कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

अमेरिकी चुनावमा हस्तक्षेप नगर्न रूसलाई चेतावनी

(एजेन्सी)

वासिङ्टन — अमेरिकी राष्ट्रपतीय निर्वाचनका सम्भावित डेमोक्र्याटिक उम्मेदवार बर्नी स्यान्डर्सले रुसलाई अमेरिकी चुनावबाहिरै बस्न चेतावनी दिएका छन् । रुसले आफ्नो निर्वाचन अभियानलाई सहयोग गर्न प्रयास गरेको भन्ने विवरण प्रकाशित भएपछि राष्ट्रपतिका प्रत्याशी स्यान्डर्सले रुसलाई अमेरिकी चुनावभन्दा बाहिरै बस्न भनेका हुन् ।

अमेरिकी चुनावमा हस्तक्षेप नगर्न रूसलाई चेतावनी

आफ्नो निर्वाचन अभियानलाई रुसले सहयोग गर्ने प्रयास गरेको बारे आफूलाई अमेरिकी अधिकारीले गत महिना नै जानकारी गराएको स्यान्डर्सले खुलासा पनि गरेका छन् । क्यालिफोर्नियाको बेकर्सफिल्डमा बोल्दै स्यान्डर्सले रुसले कसरी निर्वाचन अभियानमा हस्तक्षेप गर्न लागेको थियो भन्नेबारे भने प्रस्ट नभएको बताएका छन् ।


७८ वर्षीय स्यान्डर्सले यो वा त्यो बहानमा रुसी हस्तक्षेप स्वीकार्य नहुने भन्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति पनि आक्रोश पोखे । पुटिनलाई उनले ‘निरकुंश ठग’ को संज्ञासमेत दिएका छन् । पुटिन सरकारले अमेरिकामा फाटो ल्याउन उद्देश्यले इन्टरनेट प्रोपोगान्डाको प्रयोग गरिरहेको आरोप पनि उनको छ । ‘हामीलाई विभाजित गरेर रुस अमेरिकी लोकतन्त्रलाई कमजोर बनाउने खेलमा छ भनेर स्पष्ट हुन जरुरी छ । म वर्तमान राष्ट्रपतिभन्दा फरक छु र उनीहरूले गर्ने यस्ता खालका सबै कामको विरोध गर्छु । त्यति मात्रै नभई हाम्रा चुनावमा हस्तक्षेप गर्न चाहने अन्य सबै विदेशी शक्तिको विरोधमा पनि म उभिन्छु,’ स्यान्डर्सले बताए ।


स्यान्डर्सलाई डेमोक्र्याटिक दलको राष्ट्रपतीय उम्मेदवारको दौडमा अग्रपंक्ति प्रतिस्पर्धीका रूपमा हेरिएको छ । स्यान्डर्सको चुनावी अभियानलाई रुसले सहयोग गर्ने प्रयास गरेकोबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अन्य सांसदलाई जानकारी गराइएको भन्दै वासिङ्टन पोस्टले शुक्रबार समाचार प्रकाशन गरेको थियो ।


फेसबुकले भने स्यान्डर्सको चुनावी अभियानलाई रुसी समर्थन भएको भन्ने विषयमा कुनै प्रमाण नदेखिएको जनाएको छ । अमेरिकाका वरिष्ठ गुप्तचर अधिकारीले पनि नोभेम्बरको निर्वाचनमा वर्तमान राष्ट्रपति ट्रम्पलाई जिताउने उद्देश्यले रुसले हस्तक्षेप गर्ने प्रयास गरिरहेको अनुमान गर्दै आएका छन् । रुसले ट्रम्पलाई सहयोग गर्न चाहिरहेको फेब्रुअरी १३ मा अति गोप्य रूपमा भएको संक्षिप्त बिफ्रिङमा अमेरिकी संसद्को हाउस इन्टेलिजेन्स कमिटीका सदस्यले जानकारी गराएका थिए ।


राष्ट्रपति ट्रम्पले भने चुनावमा रुसी हस्तक्षेप डेमोक्र्याटले सुरु गरेको ‘हल्ला’ मात्रै भएको बताएका छन् । नेभादामा शुक्रबार आयोजित चुनावी र्‍यालीलाई सम्बोधन गर्दै ट्रम्पले भने, ‘ट्रम्पले जितोस् भनेर पुटिनले चाहेको भन्दै काम नलाग्ने डेमोक्र्याट्सले हल्ला गरेछन् ।’


सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसले डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनविरुद्ध साइबर हमला र झूटो समाचारको रणनीति प्रयोग गरेको अमेरिकी गुप्तचर निकायको निष्कर्ष छ । त्यसबेला ट्रम्पका सहयोगीले क्रेमलिनका एजेन्टसँग सहकार्य गरेका थिए वा थिएनन् भन्नेबारे अनुसन्धान गर्न सन् २०१७ मा अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) का पूर्वप्रमुख रोबर्ट मुलरलाई अमेरिकी न्याय विभागमा विशेष काउन्सलका रूपमा नियुक्त गरिएको थियो । मुलर नेतृत्वको अनुसन्धानले सन् २०१९ मा ४ सय ४८ पृष्ठ लामो रिपोर्ट सार्वजनिक गर्दै निर्वाचनका बेला राष्ट्रपतीय अभियान र रुसी एजेन्टबीच सम्बन्ध रहेको भन्ने विषय पुष्टि नभए पनि अनुसन्धानलाई राष्ट्रपति ट्रम्पले प्रभावित बनाएको आरोप भने रहेको बताएको थियो ।


ट्रम्पले अनुसन्धानलाई राजनीतिक प्रचारबाजीको संज्ञा दिएका थिए भने रुसी राष्ट्रपति पुटिनले रिपब्लिकन दलको चुनावी अभियानसँग कुनै पनि प्रकारको सम्बन्ध नरहेको बताएका थिए । शुक्रबार पनि रुसी राष्ट्रपतीय कार्यालय क्रेमलिनले स्यान्डर्सले भनेजस्तो कुनै पनि प्रकारको हस्तक्षेप नभएको बताएको छ । प्रवक्ता दिमत्री पेस्कोभले सञ्चारकर्मीसँग आसन्न अमेरिकी निर्वाचनमा रुसले हस्तक्षेप गर्न प्रयास गरेको भन्ने विवरण नै झूटो भएको बताएका छन् । राष्ट्रिय गुप्तचरका कार्यवहाक निर्देशक जोसेफ मेग्वरले संसदका सदस्यलाई गत साता दिएको संक्षिप्त बयानसँग रुसी अस्वीकारोक्ति बाझिएको छ ।


बयानको एक सातापछि गत बिहीबार डेमोक्र्याटिक सांसदलाई गुप्तचरसम्बन्धी जानकारी दिएको भन्दै ट्रम्पले मेग्वरलाई पदमुक्त गर्दै जर्मनीका लागि पूर्वअमेरिकी राजदूत रिचार्ड ग्रेनेललाई नियुक्त गरेका थिए । आफ्ना कर्मचारी वफादार नभएको आरोप लगाउँदै ट्रम्पले मेग्वरलाई बर्खास्त गरेका हुन् ।

प्रकाशित : फाल्गुन ११, २०७६ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?