कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१४% अस्ट्रेलियाली गरिबीको रेखामुनि

कान्तिपुर संवाददाता

सिड्‍नी — अस्ट्रेलियाका करिब १४ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको तथ्यांक सार्वजनिक भएको छ । अस्ट्रेलियन काउन्सिल अफ सोसल सर्भिस र युनिभर्सिटी अफ न्यु साउथ वेल्सले संयुक्त रूपमा गरेको अध्ययनअनुसार अस्ट्रेलियाको कुल जनसंख्यामध्ये ३२ लाखभन्दा बढी जनता गरिबीमा जीवन बिताइरहेका छन् । 

प्रत्येक आठ वयस्कमा एक जना र ६ मध्ये एक बालबालिका गरिबीको रेखामुनि रहेको अध्ययनमा देखिएको छ । अध्ययनको नेतृत्वकर्ता प्राध्यापक ब्रुस ब्राडबरीले गरिबीको मापनमा न्युजिल्यान्ड, जर्मनी र आयरल्यान्डभन्दा अस्ट्रेलिया पछाडि रहेको बताए । ‘अस्ट्रेलियाले आर्थिक रूपमा प्रगति गरिरहेको भए पनि १३.६ प्रतिशत जनता गरिबीमा जीवन बिताइरहेका छन्,’ उनले भने, ‘करिब १७.७ प्रतिशत बालबालिका गरिबीको रेखामुनि छन् र यो तुलनात्मक रूपमा उच्च हो ।’


अनुसन्धान संस्थाकी प्रमुख कार्यकारी अधिकृत कासान्द्रा गोल्डीले कल्याणकारी कोषमा सरकारको कम योगदान, रोजगारीको अभाव र महँगो आवासका कारण १४ प्रतिशत अस्ट्रेलियाली गरिबीको रेखामुनि परेको बताएकी छन् । करिब ३५ हजार रुपैयाँलाई गरिबीको बिन्दु तोकेर अध्ययन गरिएकामा गरिबीको रेखामुनि रहेका व्यक्तिमा औसत करिब २२ हजार रुपैयाँको अन्तर देखिएको हो । अध्ययनले सरकारद्वारा प्रदान गरिने युवा सहयोग लिनेमध्ये ९० प्रतिशतले लिन छोडेको र ३३ प्रतिशतले आर्थिक समस्याका कारण अध्ययन त्यागेको समेत उल्लेख गरेको छ ।


विज्ञले अस्ट्रेलियामा महँगिँदै गएको आवास गरिबीको मुख्य कारक मानेका छन् । अस्ट्रेलियामा हरेक वर्ष औसतमा ५ प्रतिशतले आवासमा मूल्य वृद्धि हुने गरेको छ । गार्हस्थ उत्पादनका आधारमा अस्ट्रेलिया विश्वको १४औं धनी राष्ट्रको रूपमा चिनिन्छ । हरेक वर्ष अस्ट्रेलियाको आर्थिक अवस्था सुधि्रँदै गएको विभिन्न तथ्यांकले देखाए पनि २ करोड ५० लाख जनसंख्यामध्ये ३० लाखबढी जनता गरिबीको रेखामुनि बाँच्नुपर्ने बाध्यताले अत्यन्तै असहज भएको विज्ञ बताउँछन् । अस्ट्रेलियाको कुल गार्हस्थ उत्पादन सन् २०१८ मा १.४२ ट्रिलियन रहेकोमा सन् २०१९ मा १.८९ ट्रिलियन डलर पुगेको छ । अस्ट्रेलियाली नागरिकका प्रतिव्यक्ति आय वार्षिक ४५ हजार ७ सय ८० करिब ३५ लाख रुपैयाँ छ ।

प्रकाशित : फाल्गुन १०, २०७६ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्

फेरिन खोजेको जनकपुर

नेपालको जस्तोसुकै ठाउँमा पनि रामाशिष जस्ता मानिस हुनसक्छन्, जो आफ्नो समाज र देशलाई निस्वार्थ भावले सेवा गरेर अगाडि बढाउने मनसाय राख्छन् ।
प्रमोद मिश्र

रामायणको जनकपुरबारे सानैदेखि सुनेपढे पनि म एकपटक मात्र गएको थिएँ, छत्तिस साले विद्यार्थी नेता तथा मेरा मित्र एवं सहकर्मी कैलाश कार्कीको विवाहमा । जनकपुरबारे मैले रिचर्ड बर्गहार्डको धर्मनिरपेक्ष भएर लेखेको प्राज्ञिक लेख पढेको थिएँ । र, दुर्गानन्द झाले राजा महेन्द्रमाथि बम प्रहार गरेको बदला पञ्चायती व्यवस्थाले जनकपुरलाई पिछडा बनाएको भन्ने आशयका लेखहरू पनि नपढेको होइन । 

पछिल्लो समय मैले जनकपुरबारे सकारात्मकभन्दा नकारात्मक कुरा नै पढेको र सुनेको थिएँ । बम बिस्फोटमा मैथिली नाट्यकर्मीको मृत्यु, रेडियोमा काम गर्ने एउटी होनहार महिलाको हत्या, सञ्चार व्यवसायीको हत्या आदि । जनकपुरमा कस्ता मानिस बस्दा हुन्, जो आफ्ना मतभेद छलफलद्वारा समाधान गर्न सक्दैनन् भन्ने लागेको थियो । राजधानी बनिसकेपछि पनि मैले जनकपुरवासीबारे नकारात्मक कुरा नै सुनेको थिएँ । जनकपुर फोहोर छ, त्यहाँ सुन्न सक्ने संस्कार छैन । जनकपुरवासी नकारात्मक कुरामात्र गर्छन् । अरूको कुरा काट्न र खुटटा तान्नमात्र आफ्नो समय खर्चिन्छन् आदि–इत्यादि ।

त्यसैले जब गत दिसम्बरमा झापादेखि कैलालीको मधेस यात्राको एघारौं दिन मधेस फाउन्डेसनका तुलानारायण साह र म ठाडी झिझा अनि सहिदहरूको गाउँ यदुकहा हुँदै जनकपुरतर्फ लाग्यौँ, मेरा मनमा अनेकौं कुरा खेल्न थाले । जनकपुरको वातावरणीय र मानसिक फोहोर हेर्न किन जाऊँ भन्ने पनि लाग्यो । तर जनकपुर प्रदेश नम्बर २ को राजधानी भएकोले त्यहाँ महिला, दलित र युवा रोजगारका लागि अनेकौँ राम्रा काम गरिरहेका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतलाई भेटने इच्छा थियो । फेरि इतिहासमा कहिल्यै आफ्नो राज्य कस्तो हुन्छ भनेर आत्मबोध नगरेको समुदायले त्यो राज्य पाइसकेपछि कसरी चलाइराखेको छ भन्ने जान्ने उत्सुकता पनि थियो ।

सहरभित्रको एउटा होटलमा चेक–इन गर्ने बेलामा ‘प्रथमे ग्रासे मक्षिका पातः’ जस्तै भयो । खुइलिँदै गरेको तालुमा कपाल कालो पार्ने रसायन चुहिनेगरी लगाएका भद्र देखिने रिसेपस्निष्टले तुलाजीसित भने, ‘कसैले रिजर्भेसन गराएको छैन, तपाईहरूका नाममा ।’ हामी छक्क पर्‍यौं । प्रदेश २ का मुख्यमन्त्रीको आतिथि बन्न हिँडेका मान्छे, यहाँ त ‘रिजर्भेसन’ सुद्ध भएको रहेनछ । अनि तुलाजीले आफ्नै नाममा रिजर्भेसन गर्नुभयो । त्यसपछि मात्र ती भलादमीले नेपालीमा भने, ‘मुख्यमन्त्रीको अफिसबाट कसैले फोन गर्‍यो भने कोठा छैन भन्ने गरेका छौँ हामीले । छ महिनाको होटल बिल अहिलेसम्म बाँकी नै छ ।’

होटलमा नुहाइवरी सफा भएर हामी राजनीतिक जमघटमा रातिको खाना खान पुग्यौँ । मुख्यमन्त्रीजीले आफ्ना सिपाहीजस्ता देखिने पहाडी जनजाति मूलका सहायक र बाहुन भान्सेलाई यो ल्याउनुस्, त्यो ल्याउनुस् भनेर हाम्रो सत्कार गरे । आफ्ना सहायकहरूसँग गरेको नेपाली भाषाको शिष्ट प्रयोगले प्रदेश २ मा राज्यमात्रै छैन, भाषाको पनि अर्कै प्रयोग भैराखेको छ भन्ने सोचेर मन प्रसन्न भयो । तर त्यहाँ जम्मा भएका एक राजनीतिज्ञसँगको मेरो कुराकानी त्यति सन्तोषजनक रहेन । मुख्य न्यायधिवक्ता दीपेन्द्र झा, तुलाजी र म भएको ठाउँमा मेरो र ती नेताबीचमै धेरै संवाद भयो ।

राज्य सञ्चालनबारे मेरो मतभिन्नता रह्यो । म आदर्शवादी, ती उनीहरू व्यावहारिक । नेपालमा भ्रष्टाचार व्यापक छ र खर्चिलो चुनाव यसको मुख्य कारण हो भन्नेमा हामी सहमत थियौँ । तर चुनावमा लाग्ने पैसा कसरी आउन सक्छ भन्नेमा मेरो मतभिन्नता थियो । पैसा उठाउने मामिलामा सबै पार्टी भ्रष्ट छन् भन्ने उनको भनाइ । कांग्रेस र नेकपा त शिरदेखि पैतालासम्म चुनावी रकमका मामिलामा भ्रष्ट छन् भन्ने उनी । मेरो भनाइ नयाँ जन्मेका पार्टीहरू कांग्रेस र नेकपाजस्ता हुनुभएन भन्ने थियो । तर ती राजनीतिज्ञ यस कुरामा सहमत थिएनन् । उनी पैसा भएन भने गाउँ–गाउँमा मतदाताका ठेकेदारहरूले जोसँग पैसा बढी छ, उसैलाई भोट दिलाउँछन् भन्ने । मेरो मन खिन्न भयो, राजनीतिको यो घिनौना रूप चुनावी ढाँचाले जन्माएको देखेर । मनमा अनेक कुरा खेलिरहे । नेपाली राजनीतिमा चुनाव लड्न पैसाको जोहो कसरी हुँदोरहेछ भन्ने थाहा भयो । त्यस राति मलाई के थाहा भयो भने भ्रष्टाचार नगरी, कमिसन नखाई यी राजनीतिक पार्टीहरू चाहे जुनसुकै किन नहुन्, चुनाव लड्नै सक्दैनन् । उदेक लागेर आयो ।

होटलको कोठामा आएर पछारिएँ, निकै बेर निद्रा लागेन । भोलिपल्ट मुख्यमन्त्री सहितको सरकारका मन्त्री र सचिव आदिसँग जमघटमा मधेश यात्राबारे केही बोल्नु र अन्तरक्रिया गर्नु थियो । उकुस–मुकुस भइराख्यो । मनमा लागिरह्यो, जनकपुरमा नेपालको फोहोर दलीय राजनीति सफा हुँदैन लागिरह्यो । जहाँ आदर्श छैन, सिद्धान्त छैन, नयाँ गर्ने आँट छैन, त्यहाँ नयाँपनको ढोंग किन गरिरहनु भन्ने भयो मनमा । दलहरूको आय पारदर्शी भएन र त्यसको नियमन गरिएन भने यसले नेपालमा लोकतन्त्रलाई ढिलोछिटो धरापमा पार्छ भन्ने लाग्यो र यही सोच्दै निदाएँ । बिहान उठ्दा सधैंझैं तुलाजी मर्निङ वाकमा गैसकेका थिए । म नित्यकर्म सिध्याउँदै थिएँ । तुलाजीले फोन गर्नुभयो । ‘सर, म सहर घुम्न गएको थिएँ । फर्किंदैछु र साथमा एकजना मित्रलाई भेटाउन ल्याउँदैछु ।’ तुलाजीसित आउनुभएका ती सज्जन रामाशिष यादवका कुरा सुनेपछि भने मेरो मन अलि उज्यालो भयो ।

रामाशिषको कथा
रामाशिषलाई जानकी मन्दिर र त्यस अगाडिको गंगासागर नाम गरेको विशालकाय पोखरी कुँडाकर्कटले भरिएको देख्दा जहिले पनि दिक्क लाग्थ्यो । ‘ईश्वर त हाम्रो वशमा हुन सक्दैनन् तर हाम्रो प्रयत्न त हाम्रै हातमा छ’ भन्ने लागिरह्यो उनलाई । यही सोचेर एकदिन उनले दुईजना मित्रसँंग कुरा गरे । जानकी मन्दिरको सफाइमा लागौं भने त्यहाँका महन्थले मन नपराउन सक्छन् भनेर रामाशिष तीनजना साथी लिएर एकदिन मन्दिर पछाडिको पोखरीमा पसे र हातैले फोहोर सफा गर्न थाले ।

त्यस्तो पोखरीमा पत्रकारजस्तो पढेलेखेको मान्छे पसेको देख्दा वरपरका मानिस भेला भएछन् र हाँस्न थालेछन् । फोहोर–मैला सफा गर्ने काम त ‘तल्लो जात’का मानिसको हो भन्ने लागेछ, ती दर्शकलाई । यस्ता पढालिखा सम्मानित व्यक्तिले किन यस्तो कसिङगर उठाउने काम गरिराखेको होलान् भन्ने लागेछ, उनीहरूलाई । तर रामाशिष र उनका ती साथीहरूको अठोटमा कुनै परिवर्तन आएन । तर दुई–तीन जनाले त्यत्रो विशाल पोखरी सफा गर्नु असम्भव लाग्यो, रामाशिषलाई । यस्तो सोचेर जिल्ला प्रहरीका १ हजार २ सय जवान ब्यस्त रहे पनि एसएसपी कार्यालयका गोडा २ सय जवानको त्यति काम हुँदैन भन्ने लागेर एकपल्ट एएएसपीलाई भन्न गएछन् । ती वरिष्ठ उपरिक्षक औधि खुसी भएछन् । काम नभएर तिनका जवानहरूलाई पट्टाइ लागिराखेको थियो । प्रत्येक साता ती प्रहरी जवान भिडे गंगासागर सफा गर्न । त्यसरी नै रामाशिषले सशस्त्रको एसपी र सेनाका कर्णेललाई भनेपछि ती पनि सहयोग गर्न राजी भए । विद्यालय संगठन प्याबसनलाई सम्पर्क गरेर स्कुले बालबालिकलाई साताको दुई दिन सहभागी गराए । पोखरीका विभिन्न डिलहरू विभिन्न समूहलाई जिम्मा लगाए । एउटा डिल सशस्त्रलाई, अर्को सेनालाई, अर्को प्रहरीलाई ।

एकदिन एउटा विद्यालय, अर्को दिन अर्को विद्यालयलाई । यसैगरी दिन र स्थान विभाजन गरे रामाशिष र तिनका साथीहरूले । फेरि पोखरी सफा गर्न चुना, कोदालो–फरुवाजस्ता सरसामान पनि चाहिन्थ्यो । त्यसका लागि तिनले आफ्ना व्यापारी र उद्योगपति मित्रहरू गुहारे । सबैले सहयोग गरे । यति भइसकेपछि सहरवासीले रामाशिषले राम्रै काम गरेका रहेछन् भन्न थाले र ती पनि सघाउन आउन थाले । तर यी सबै सफाइ अभियानका दौरान रामाशिषले एकपैसा पनि कसैसंग लिएनन् । पैसा लिएपछि हात फोहोर हुन्छ र मानिसमा शंका–उपशंका जन्मिन थाल्छ भन्ने लाग्यो तिनलाई । त्यसैले उनी कसैले आफू आउनुको सट्टा पैसा दिन्छु भन्दा, रामाशिषले ‘या त आफै आएर श्रमदान गर्नुस् या चाहिएको सरसामान (कोदालोदेखि चुना) दिनुस्, पैसा लिंदैनौं’ भनेर फर्काइदिन्थे । यसले गर्दा आम मानिसमा विश्वास जाग्न थाल्यो । गर्दा हुने रहेछ भन्ने लाग्न थाल्यो । र पोखरी सफा भयो ।

यसरी गंगासागरलाई सहरका सरकारी र गैरसरकारी स्रोतको परिचालन गरेर सफा त गरे, तर त्यस सफा पोखरीको जगेर्ना कसरी गर्ने ? सहरमा फोहोर व्यवस्थापनको राम्रो प्रबन्ध नहुँदा आममानिस खोलानाला, पोखरीमै फोहोर फाल्छन् । त्यसैबीच तिनका सहयोगीहरूले चन्दा उठाउनुपर्छ भने मान्छे राख्नलाई । तर रामाशिषको मनमा अर्कै विचार आइसकेको थियो । तिनले चन्दा उठाउन मानेनन् । पैसाको खेल भएपछि गडबड हुने सम्भावना र सहरवासीमा पैसा खायो भन्ने मनमा पस्न सक्छ भयो उनको मनमा ।

तर चन्दा नउठाई गंगासागरको सरसफाइ कायम कसरी गर्ने ? तिनले जनकपुर वरपरका पण्डितहरूको भेला गर्न सोचे र निम्तो पठाए । पण्डितहरू सयौंको संख्यामा आए र तिनले बनारस र हरिद्वारजस्तै गंगा आरती गराउने सल्लाह दिए । तर नित्य प्रतिदिन आरती गर्ने पैसा कहाँबाट आउँछ ? रामाशिषको आफ्नो तलबको केही भाग र दुईजना साथीको पैसाले तीनजना पण्डित एक महिनाका लागि राख्ने विचार गरे । २०७० सालमा भएको उद्घाटनका दिन ६० हजारजति मानिस भेला भए । गंगा आरती सुरु भयो । भक्तजनले दानपेटिकामा पैसा खसाल्न थाले । रामाशिषले बैंकमा पोखरीका नाममा खाता खोले । यसरी सुरु भएको आरतीबाट हुने आम्दानीले पण्डितलाई तलब पनि दिनपुग्यो र पोखरी सरसफाइ पनि जारी रह्यो । आजपर्यन्त यो कार्यक्रम जारी छ र गंगासागर पोखरी सफा छ ।

रामाशिषजीको यो कथा सुनेपछि मलाई जनकपुर मात्रै होइन, नेपालको जस्तोसुकै ठाउँमा पनि रामाशिष जस्ता मानिस हुनसक्छन्, जो आफ्नो समाज र देशलाई निस्वार्थ भावले सेवा गरेर अगाडि बढाउने मनसाय राख्छन् भन्ने लाग्यो । र सानै प्रयास भए पनि आ–आफ्नो समाज, सहर, गाउँ राम्रो बनाउन लागेका होलान् । मानिसले अठोट गर्‍यो भने जे पनि सम्भव छ भन्ने मनमा आस पलायो ।

रामाशिष भने जनकपुरवासीको प्रबल आग्रहमा प्रादेशिक राजनीतिमा होमिएका छन् अहिले । अब आउने दिनमा तिनले राजनीतिको गंगासागरलाई कसरी सफा गर्छन्, यो हेर्न भने बाँकी छ । तर रामाशिष जस्ता मानिसले गर्दा गाउँ–सहर मात्रै नभई मुलुकको राजनीति पनि अवश्य सुध्रेला भन्ने आशा अझै छ, मरिसकको छैन ।

मिश्र अमेरिकास्थित लुइस विश्वविद्यालयमा अंग्रेजीका विभागाध्यक्ष हुन् ।

प्रकाशित : फाल्गुन १०, २०७६ ०८:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×