२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

निको भएपनि थप दुई साता क्‍वारेन्टाइनमा

एजेन्सी

बेइजिङ — कोरोना भाइरस फैलिएको चीनको हुबेई प्रान्तको वुहानले अस्पतालबाट डिस्चार्ज भएका सबै संक्रमितलाई 
थप १४ दिन क्वारेन्टाइन बस्न भनेको छ । कोरोना भाइरस थप ‘सक्रिय हुने’ र पूर्वानुमानविपरीत पत्ता लगाउन अप्ठेरो हुन सक्ने भन्दै वैज्ञानिकले चेतावनी जारी गरेपछि अस्पतालबाट निको भए पनि तोकेका ठाउँमा क्वारेन्टाइनमा बस्न भनिएको हो ।

निको भएपनि थप दुई साता क्‍वारेन्टाइनमा

वुहानको प्रकोप रोकथाम र नियन्त्रण केन्द्रले शनिबार भाइरस निको भएका सबैलाई निःशुल्क मेडिकल

अब्जरभेसनमा थप १४ दिन सरकारले तोकेका निश्चित ठाउँमा क्वारेन्टाइनमा बस्न आग्रह गरेको हो । ‘निको भएका बिरामी र उनीहरूका परिवारका सदस्यका स्वास्थ्य सुनिश्चित गर्न पछिल्लो कदम चालिएको हो,’ वुहान विश्वविद्यालयअन्तर्गत प्याथोजिन बाइलोजी विभागका उपनिर्देशक याङ झाङक्युले बताएका छन् ।

संक्रमण निको भएर घर गएका केही बिरामीमा पुनः न्युक्लिक एसिड परीक्षण गर्दा भाइरस पाइएपछि यस्तो कदम चालिएको उनले बताए । ‘दक्षिण–पश्चिमी सिचुवान प्रान्तस्थित छेन्दुका एक बिरामी फेब्रुअरी १० मा निको भएर घर पुगेका थिए । उनी घरभित्रै थप १४ दिन क्वारेन्टाइनमा बसे । तर १९ फेब्रुअरीमा उनीमा पुनः कोरोना भाइरसको संक्रमण देखियो र अस्पताल भर्ना गरियो,’ स्वास्थ्यकर्मीलाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यमले उल्लेख

गरेका छन् ।


पछिल्ला केही दिन चीनमा कोरोना भाइरसको थप संक्रमितको संख्यामा कमी आइरहेको छ । चिनियाँ स्वास्थ्य कार्यालयले शनिबार जारी गरेको प्रतिवेदनअनुसार शुक्रबार थप ३ सय ९७ जनामा कोरोना संक्रमण पाइएको छ भने १ सय ९ जनाको मत्यु भएको छ । अधिकांश संक्रमित र मृतक कोरोना भाइरसको उद्गमस्थल हुबेईकै छन् ।


योसहित चीनमा हालसम्म ७६ हजार २ सय ८८ मा भाइरस पाइएको छ र २ हजार ३ ४५ जनाको मृत्यु भएको सरकारी तथ्यांकले देखाएको विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको छ । उसका अनुसार चीनबाहिर २६ देशमा १ हजार २ सय जना कोरोना संक्रमित छन् भने ८ जनाको मृत्यु भएको छ । भाइरस संक्रमण फैलन नदिन चीनले कडाइपूर्वक यात्रा–प्रतिबन्ध र क्वारेन्टाइन उपाय अपनाइरहेको छ । २० हजार ६ सय ४९ जना बिरामी उपचारपछि घर फर्किएका छन् ।


यसैबीच, चीनका केही प्रान्तले कोरोना भाइरस प्रकोपका कारण बन्द उद्योग र कलकारखाना सञ्चालनको तयारी गरिरहेको छ । पछिल्ला दिनमा भाइरस संक्रमितका नयाँ विरामी नभेटिएपछि सहरलाई सामान्य बनाउने प्रयासको थालनी हुन लागेको चिनियाँ अधिकारीले बताएका छन् । लियाओनिङ र गान्सु प्रान्तले आपतकालीन प्रतिक्रिया तहलाई घटाउँदै लगेका छन् भने सान्सी प्रान्तका दुई सहरमा सार्वजनिक बस सेवा सुरु गरिएका छन् । रेलवे, बस स्टेसन र केही राजमार्गस्थित चेकप्वाइन्ट पनि हटाइएका छन् । चीनबाहिर कोरोना संक्रमितको ठूलो संख्या जापानको योकोहामास्थित समुद्री तटमा क्वारेन्टाइनमा राखिएको डाइमन्ड प्रिन्सेस क्रु पानीजहाजमा छन् । उक्त जहाजमा ६ सय जनाभन्दा धेरैमा भाइरस पुष्टि भएको विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको छ ।


इरानमा ५ जनाको मृत्यु


कोरोना भाइरसका कारण इरानमा शनिबार पाँचौं व्यक्तिको मृत्यु भएको स्वास्थ्य अधिकारीले बताएका छन् । दुई व्यक्तिको शुक्रबार र अन्य दुईको गत साता नै मृत्यु भएको बताइए पनि पाँचौं व्यक्तिको कहिले मृत्यु भयो भन्नेबारे भने इरानी स्वास्थ्य अधिकारीले बताएका छैनन् ।


हालसम्म कोरोनाका २८ संक्रमित पुष्टि भएको र उनीहरूलाई कम्तीमा चार फरक–फरक सहरमा उपचार भइरहेको इरानी अधिकारीले जनाएका छन् । यसैबीच, इटालीले पनि कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको र ४० भन्दा बढीमा संक्रमण पाइएको बताएको छ । दक्षिण कोरियामा संक्रमितको संख्या ४ सय ३३ पुगेको हो ।


दक्षिण कोरियामा हालसम्म कोरोना भाइरस संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ । पहिलो मृत्यु बुधबार एक ६३ वर्षीय वृद्धको भएको थियो । शुक्रबार थेगु अस्पतालबाट बुसान स्थानान्तरण गरिएका अर्का संक्रमितको पनि मृत्यु भएको हो । तेस्रो व्यक्ति घरमै मृत अवस्थामा भेटिएको कोरियाली स्वास्थ्य अधिकारीले उल्लेख गरेका छन् । संक्रमितको संख्यामा वृद्धि भइरहेका कारण थप बिरामीको मृत्यु हुन सक्ने अधिकारीले बताएका छन् ।


कोरोना भाइरसको फैलिएको चीनले नयाँ संक्रमित र मृत्यु हुनेको संख्या घटेको बताइरहँदा छिमेकी दक्षिण कोरिया भने संक्रमण फैलिएको छ । चीनसँग सम्बन्ध नै नरहेका व्यक्तिमा भाइरस संक्रमण देखिन थालेको भन्दै विश्व स्वास्थ्य संगठनले चिन्ता व्यक्त गरेको छ । संगठनका प्रमुख ट्रेडोस अधानम गेहब्रेयससले कोरोना भाइरस नियन्त्रण गर्ने अवसर ‘साँघुरिँदै गएको’ भन्दै चेतावनी पनि दिएका छन् ।

प्रकाशित : फाल्गुन ११, २०७६ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?