कोरियामा कोरोना त्रास

थेगु सहरमा मात्रै २ सय २९ संक्रमित, जहाँ करिब ७ हजार नेपाली छन्
गोकुल थोकर

सोल — दक्षिण कोरियाको राजधानी सोलदेखि ३ सय किलोमिटर दक्षिणको ख्याङसान क्षेत्रमा पर्छ थेगु सहर । यही सहरमा काम गर्ने आङपासाङ शेर्पा केही दिनयता निकै बेचैन छन्, कारण सहरमा फैलिइरहेको कोरोना भाइरसको संक्रमण ।कोरियाको चौथो ठूलो सहर थेगुमा विभिन्न कम्पनीहरू छन् ।

कोरियामा कोरोना त्रास

कामका लागि कोरिया पुगेका विभिन्न देशका कामदारको यहाँ उल्लेख्य उपस्थिति छ । तर थेगुमा केही दिनयता ह्वात्तै फैलिएको कोरोना संक्रमणका कारण ती कामदार त्रासमा बसिरहेका छन् ।

थेगुमा शनिबार मात्रै २ सय २९ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरियामा कोरोना संक्रमितको संख्या ४ सय ३३ पुगेको छ । थेगु नजिकैको छाङदोको छाङदो थेनाम अस्पतालमा दुई जनाको मृत्यु भएको छ भने ९ जना अस्पतालका कर्मचारी र १ सय २ जना भाइरसबाट संक्रमित भएका छन् । थेगु र छाङदोमा मात्रै ३ सय ५३ संक्रमित छन् ।

भाइरसको संक्रमण फैलिएपछि थेगु आसपासका कम्पनीले कामदारलाई बाहिर निस्कन प्रतिबन्ध लगाएका छन् । थेगुमा झन्डै २५ लाख मानिस बसोबास गर्छन् । थेगु र आसपासका क्षेत्रमा ७ हजार नेपाली ईपीएसमार्फत काम गरिरहेका छन् । भाइरसको संक्रमण बढ्दै जाँदा सहरमा दैनिक उपभोग्य सामानको अभाव हुन थालेको थेगुमै काम गरिरहेकी पार्वती वाइबाले बताइन् । ‘हामी आज धेरै दिनपछि तरकारी किन्न निस्किएका थियौं । भनेजस्तो सामान नै नपाउने । पाउरोटीहरू पनि छैनन् । जे भेट्टायो त्यही लिएर आयौं । पहिलाजस्तो बजारमा सामान नै छैन,’ उनले गुनासो गरिन् ।


वेल्डिङको काम गर्ने शेर्पा दुई सातादेखि कम्पनीभित्रैको कोठामा सीमित छन् । ‘केही समयअघिसम्म फुर्सदका बेला घुम्न निस्किन्थें । साथीभाइसँग रमाइलो हुन्थ्यो,’ उनले भने, ‘नेपालीहरूसँग मनका कुरा गर्दा कम्पनीको कामको दुःख बिर्सन्थें ।’ तर उनको फुर्सदको समय हाल केही फेरिएको छ । उनले केही खान मन लाग्यो भने कम्पनीमै भन्छन् । ‘यसो सोच्छु सुरक्षा अपनाउने आफ्नै लागि हो । केही समयपछि ठीक होला नि ?’ उनले आशा मारेका छैनन् ।

थेगु मात्रै होइन कोरोनाको त्रास भने कोरियाभरि नै उस्तै छ । छुङछन नाम्दोमा काम गर्ने रामजी श्रेष्ठलाई पनि कम्पनीले बाहिर निस्कन बर्जित गरेको छ । ‘जताको समाचार सुन्दा पनि डर लाग्दो छ । हाम्रोतिर संक्रमित त भेटिएको छैन । तर नजिकैका फेन्थेक, सुवनतिरका मानिसमा संक्रमण भेटिएकाले अलि संवेदनशील बनेका होलान् ।’ केही कम्पनीले बिहान र बेलुकी ज्वरो नाप्ने नियम बनाएका छन् । मास्क प्रयोगमा पनि कम्पनीले कडाइ गरेका छन् । कम्पनीमा बाहिरी मानिसको आवतजावत भने बन्दजस्तै छ ।


सार्वजनिक स्थान शान्त

हरेक शनिबार बिहान निकै व्यस्त रहने इन्छन अन्तर्राष्ट्रिय एयरपोर्टमा मानिसहरू नगन्य मात्रामा देखिन्थे । कोरिया आउने र अन्य स्थानमा जाने यात्रुहरू खासै देखिएनन् । यात्रुहरूभन्दा बढी विभिन्न एयरलाइन्सका कर्मचारीको संख्या बढी देखिन्थ्यो । अति आवश्यक पर्दा मात्रै घर बाहिर निस्कन, अनिवार्य मास्क लगाउन तथा ३० सेकेन्डभन्दा बढी समय मिचेर हात धुन अनुरोध गरिएका सूचना रेल, गाडी र सार्वजनिक स्थल तथा सञ्चारमाध्यममा पनि छ्यापछ्याप्ती छन् ।


रेल स्टेसन, सार्वजनिक शौचालयमा हात धुनका लागि विशेष खालका साबुन राखिएका छन् । नेपाली जम्मा हुने सोलस्थित दोङदेमुनका नेपाली रेस्टुरेन्ट शून्य छन् । निक सेकुवा कर्नरका ध्यान राईले कतिपय कम्पनीका नेपालीलाई मागअनुसार कम्पनीमै खानेकुरा पठाउने गरेको बताए ।


ईपीएसबाट आएकाको भिसा ५० दिन थपिने

कोरोना भाइरसको संक्रमण बढेसँगै ईपीएसमार्फत कोरिया आउनुपर्ने धेरै विदेशी कामदार आएका छैनन् । यहाँ भएका कामदारको भिसा अवधि सकिएर देश फर्कनुपर्ने भएपछि सरकारले नयाँ नियम ल्याएको छ । न्याय मन्त्रालयको शुक्रबार बसेको संयुक्त बैठकले अदक्ष कामदारका रूपमा आएका विदेशीको भिसा ५० दिन थप गर्ने निर्णय गरेको छ ।


मन्त्रालयको निर्णयअनुसार विदेशी कामदार अब ४ वर्ष १० महिनापछि पनि थप ५० दिन बस्न पाउने भएका छन् । मन्त्रालयका अनुसार कामदारले नजिकैको अध्यगमन कार्यालयमा वा अनलाइनमार्फत फारम भरेर भिसा अवधि थप गर्न सक्नेछन् ।

प्रकाशित : फाल्गुन ११, २०७६ ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?