याउँदा पिट बुट्टिजज र एलिजाबेथ वारेन निकै पछाडि रहे । नेभादा नतिजापछि चारैजना डेमोक्र्याट प्रत्याशीको ध्यान दक्षिण क्यारोलिना हुँदै मार्च ३ मा हुने ‘सुपर ट्युजडे’ तर्फ केन्द्रित भएको छ । आयोवा र न्यु ह्याम्पसायरमा यसअघि सम्पन्न ककस र प्राइमरीपछि ह्वाइट हाउस यात्राका लागि नेभादा ककसको जित महत्त्वपूर्ण थियो, जसमा ७८ वर्षीय भर्मन्ट सिनेटर स्यान्डर्सले बाजी मारेका हुन् ।


नेभादा निर्वाचनलगत्तै टेक्सास पुगेका स्यान्डर्सले मतदातालाई एक ठाउँमा ल्याएको दाबी गरेका छन् । ‘हामी जनतालाई एकै ठाउँमा ल्याइरहेका छौं,’ उनले घोषणा गरे । नेभादामा शनिबार जित हासिल गरेपछि आयोवामा यसै महिनाको सुरुआतमा भएको निर्वाचनमा पछि परेका स्यान्डर्सलाई ठूलो राहत मिलेको छ । आयोवामा उनी इन्डियानास्थित साउथ बेन्डका पूर्वमेयर एवं डेमोक्र्याटिक दलका अर्का प्रत्याशी पिट बुट्टिजजभन्दा केही झिनो मतले पछि परेका थिए ।


आयोवा ककस र न्यु ह्याम्पसायरमा लोकप्रिय मतका आधारमा स्यान्डर्स अगाडि रहे पनि राष्ट्रपतिको टिकट प्राप्त गर्न आवश्यक गुणात्मक डेलिगेट्समा भने पिटले उनलाई उछिनेका थिए । अन्तिम नतिजाअनुसार पिटले ४१ मध्ये १४ डेलिगेट्स हात पारेका थिए । स्यान्डर्सले १२, एलिजाबेथ वारेनले आठ, बाइडेनले ६ र एमीक्लोबुचारले एक डेलिगेट्स हात पारेका थिए । मंगलबारको न्यु ह्याम्पसायर प्राइमरीले २४ डेलिगेट्सको छिनोफानो गरिसकेको छ भने नेभादामा कुल डेलिगेट्सको संख्या ४८ छ, जसमध्ये ३६ डेलिगेट्स ककसबाट छिनोफानो हुन्छन् ।


डेलिगेट्सले आउँदो जुलाईमा विस्कनसनमा हुने डेमोक्र्याटिक पार्टीको राष्ट्रिय सम्मेलनमा सहभागी भएर आफ्ना उम्मेदवारका पक्षमा मतदान गर्नेछन् । डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपतिको टिकट प्राप्त गर्न कुनै पनि उम्मेदवारले १९९० डेलिगेट्स पुर्‍याउनुपर्ने हुन्छ । सुरुवातमा ककस एवं प्राइमरी निर्वाचन हुने राज्यबाट माहोल बनाउँदै डेलिगेट्सको संख्या बढाउने अभियानमा उम्मेदवार हुन्छन् । ककसमा पार्टी सदस्यले मात्र मतदानको अधिकार पाउँछन् भने प्राइमरीमा स्वतन्त्र नागरिकले पनि चाहेको पार्टीको ब्यालेटमा भोट खसाल्न सक्छन् ।


फेब्रुअरीमा आयोवा, न्यु ह्याम्पसायर, नेभादा र साउथ क्यारोलिन राज्यको ककस या प्राइमरीबाट धेरै डेलिगेट्स हत्याउँदै सुपर ट्युजडेमा भिडन्तमा पुग्ने उम्मेदवारको दाउ छ । विदेशमा बस्ने डेमोक्र्याटिक पार्टीको सदस्य (डेमोक्र्याट एब्रोड्स) सहित १६ राज्यमा एकै पटक ककस एवं प्राइमरी निवार्चन हुने ‘सुपर ट्युजडे’ यसपटक मार्च ३ मा हुँदै छ । त्यो दिन कुल १३५७ डेलिगेट्सको छिनोफानो हुनेछ भने उक्त दिनलाई उम्मेदवारले आफ्नो अन्तिम अवसरका रूपमा उपयोग गर्नेछन् ।

प्रकाशित : फाल्गुन १२, २०७६ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?