अस्ट्रेलियाको मेलबर्नमा दुई साना विमान ठोक्किए, ४ जनाको मृत्यु

रासस/एएफपी

मेलबोर्न — अस्ट्रेलियाको मेलबर्नको ग्रामीण इलाकामा बुधबार दुई वटा साना विमानहरु आकाशमै एकआपसमा ठोक्किएर त्यसमा सवार चारै जनाको मृत्यु भएको छ । प्रहरीले दुबै विमानमा एकएक जना पाइलट र एकएक जना यात्रु सवार रहेको जनाएको छ । ती दुई विमान म्यान्गालोर सहरमा करिब ४ हजार फिट माथि आकाशमा ठोक्किएका थिए । 

दुबै विमान कानुनी रूपमा वैध रहेका भए पनि घटनाको अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन्। प्रकाशित : फाल्गुन ७, २०७६ १४:२२

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

सुकुम्बासीका आवाज

राधाकृष्ण प्रतिष्ठित र सम्पन्न परिवारमा जन्मिएका थिए तर भूमिहीनलाई जग्गाको मालिक बनाउन जीवनभर लागिरहे । उनकै सक्रियतामा २५ हजार बिघा जग्गा भूमिहीनले पाए । 
बुनु थारु

जंगबहादुर राणाले अंग्रेज शासकलाई भारतमा विद्रोह दबाउन सैन्य सहयोग गरेबापत बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्ला फिर्ता ल्याए । बर्दिया नेपालमा गाभिएपछि थारूहरूले जंगल फँडानी गरे । खेती लगाउन र बस्ती बसाउन योग्य बनाए । तर जमिन उनीहरूको नाममा भएन ।


जमिनमा राणा परिवारको हालीमुहाली थियो । यसबाट बर्दिया, कोठियाका राधाकृष्ण थारूलाई चित्त बुझेन । थारूलाई जमिनको मालिक बनाउन वकालत गर्न उत्रिए । उनी सुकुमवासीको आवाज बनेर जीवनभर लागिरहे ।

राधाकृष्ण आफू भने प्रतिष्ठित र सम्पन्न परिवारमा जन्मिएका थिए । उनको जन्म गुलरियाको कोठिया गाउँमा १९६५ जेठ १५ गते भएको थियो । उनका हजुरबा खुसाल महतोको कोठिया, ठाकुरपुर, पार्वतीनगर, मोतीनगरका मौजामा जमिनदारी थियो । हजुरबालाई महतोको पदवी तत्कालीन प्रशासनले दिएको हो । महतो पद पाउने धेरैले पछि आफ्नो थर नै महतो बनाए । राधाकृष्णका बाबु भवानीदीनले त्यसो गरेनन् । राधाकृष्णले त झन आफूलाई महतोका रूपमा कहिल्यै प्रस्तुत गरेनन् । सधैं रैतीहरूको हकअधिकारका लागि लडे ।

सभा, भेला गर्न नपाइने राणाकालमा राधाकृष्णले २००१ सालमा बर्दियाको मैनापोखरमा थारू भक्त (शाकाहारी) हरूको सम्मेलन गराएका थिए । सभामा आफू पनि शाकाहारी भएको घोषणा गरे । उनले रैतीहरूका नाममा जग्गा हुनुपर्नेआवाज उठाए ।

उनी रैतीहरूको सहीछाप लिएर उनीहरूका नाममा जग्गा हुनुपर्छ भनी बिन्तीपत्र चढाउन २००३ सालमा तत्कालीन श्री ३ पद्यमशमशेर भेट्न काठमाडौं गए । उनीमाथि व्यवस्थाविरोधी कांग्रेसी भएको बात लगाइयो । डिठ्ठा भद्रमान चित्रकारको रक्तकालीस्थित घरमा पाहुना भई बसेका उनलाई आठपहरियाहरूले पक्राउ गरे । पद्यमशमशेरसमक्ष ‘हामी व्यवस्थाविरोधी होइनौं, थारू रैतीहरूको वारेस भई उनीहरूका नाममा जग्गाजमिन हुनुपर्‍यो भनेर बिन्ती चढाउन मात्र आएका हौं’ भनी बिन्ती चढाएपछि उनले छुटकारा पाए ।
राधाकृष्णले चढाएको बिन्तीका कारण २००४ सालमा बर्दियामा दौडाहा टोली आइपुग्यो । टोलीले १३ हजार बिघा जग्गा भूमिहीन रैतीहरूका नाममा गरिदियो । तर एक वर्ष नपुग्दै जग्गा खोसियो । राधाकृष्ण चुप बसेनन् । उनले आन्दोलन चलाए । पछि अधिकार सम्पन्न आयोग बर्दियामा आयो । त्यसले २५ हजार बिघा जग्गा भूमिहीनका नाममा गरिदियो ।

राणाशासन ढाल्न २००७ सालमा भएको सशस्त्र आन्दोलनमा राधाकृष्णकै अगुवाइमा बर्दियाको राजापुर र गुलरिया बजार कब्जा गरिएको थियो । बजार कब्जा गरेपछि उनकै अध्यक्षतामा स्थानीय प्रशासन चलाउन समिति बनाइयो ।

राधाकृष्ण नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए । उनी भूमिहिन थारूको मागलाई कांग्रेसले सम्बोधन गर्छ भन्थे । २०१५ सालमा क्षेत्र नं ६४ (बर्दिया) बाट चुनाव जितेर उनी प्रतिनिधिसभा सदस्य (सांसद) भए । सांसद भएपछि भूमिहीनहरूको अधिकारका लागि आवाज झन् बुलन्द बनाए ।

तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाले मन्त्री बन्न प्रस्ताव गर्दा राधाकृष्णले परशुनारायण चौधरीलाई सिफारिस गर्दै भने, ‘परशुबाबु पढेलेखेका ग्र्याजुएट हुनुहुन्छ । म सामान्य साक्षरभन्दा उहाँ मन्त्री बन्न उपयुक्त छ ।’ त्यसपछि परशुनारायण शिक्षामन्त्री तत्काल बने ।
नेपाली कांग्रेसका तत्कालीन सभापति बीपीले पहिलो आमचुनावपछि २०१५ साउन ३ गते केन्द्रीय समिति पुनर्गठन गरे । त्यसपछि राधाकृष्ण केन्द्रीय सदस्य बने ।

राजा महेन्द्रले २०१७ पुस १ गते कांग्रेस नेतृत्वको सरकार विघटन गरिदिए र पञ्चायती व्यवस्था ल्याए । राधाकृष्णविरुद्ध पक्राउ पुर्जी जारी भयो । प्रशासनले बर्दिया कोठिया र रत्नापुर गाउँस्थित घर खानतलासी गर्‍यो । राधाकृष्ण सपरिवार भारत निर्वासनमा गए । उनी २०२५ सालमा नेपाल फर्किए ।

राधाकृष्ण भारतबाट फर्कंदा अस्वस्थ थिए । ४ वर्ष लगातार प्रशासनमा तारेख धाए । केही साथीहरूको सल्लाहमा २०२९ सालमा उपप्रधानपञ्चको उम्मेदवारी दिए । प्रशासनले पञ्चायतको समर्थन गरेको ठान्यो। त्यसपछि राधाकृष्णले प्रशासनबाट हैरानी बेहोर्नुपरेन ।

राधाकृष्णका पाँच छोरामध्ये दुई जना सांसद भए । २०५६ को प्रतिनिधिसभामा मंगलप्रसाद नेपाली कांग्रेसबाट सांसद भएका थिए । अर्का छोरा गोविन्द नेपाल सद्भावना पार्टी (आनन्ददेवी) बाट २०६३ मा व्यवस्थापिका संसद् सदस्य चुनिए । थारू समुदायमा एकै घरका तीन जना संसद् पुगेको परिवार राधाकृष्णको मात्र हो ।

२०१७ सालको ‘कू’ पछि राधाकृष्णको दराज प्रशासनले जफत गरेको थियो । त्यो दराज उनका छोरा मंगलप्रसाद २०५६ मा सांसद भएपछि मात्रै फिर्ता गरियो । अर्का छोरा गोविन्दका अनुसार दराजभित्र आमाको बिहेका कपडाबाहेक अरू केही थिएन । राधाकृष्णको भने त्यसअघि नै २०५३ मंसिर २५ गते निधन भइसकेको थियो ।

नेपाली कांग्रेसका नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले बर्दियाका किसानका तर्फबाट राधाकृष्ण थारूले दिएको सुझावअनुसार नै देशका अन्य भागमा भूमिसुधारको काम भएको बताएका थिए । धेरैले उनलाई प्रजातन्त्रको सेनानी भनेर चिन्छन् ।

राधाकृष्णको सम्मानमा बर्दिया सदरमुकाम गुलरियाको मुख्य चोकलाई राधाकृष्ण चोक नामकरण गरिएको छ । चोकमा उनको अर्धकदको सालिक ठड्याइएको छ । भूमिहीनका पक्षमा राधाकृष्ण आजीवन लडे तर बर्दियामा भूमिहीन मुक्तकमैयाले अझै पनि उनकै सालिक घेरा हालेर पुनःथापनाका लागि आवाज उठाउनुपरिरहेको छ।

प्रकाशित : फाल्गुन ७, २०७६ १४:१३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×