भारतले अमेरिकासँग राम्रो व्यवहार गरेन : ट्रम्प

एजेन्सी

क्यालिफोर्निया — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले अमेरिकसँग राम्रो व्यवहार नगरेको आरोप लगाएका छन् । ‘भारतले हामीसँग राम्रो व्यवहार गरेन,’ ट्रम्पले दुई देशबीचको व्यापार सम्बन्ध उल्लेख गर्दै भने, ‘तर मलाई प्रधानमन्त्री मोदी भने निकै मनपर्छ । उनले मलाई एयरपोर्ट र कार्यक्रमबीच ७० लाख जनताले मलाई स्वागत गर्ने बताएका छन् ।’ 

भारतले अमेरिकासँग राम्रो व्यवहार गरेन : ट्रम्प

राष्ट्रपति ट्रम्प आगामी साता दुईदिने भ्रमणका लागि भारत पुग्दै छन् । ट्रम्पले गतवर्ष विकासोन्मूख देशलाई दिँदै आएको कर छुट भारतका लागि अन्त्य गरेपछि दुई देशबीचको सम्बन्धमा केही चिसिएको छ । क्यालिफोर्नियामा बुधबार बोल्दै ट्रम्पले ‘भारतसँग ठूलो व्यापार सम्झौता गरिने तर त्यसका लागि बेला नआइसकेको’ बताए । उनका अनुसार त्यस्तो सम्झौता यस वर्ष नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावअघि हुन सक्ने सम्भावना रहेको उल्लेख गरे ।


‘हामीले भारतसँग व्यापार सम्झौता गर्ने सम्भावना छ । तर मैले यो ठूलो सम्झौतालाई भविष्यका लागि सुरक्षित राखेको छु,’ ट्रम्पले पत्रकारहरूसँग भने, ‘हामी भारतसँग एउटा ठूलो सम्झौता त गर्ने छौं तर यो नोभेम्बरको चुनावअघि हुने/नहुने निश्चित भने छैन ।’

भारतीय सञ्चारमाध्यमले भने ट्रम्पको भ्रमणका क्रममा दुई देशबीच एक ‘ट्रेड प्याकेज’ हस्ताक्षर हुने दाबी गरेका छन् । ट्रम्पले पत्रकारसँगको कुराकानीमा आफू भारत भ्रमणका लागि निकै उत्साहित भएको बताए ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेब्रुअरी २४ मा भारतको दुईदिने औपचारिक भ्रमणमा आउँदैछन् ।

प्रकाशित : फाल्गुन ८, २०७६ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?