फ्रान्सेली मेयर नेपाल घुम्‍न आतुर- विश्व - कान्तिपुर समाचार

फ्रान्सेली मेयर नेपाल घुम्‍न आतुर

ददि सापकोटा

पेरिस — फ्रान्सको एसोन क्षेत्रको भिन्यु सुर सेनका मेयर थोमस साजेलले भ्रमण वर्ष २०२० का अवसरमा नेपाल घुम्न आतुर रहेको बताएका छन् । मंगलबार एसोनको द्राभाई सहरस्थित ‘ल मेजों द हिमालय’ रेस्टुँरामा नेपाली खाना चाख्न आएका बेला उनले यस्तो बताएका हुन् । 

साजेलले आफूलाई नेपाली पोसाक निकै मनपर्ने भन्दै शिरमा ढाकाटोपीसमेत लगाएर फोटो खिचाएका थिए । उनले नेपाली खाना चाख्न र नेपालबारे चासो राख्न आफ्नो नगरपालिकाको कार्यकारी टोलीलाई पनि सँगै ल्याएका थिए । नेपाली खानालाई स्वादिलो मान्दै उनले भने ‘ओहो नेपाली खाना यस्तो विशिष्ट स्वादको रहेछ । यसले मलाई लोभ्यायो ।’ नेपालबारे सुनेपनि नजिकबाट अहिलेसम्म नियाल्न नपाएको बताउँदै उनले भने ‘म मेरो टोलीसित नेपाल घुम्न चाहन्छु । त्यसका लागि नेपालीले सहयोग गर्नुपर्छ ।’


उनलाई द मेजों द हिमालय रेस्टुँरामा काम गर्ने नेपालीले भ्रमण वर्ष २०२० मा फ्रान्सबाट पर्यटक पठाउन सहयोग गर्न आग्रह गरेका थिए । त्यसको प्रतिक्रियामा मेयरले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रकाशित : फाल्गुन ९, २०७६ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्

कृषिमा महिला सशक्तीकरण 

कल्पना धिताल

देशको आधा हिस्सा ओगटेका महिलाहरूलाई कृषिमा सशक्तीकरण गर्न सकियो भने कृषि उत्पादन वृद्धि गर्न सहयोग पुग्छ । लैङ्गिक रूपमा सन्तुलित विकासका लागि उनीहरूलाई सशक्तीकरण गरिनुपर्छ  । सामाजिक न्यायबाट वञ्चित तथा पुरातन मान्यताले दबिएका उनीहरूलाई अधिकार तथा अवसर प्रयोग गर्नसक्ने बनाउने प्रक्रिया नै महिला सशक्तीकरण हो ।

उनीहरूलाई आर्थिक, सामाजिक, राजनीतिक तथा मनोवैज्ञनिक रूपमा सक्रिय, सक्षम र पहुँचमा पुर्‍याउने प्रयास यस अन्तर्गत पर्छ । उनीहरू अझै पनि शैक्षिक अवसरबाट वञ्चित छन् ।

आयमूलक कार्यमा संग्लनता कम र घरायसी काममा बढी समय दिनुपर्ने वाध्यता छ । पितृसत्तात्मक सोचबाट गुज्रेको हाम्रो समाजमा अझै पनि महिलालाई दोस्रो दर्जाको नागरिकका रूपमा हेर्ने दृष्टिकोण यथावत नै छ । उमेर नपुग्दै विवाह गरिदिने, श्रीमानमा भर पर्नुपर्ने, अवसरहरूबाट वञ्चित, घरायसी बन्धन आदिले वैवाहिक जीवनपश्चात कुनै पनि कार्यको निर्णय लिनसक्ने अवस्था हुँदैन । पारिवारिक बन्धनका कारण शैक्षिक, सामाजिक, राजनीतिक, आर्थिक क्रियाकलापबाट वञ्चित गराइन्छ । अझै स्पष्ट भन्दा त्यसको निर्णयको अधिकार पुरुषमा निर्भर हुन्छ ।

कुल जनसंख्यामा महिलाको संख्या १ करोड ५५ हजार छ, जसमा ४२ प्रतिशत महिला साक्षर छन् भने ५८ प्रतिशत महिला निरक्षर छन् । प्राय: साक्षर महिलाहरू सरकारी जागिर, गैरकृषिजन्य व्यवसाय, शिक्षिका तथा अन्य रोजगारी र आयमूलक व्यवसायमा संलग्न भई आयआर्जन गर्छन् भने कतिपय साक्षर महिलाहरूलाई घरायसी कार्यमा नै सीमित गराइएको छ । ग्रामीण भेगका धेरैजसो निरक्षर महिलाहरू विवाह पश्चातको जीवनलाई घरगृहस्थीमा र पैसा नआउने कार्यमा व्यतित गर्छन्, जसले गर्दा नत उनीहरूले सम्मान पाउँछन् न पूर्ण आत्मसन्तुष्टि नै । त्यसैले जनसंख्याको ठूलो हिस्सा ओगटेका महिलालाई आफ्नो जीवनमा केही गर्नसक्ने क्षमता र आत्मविश्वास प्रदान गरी अवसर र अधिकार प्राप्त गर्नसक्ने बनाउनु आजको आवश्यकता हो ।

सरकारले कृषि क्षेत्रमा महिला जनशक्तिले गरेको महत्त्वपूर्ण योगदानलाई दृष्टिगत गरी दीर्घकालीन कृषि योजना अनुरुप भूमिमाथिको स्वामित्व, कृषि सम्बन्धी प्राविधिक तालिम, बजार व्यवस्थापन र कृषिजन्य आयमूलक क्रियाकलापमा महिलाको हक–अधिकार कायम गर्न तथा महिला जनशक्ति परिचालन गर्न विशेष व्यवस्था गर्नुपर्छ । उनीहरूलाई कृषिमा सशक्त बनाउन बनेका नीति, नियम र कानुनहरूलाई कागजमा मात्र सीमित नराखी व्यावहारिक रूपमा लागू गरिनुपर्छ । महिला सशक्तीकरणका लागि शिक्षा, चेतना, अधिकार र अवसर उपलब्ध गराउनुपर्छ । लैङ्गिक रूपमा पुरुषको तुलनामा महिलाहरू नै पछि परेको अवस्थामा महिला केन्द्रित सशक्तीकरणका उपायहरू अवलम्बन गरिएको पाइन्छ । तर महिला विकासका लागि पुरुषको सहयोग र भूमिका पनि त्यत्तिकै महत्त्वपूर्ण छ ।

सामाजिक, सांस्कृतिक तथा आर्थिक हरेक क्षेत्रमा महिलाको सहभागिता, पहुँच र नियन्त्रण बढाउँदै लैजानुपर्छ । घरायसी कार्यदेखि घर बाहिरका कार्यसम्म उनीहरूको निर्णय प्रक्रिया तथा परिचालनसम्म पहुँचमा अभिवृद्धि गर्दै आत्मनिर्भर बनाउन कार्यक्रमको तर्जुमा गर्नुपर्छ ।

सरकारी तथा गैरसरकारी संघ/संस्थाहरूद्वारा महिलालाई आर्थिक आर्जनमा संलग्न गराउन थुप्रै महिलामैत्री योजना तर्जुमा गरिएको भए पनि त्यसको कार्यान्वयन पक्ष कमजोर हुँदा आशातित प्रतिफल पाउन सकिएको छैन । उनीहरूलाई जमिन, बजार, जल, मल, बीउ, प्रविधिमा पहुँच बढाएर आयआर्जनमा सकारात्मक परिवर्तन ल्याउन नीति–निर्माण तथा कार्यान्वयन गर्नु जरुरी छ । त्यसका लागि निम्न महिलामैत्री योजना आवश्यक पर्छ ।

१. कृषि उत्पादन सम्बन्धी निर्णय :
ग्रामीण क्षेत्रमा महिलालाई लक्षित गरी समूह गठन गर्ने, बिभिन्न प्राविधिक तालिममा सहभागी गराउने र मौसम अनुसारको बाली लगाउन प्रेरित गर्ने ।

२. स्रोतमाथिको पहुँच र निर्णय :
महिलाहरूलाई उत्पादनशील स्रोत जस्तै– भूमि, गाईवस्तु, कृषि औजार, कर्जा आदि माथिको पहुँच, स्वामित्व र सो सम्बन्धी निर्णय लिनसक्ने क्षमता अभिवृद्धि गराउनुपर्छ, ।

३. आम्दानीको उपयोगमा नियन्त्रण :
हरेक आर्थिक पाटोमा महिलाहरूको सहभागिता र पहुँच बढाउँदै लैजानुपर्छ, जसले गर्दा आम्दानी र खर्चमाथिको एकल वा सामुहिक नियन्त्रण गर्न प्रोत्साहित गर्छ ।

४. समुदायमा नेतृत्व :
सामाजिक वा आर्थिक समूहको सदस्यता र सार्वजनिक समारोहमा निर्धक्कले बोल्न सक्ने अवस्थामा ल्याउन विभिन्न कृषि सम्बन्धी तालिमद्वारा क्षमता अभिवृद्धि गराउनुपर्छ । बजार व्यवस्थापन, सहकारी संस्थामा नेतृत्वदायी भूमिका, सरोकारवाला निकायहरूसँग नडराइकन आफ्ना समस्या भन्न सक्ने बनाउनुपर्छ ।

५. कार्यबोझ घटाउने :
महिलाको कार्यबोझ घटाउने तथा उत्पादकत्व बढाउने कृषि प्रविधि लगायत अन्य प्रविधिहरूको प्रचार–प्रसार तथा ती प्रविधिमा उनीहरूको पहुँच सुनिश्चित गरिनुपर्छ ।

स्थानीय, प्रदेश र संघीय सरकार, गैरसरकारी संघ/संस्था र समुदायसँग सहकार्य गर्दै कृषिमा महिला सशक्तीकरण गरी उनीहरूको आयआर्जन, उत्पादन, पोषण तथा सरसफाइको अवस्थामा सकारात्मक परिवर्तन गर्ने जिम्मेवारी सबैको हो । कृषिमा महिला नेतृत्व विकास गर्दै उत्पादकत्व तथा आम्दानी बढाउन उनीहरूको प्रविधिमा पहुँच र प्रयोगमा सुधार ल्याउनु जरुरी छ । कृषि तथा स्रोतसाधनमा लैङ्गिक समानतामा बढावा दिँदै महिलाको पोषण र स्वास्थ्य नतिजामा सुधार ल्याउनुपर्छ । ग्रामीण भेगका महिलाहरूले कृषिलाई दिनचर्यामा मात्र सीमित राखेका छन् । यो अवस्थाको अन्त्य गरी व्यवसायमुखी प्रविधिमा आधारित कृषि व्यवसायमा रूपान्तरण गर्न सक्नुपर्छ ।

प्रकाशित : फाल्गुन ९, २०७६ ०८:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×