१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

ट्रम्पका पूर्वसल्लाहकारलाई ४० महिना जेल

एजेन्सी

वासिङ्टन — अमेरिकाको एउटा अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्वसल्लाहकार रोजर स्टोनलाई ३ वर्ष ४ महिनाको जेल सजाय तोकेको छ । लामो समयसम्म ट्रम्पका सल्लाहकार रहेका स्टोनलाई अमेरिकी सदनलाई सातपटक ढाँटेको, संसदीय कारबाहीमा व्यवधान खडा गरेको र साक्षीलाई प्रभावित तुल्याएको अभियोगमा सजाय सुनाइएको हो । उनलाई २० हजार डलर जरिवाना र २५० घण्टा सामुदायिक सेवा गर्नसमेत आदेशमा भनिएको छ ।

ट्रम्पका पूर्वसल्लाहकारलाई ४० महिना जेल

अमेरिकी राष्ट्रपतीय निर्वाचनका बेला भएको भनिएको रूसी हस्तक्षेपबारेको संसदीय अनुसन्धानमा उनले झूटो बोलेको र त्यसले अमेरिकी लोकतन्त्रलाई खतरामा पुर्‍याएको भन्दै संघीय अदालतका न्यायाधीश एमी बर्मन ज्याकसनले स्टोनलाई कैद सजाय सुनाएकी हुन् । स्टोनले आफूलाई धम्क्याएको समेत न्यायाधीश ज्याकसनले बताएकी छन् । ‘कोही कसैले भनेजस्तो स्टोनलाई राष्ट्रपतिको सल्लाहकार भएकाले मुद्दा चलाइएको हैन । उनलाई राष्ट्रपतिका गल्ती ढाकछोप गरेकाले मुद्दा चलाइएको हो,’ ज्याकसनले बताइन् । यही मुद्दामा राष्ट्रपति ट्रम्पलाई भने सफाइ दिनुपर्ने न्यायाधीश ज्याकसनले बताइन् ।


ट्रम्पका पुराना मित्र एवं सल्लाहकार ६७ वर्षीय स्टोनलाई नोभेम्बर १५ मा हिरासतमा लिइएको थियो । यी अभियोगमा सरकारी अभियोजनकर्ताले स्टोनलाई सातदेखि नौ वर्षसम्मको जेल सजाय माग गरेका थिए । विकिलिक्ससँग सम्पर्क स्थापना गर्न खोजेको प्रयासबारे हाउस अफ रिप्रिजेन्टेटिभ्सको गुप्तचर समितिमा झूटो बोलेको अभियोगमा उनलाई हिरासतमा लिइएको थियो । विकिलिक्सले सन् २०१६ को चुनावी अभियानका बेला डेमोक्र्याटिक दलबाट ट्रम्पकी प्रतिद्वन्द्वी हिलारी क्लिन्टनका व्यक्तिगत इमेल लिक गरिदिएको थियो । क्लिन्टनका ती इमेल रूसी ह्याकरले चोरी गरेको निष्कर्ष अमेरिकी गुप्तर अधिकारीले निकालेका थिए ।


लामो समयसम्म आफूलाई साथ दिएका पूर्वसल्लाहकारलाई जेल सजाय भएकोप्रति राष्ट्रपति ट्रम्पले आफूले हस्तक्षेप नगर्ने बताएका छन् । उनले तत्कालै स्टोनलाई माफी दिनेबारे आफूले योजना नबनाएको भन्दै कानुनी प्रक्रिया अघि बढोस् भन्ने चाहेका छन् । उनले ‘कुनै बिन्दुमा भने आफूले केही सोच्न सक्ने’ बताएका छन् । ‘मेरो व्यक्तिगत धारणा भन्ने हो भने, स्टोनलाई गैरनिष्पक्ष तरिकाले हेरिएको छ,’ लस भेगासमा ट्रम्पले बताए । लस भेगासमा पुनर्स्थापित बन्दीसँगको एउटा कार्यक्रममा बोल्दै ट्रमपले स्टोनलाई ‘धेरै राम्रो मान्छे’ भन्दै प्रशंसासमेत गरे । स्टोनले नयाँ सुनुवाइकै माग गरिरहेका बेला उनले आफूले संविधानप्रदत्त ‘राष्ट्रपतिको शक्ति’ प्रयोग नगर्ने बताएका छन् । ‘म सबै प्रक्रिया नजिकैबाट नियाल्न गइरहेको छु,’ उनले भने ।


आफ्ना पूर्वसल्लाहकार स्टोनलाई माफी दिन सक्ने ट्रम्पले संकेत गरेपछि डेमोक्र्याटले भने विरोध गरेका छन् । स्टोनलाई माफी दिनु भनेको ट्रम्पका स्वार्थ पूरा गर्न अन्य व्यक्तिलाई पनि कानुन तोड्न हौसला दिनु भएको उनीहरुको भनाइ छ । ‘स्टोनका अपराध ट्रम्पलाई जोगाउन प्रतिबद्ध छ भने माफी दिनु भनेको भ्रष्टाचारको चरम कार्य हो,’ ट्रम्पविरुद्धको महाअभियोगको नेतृत्व गरेका डेमोक्र्याटिक प्रतिनिधि एडम स्किफले ट्विटरमा लेखेका छन् ।


सुनुवाइका क्रममा स्टोनले भने केही बोल्न चाहेनन् । अदालतबाट बाहिरिँदै गर्दा भने सञ्चारकर्मीसँग आफूलाई केही भन्नु नरहेको बताए ।

प्रकाशित : फाल्गुन ९, २०७६ २१:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?