‘अमेरिका–तालिवान सम्झौता चाँडै’

एजेन्सी

दोहा — सात दिनका लागि हिंसा कम गर्नेबारेको ऐतिहासिक सम्झौता चाँडै हुने तालिवानले जनाएको छ ।  तालिवानका उपनेता सिराजुद्दिन हक्कानीले अमेरिकासँग हिंसा रोक्नेबारे चाँडै नै सम्झौता हुने बताएका हुन् । उनले आफ्ना सैन्य कमान्डर ‘ऐतिहासिक’ सम्झौता कार्यान्वयनका लागि पूर्ण रूपमा तयार रहेको पनि जिकिर गरेका छन् । 

‘हामी अमेरिकासँग शान्तिसम्झौता गर्न गइरहेका छौं, जुन आफैंमा एउटा महत्त्वपूर्ण कदम हो,’ न्युयोर्क टाइम्सको विचार पृष्ठमा हक्कानीले लेखेका छन् । एक साता हिंसा कम गर्नेबारे अमेरिकासँग सहमति भएको भनिएको सम्झौताबारे तालिवानका उच्च स्तरीय नेताले लेखमार्फत पहिलो पटक सार्वजनिक अभिव्यक्ति दिएका हुन् ।


अमेरिकी रक्षा मन्त्रालयले भने तालिवानसँग अस्थायी युद्धविराम गर्ने सहमति भइसकेको यसअघि नै बताएको थियो । एक साता लामो युद्धविरामले सैद्धान्तिक रूपमा अमेरिका र तालिवानबीच शान्तिसम्झौता गराउन सक्ने अमेरिकी अधिकारीले बताएका छन् । यसका लागि हिंसा कम गर्ने सम्झौता लागू भएपछि तालिवानले गर्ने व्यवहारमा निर्भर हुने ह्वाइटहाउसले उल्लेख गरेको छ । शान्तिसम्झौताले अफगानिस्तानमा रहेका अमेरिकी सेना फिर्तासमेत हुन सक्ने अमेरिका–तालिवान वार्ताका

जानकार बताउँछन् ।

तालिवानले पनि शान्तिसम्झौताका लागि अमेरिकी प्रतिबद्धता कार्यान्वयनमा जोड दिएको छ । ‘अस्थायी युद्धविरामको कार्यान्वयन र यसको सफलताप्रति अमेरिकी प्रतिबद्धताले शान्ति वार्तासम्म पुर्‍याउन सक्छ,’ हक्कानीले लेखेका छन् ।


अमेरिका र तालिवानका उच्च नेतृत्वबीच अस्थायी युद्धविराम गर्नेबारे सहमति भए पनि अफगानिस्तानमा अफगान सुरक्षाफौज र लडाकुबीचको लडाइँ रोकिएको छैन । कैयौं ठाउँमा झडपका समाचार आइरहेकै छन् । कहिलेबाट अस्थायी युद्धविराम लागू हुने भनेर आफ्ना नेतृत्वले नभनेकाले आक्रमण जारी राखेको तालिवानको स्थानीय नेतृत्वले बताइरहेको छ । उता, अफगानिस्तानका कार्यबहाक गृहमन्त्रीले भने मंगलबार पाँच दिनभित्र हिंसा रोक्नेबारेको सम्झौता कार्यान्वयन हुने बताएका थिए ।


तालिवान उपनेताको लेखलाई ठाउँ दिएको भन्दै अफगान सरकारले भने असन्तुष्टि व्यक्त गरेको छ । अफगानिस्तानको राष्ट्रपति कार्यालयले एउटा विज्ञप्ति प्रकाशित गर्दै आतंकवादीको सूचीमा रहेका व्यक्तिलाई महत्त्व दिएको भन्दै असहमति जनाएको हो ।

अमेरिका र तालिवानबीच भएको भनिएको अस्थायी युद्धविराम सम्झौतामा अफगान सरकार र तालिवानबीच पनि वार्ता गर्ने विषय उल्लेख छ ।


एकताको सरकारमा रहेका राष्ट्रपति असरफ घानी आफैं तालिवानसँगको वार्ता नेतृत्व गर्न चाहन्छन् तर उनको सत्ता साझेदार अब्दुल्लाह अब्दुल्लाहले त्यसको मौका पाउने अनुमान गरिएको छ । मंगलबार मात्रै निर्वाचन आयोगद्वारा दोस्रो कार्यकालका लागि अफगानिस्तानको राष्ट्रपति निर्वाचित घोषणा गरिएका घानी तालिवानलाई अमेरिकाले दिइरहेको महत्त्वप्रति पनि असन्तुष्ट छन् । वासिङ्टनले भने तालिवानसँग भएको सम्झौता कार्यान्वयनमा अफगान सरकारको सहयोगको अपेक्षा गरिरहेको छ ।

प्रकाशित : फाल्गुन ९, २०७६ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?