जो कोरोनाविरुद्ध खटिरहेछन्

भाइरस प्रकोपविरुद्ध निरन्तर खटिरहेका स्वास्थ्यकर्मीका मुखमा मास्कका डाम देखिन्छन् । मास्कको डोरीले तन्‍किएर उनीहरूका काना राताराता भएका छन् ।
अनुहारबाट पसिनाका थोपा तप्पतप्प चुहिरहेका छन् । कोरोनाविरुद्धको युद्धमैदानमा उत्रिएका स्वास्थ्यकर्मीका आफन्तका आँखामा आँसुको भेलले प्रस्ट्याउँछ, जिम्मेवारी सहज छैन । 
लक्ष्मी लम्साल

बेइजिङ — चीनको हुबेई प्रान्तको राजधानी वुहानका सडकमा केही मानिस ‘मुलुकलाई संकटले घेर्न लाग्यो’ भन्दै राष्ट्रगान गाउन थाले । कोरोना भाइरस संक्रमितलाई बचाउन स्वास्थ्यकर्मी कडा मिहिनेत गरिरहेका थिए तर असफलताले निराश । ८० वर्षीय चिनियाँ श्वासप्रश्वास विशेषज्ञ चोङ नानसानका आँखा यी दृश्यले जलमग्न हुन थाले ।

चिकित्सक नै रहेका उनका विद्यार्थी वुहानमा कोरोनाका कारण खतरनाक अवस्था देखिँदै छ भनिरहेका थिए । उनीहरूमा हतास मनस्थिति प्रस्टै देखिन्थ्यो । सडकमै उत्रिएर जनताले राष्ट्रगान गाउन थालेपछि विशेषज्ञ चोङले चिनियाँ समाचार एजेन्सी सिन्ह्वासँग भने, ‘जनतामा ठूलो हौसला बाँकी रहेको देखें र मन भावविह्वल भयो ।’


उमेरले पाका विशेषज्ञ चोङ कोरोना भाइरसका कारण जनजीवन आक्रान्त भएको देखेर पटकपटक रोइसकेका छन् । गत डिसेम्बरको सुरुवातमै भाइरसको महामारीबारे संकेत गर्ने चिकित्सक ली वेनलियाङको मृत्युमा पनि उनी भक्कानिएका थिए । हाल चिनियाँ सञ्चारमाध्यममा कोरोना भाइरसको संक्रमणले मानवजीवनमा पार्ने असर र जोगिने उपायबारे निरन्तर सुझाव पस्किरहेका चोङप्रति धेरैको आशा र भरोसा अडिएको छ । फेब्रुअरी महिनाभर कोरोनाको संक्रमण उच्चबिन्दुमा पुग्ने र तत्पश्चात क्रमशः घट्दै गएर अप्रिलसम्ममा मत्थर हुन सक्ने उनको विश्‍लेषण छ ।


उनी भन्छन्, ‘कोरोना भाइरसको संक्रमणले श्वासप्रश्वासमा गम्भीर असर गर्छ ।’ सम्बन्धित विषयका ज्ञाता भएकाले उनका भनाइमा विश्वास राख्ने धेरै छन् । उनले चिनियाँलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा कोरोना भाइरससँग सम्बन्धित अनेकन प्रश्नको उत्तर दिइरहेका छन् । उनको सुझाव र जबाफले विचलित जनमानसलाई केही हदसम्म भए पनि राहत दिइरहेको छ । लगभग दुई महिनाको अवधिमा श्वासप्रश्वास विशेषज्ञ चोङ मात्रै कैयौं पटक भावुक भएका छैनन्, प्रकोप नियन्त्रणमा हिम्मतको आँसु दिएर बिदाइ गर्ने अन्य चिकित्सकका आफन्त पनि उत्तिकै भावुक छन् ।


कोरोना भाइरसका कारण सबैभन्दा धेरै प्रभावित वुहान सहरमा खटिएका चिकित्सक र नर्सका आफन्तका बिदाइका फोटा अहिले जताततै देख्न सकिन्छ । भाइरस नियन्त्रण र रोकथामका साथै संक्रमितका उपचारका खट्‍न यतिबेला चीनका कैयौं प्रान्तबाट हजारौं स्वास्थ्यकर्मी वुहान पुगेका छन् । कोरोना भाइरसविरुद्धको लडाइँमा अग्रपंक्तिमा रहेर भिड्‍नुपर्ने भएकाले स्वयं उनीहरूकै जीवनको ग्यारेन्टी छैन । महामारीविरुद्धको लडाइँमा सहभागी हुन जाँदै गर्दा आफन्तले अँगालो हालेर आँसु चुहाइरहेका दृश्य देख्दा जोकोही भावुक हुन्छ ।


कैयौं वैज्ञानिक भाइरस निदानका उपाय पत्ता लगाउन अनवरत खटिरहे पनि त्यसले सार्थकता पाउन नसकिरहेका बेला स्वास्थ्यकर्मी नै बिरामीका अन्तिम भरोसा हुन् । चीनले महामारीविरुद्ध कैयौं स्वास्थ्यकर्मीलाई अग्रपंक्तिमा उभ्याएको छ । पेसागत धर्म निर्वाह गर्ने विषयमा चिनियाँ नागरिकलाई सायदै कसैले छेक्न सक्छ । किनकि भावनात्मक एकता भएर मुलुकभित्रको समस्यासँग जुध्नु उनीहरूको एउटा मौलिक विशेषता हो भन्दा पनि हुन्छ । यहाँ प्रगतिशील समूह वा प्रजातान्त्रिक समूह, फलानो पार्टी वा गुट भन्ने देखिँदैन। न दुर्गम र सुगमको भेदभाव नै छ।


भाइरस प्रकोपविरुद्ध निरन्तर खटिरहेका स्वास्थ्यकर्मीका मुखमा मास्कका डाम देखिन्छन् । मास्कको डोरीले तन्किएर उनीहरुका काना राताराता भएका छन्। अनुहारबाट पसिनाका थोपा तप्पतप्प चुहिरहेका छन् । कोरोनाविरुद्धको युद्धमैदानमा उत्रिएका स्वास्थ्यकर्मीका आफन्तका आँखामा आँसुको भेलले प्रस्ट्याउँछ, जिम्मेवारी सहज छैन । कोरोना भूमिलाई कर्मभूमि बनाउन वुहान हिँडेका स्वास्थ्यकर्मीका दायित्व बिरामीको जीवन बचाउनु हो तर उनीहरूको आफ्नै जीवन पो रहन्छ कि रहँदैन, थाहा छैन । त्यसैले, वुहानमा स्वास्थ्य सेवा प्रदान गर्न हिँडेका आफन्तलाई बिदाइ गर्नेले ‘अलबिदा’ को संकेत गरिरहेका छन् ।


भाइरस संक्रमित क्षेत्रमा खटिँदा स्वास्थ्यकर्मीले धेरै कुराको माया मारेका छन् । महिला नर्स र चिकित्सकले आफ्ना कपाल मुड्याएका छन् । भाइरसबाट जोगिन उनीहरूले टाउको वरिपरिका रौं काटेर सुरक्षा टोपी पहिरिएका हुन् । चिकित्सकले सुरक्षा पोसाक लगाउनैपर्छ । सबैले लगाउने पोसाक उस्तै हुने भएकाले एकले अर्कालाई चिन्न सक्ने अवस्था छैन । उनीहरूले एकअर्कालाई चिन्न सुरक्षा पोसाकबाहिर मार्करले नाम लेखेका छन् । अनि साथै लेखेका छन्, ‘च्या यौ अर्थात् होस्टे हैंसे ।’


उनीहरूले डाइपर लगाएर शौचालय जाने समय बचाइरहेका छन् । आँखा, कान, नाक, मुख सबै बन्द गरेर सेवामा खटिनु पर्दा पोसाक लगाउन र उतार्ने त्यति प्रचूर समय पनि उनीहरूलाई उपलब्ध छैन ।


भाइरस संक्रमण क्षेत्रमा खटिने स्वास्थ्यकर्मी यी र यस्तै टिठलाग्दा तस्बिर इन्टरनेटमा देखिन्छन् । कतिपय स्वास्थ्यकर्मी त कुर्सीमै निदाइरहेका हुन्छन्। कडा मिहिनेत र अबिराम कामका कारण मेडिकल टिम थकानले लखतरान् देखिन्छन् । उनीहरूले घर गएर विश्राम गर्ने अवसर पाएका छैनन्, जहाँ पाइन्छ त्यहीं टाउको अड्याएर लडिरहेका दृश्यले जोकोहीको दारूण हृदय पनि पग्लिन्छ ।


अहिलेसम्म कोरोनाविरुद्धको युद्धमा अग्रपंक्तिमा रहने सैन्यशक्ति भनेकै स्वास्थ्यकर्मी हुन् । उनीहरूसँग गोलाबारूद होइन, विवेक र मानवीय संवेदना प्रस्टै देखिन्छ । वुहान वुछाङ अस्पतालका निर्देशक लिउ चमिङसहित हालसम्म सात जना स्वास्थ्यकर्मीले बिरामीलाई बचाउन खोज्दाखोज्दै आफ्नो जीवन गुमाइसकेका छन् । १७ सयभन्दा बढी स्वास्थ्यकर्मी आफैं संक्रमित भइसकेका छन् । यी स्वास्थ्यकर्मीलाई ‘सुपर हिरो’ नभनेर कसलाई भन्ने ? जसरी सिनेमा खेल्ने पात्रले दुःख कष्टमा सहायता गर्छ र दर्शकबाट सुपर हिरोको उपमा पाउँछ । यथार्थमा आफ्नो जीवनको प्रवाह नगरी अरूको जीवन बचाउने कर्ममा खटिएका चिकित्सकजस्तो ‘सुपर हिरो’ संसारमा अरू को हुन सक्छ ? प्रकाशित : फाल्गुन ७, २०७६ ०९:२२

प्रतिक्रिया
पठाउनुहोस्

कोरोनाको त्रासमा डगमगाएको आत्मविश्वास

लक्ष्मी लम्साल

(बेइजिङ) — जनवरी महिना, बेइजिङमा उत्रिएको एक साता नबित्दै रूघाखोकी र ज्वरोले एकैसाथ आक्रमण गर्‍यो । सकेसम्म औषधि नखाने म जस्ताका लागि घरेलु उपायले यसपटक त छोएन । वाफ लिनु, ज्वानो, बेसार, अदुवा, लसुनलगायत अनेक चीज हालेर उमालेको पानी पिउनु, व्यायाम गर्नुजस्ता अनेकन् विधि अपनाएर ज्वरोबाट मुक्ति पाउने ध्याउन्नमा थिएँ ।

कैयन् दिनको अथक प्रयासपछि पनि निको नहुने देखेपछि सडकपारीको औषधि पसलमा गएर थर्मोमिटर र ज्वरोको औषधि किनें। यताको औषधि नेपालमा पाउने जस्तो कडा नहुने भएकाले हत्तपत्त छुँदा पनि छुँदैन रहेछ। एकजना साथीले नेपालबाटै ल्याएको सिटामोल खाएपछि भने ज्यान केही हलुका भयो।

जनवरी ५ तारिख ‘डिले’ भएर ढिलो अवतरण गरेको हिमालय एयरलाइन्सबाट राति ओर्लिँदासम्म बेइजिङको नयाँ तासिङ विमानस्थल सुनसान भैसकेको थियो। ट्याक्सीमा चढेपछि फुरफुर हिउँ पर्न पनि सुरू गर्‍यो। कडा चिसो त्यहीँबाट खान थालियो। हिउँ एक महिना बितिसक्दा पनि निख्रिएन। नेपालमा छँदा निजगढदेखि हेटौंडा, अनि काठमाडौंको झरीमा मोटरसाइकल चलाउँदै र रूझ्दै गर्दा समेत नछोपेको चिसोले यहाँ टेक्नेबित्तिकै नराम्रोसँग गाल्यो।

अहिले आएर सोच्छु, त्यतिखेरै कोभिड-१९ को आतंक छ भन्ने थाहा पाएको भए मेरो मनोबल कति गिर्थ्यो होला? प्राणघातक कोरोना भाइरस फैलिएको बेलामा रूघा र ज्वरोका यी लक्षणले थला पारेको कुरा नेपालमा भएका आफन्तले थाहा पाएको भए कति आत्तिन्थे होला?

कोरोना भाइरसको संक्रमणमा केन्द्र मानिएको हुबेइको वुहान शहर जो सुविधा सम्पन्न छ। १ लाख ८५ हजार ९ सय वर्गकिलोमिटर क्षेत्रफल रहेको चीनको हुबेइ प्रान्त नै सिंगो नेपालभन्दा अझै ठूलो छ। अत्याधुनिक शहरमा मानिसहरूको जीवन ‘लक डाउन’का कारण पिंजडाको सुगाजस्तो भएको यथार्थ हो। संक्रमणले सैयौंको ज्यान लिइसकेको छ। वुहान हुँदै अहिले चीनका अनेकन् क्षेत्र र सीमापार गरेर विदेशसम्म पनि कोरोना फैलिइसकेको छ। विश्व स्वास्थ्य संगठनका वैज्ञानिकहरू नै भ्याक्सिन पत्ता लगाउन नसकेर हैरान भइरहेका छन्। यस्तो डरलाग्दो रोगको उद्गम भूमिमा जीवनयापन गर्नुपर्दाको मनोवैज्ञानिक असर जो कोहीले अनुमान गर्नसक्छ।

नेपालमा ‘ललिता निवास’ प्रकरण चर्चामा छ। एकजना चिनियाँ सहकर्मीको चित्र आँखामा छाउँछ। उनको नेपाली नाम ललिता, उनको निवास नजिकै, करीब ५/७ सय मिटर पर, लहरै जोडिएका बिल्डिङमा बस्ने एकजनामा केहीदिनअघि कोरोनाको संक्रमण देखियो। एउटै स्टुडियोबाट समाचार वाचन गर्नुपर्ने, एउटै टेबुल र आमनेसामने कम्प्युटर चलाउनुपर्ने हुँदा उनकै छिमेकीको किस्साले मनोबल ह्वात्तै घटाएको अनुभूति हुन्छ। उनीबाट टाढा भएको बेलामा जब नेपाली संचारमाध्यममा हेर्छु। नेपालको भ्रष्टाचारको जालो तोडिँदै गरेको ‘ललिता निवास’को प्रकरणले भ्रष्टाचारीहरूको सात्तो लिएजस्तै आफूलाई भने तिनै ललिताजीको निवास छेउको कोरोना काण्डले सात्तो उडाइरहेको हुन्छ।

चीन एक्लैले केही होइन भनेर सान्त्वना दिइरहेको भए अर्कै हुन्थ्यो तर, विश्व समुदाय नै लागिपरेपछि यो चानचुने समस्या होइन भन्ने नै भयो। कोरोनाले छोयो कि गयो। दिनप्रतिदिन क्षयीकरण हुँदै गएको मानवजीवनले संवेदनाको खाल्डो भरेको भर्‍यै छ। परको देशमा जो कोहीले गर्ने अनुभूति नै ‘एक्लोपन’ हो। आफूलाई जतिसुकै बलियो बनाउन खोजेपनि, जतिसुकै शोकहरूलाई हावामा उडाउन खोजेपनि भित्री मनको बाघलाई त कहाँ लखेट्न सकिन्छ र?

बिहान उठ्यो, ब्रेकफास्ट लिन अर्को बिल्डिङको क्यान्टिनमा गयो। ढोकैमा बसिरहेको यन्त्रले ज्वरो नाप्न थाल्छ। निर्देशन बमोजिम ठिक्क निधार पारेर अगाडि उभिएपछि कामना हुन्छ, ‘भगवान्, मेरो तापक्रम बढी नदेखियोस्।’

केही दिन अघि मात्रै एकजना तमिल भाषा विभागको विशेषज्ञ अलि बढी शरीरको तापका कारण केरकारमा परेका थिए। पुकार गर्दै लाइनमा नापो लिएसँगै चिकित्सकको इशारा पाएपछि खुर्रर दौडेर लिफ्टभित्र छिरिहालियो। यसरी दौडेर मात्रै कोरोनाको कहरले नभेट्ने भए त हुन्थ्यो। त्यस्तै एकजना अंग्रेजी भाषाकी साथीलाई एम्बुलेन्समा हालेर अस्पताल लगियो, भनेर हल्लाखल्ला भयो। ‘फेक न्यूज’ त होइन रहेछ। हामी १५९ जना विदेशी भाषा विशेषज्ञहरू रहेको वीच्याट ग्रुपमा उनले नै पुष्टि गरिन्। भाग्यवश उनलाई रूघा, खोकी, ज्वरो त आएको रहेछ तर कोरोनाले छोएको रहेनछ।

भिसा कार्यालयले पासपोर्ट लिन आउने मिति पर सारेको थियो। अपार्टमेन्टको ढोकामा कागजमा चिट टाँसिएको थियो, ‘भिसाको म्याद सकिन लाग्यो।’ तर आफ्नै पासपोर्ट लिन जान १५ मिनेटको बाटो १५ माइलजस्तै लागिरहेको थियो। एक्लै जाउँ, असावधानी होला। साथीसँग जाउँ, जो कोही साथ दिनै हच्किने। एउटा नेपाली साथीलाई घुर्की लगाएँ, ‘मलाई मात्र कोरोना लाग्ला भन्ठान्या? फर्केपछि तपाइँलाई सार्न नसकुँला र?

मेरो मनोवैज्ञानिक डर देखेर उनले पनि साथ दिने भए। किनकि एकै ठाउँमा उठबस हुँदा भाइरस नसर्ला त भन्न सकिँदैनथ्यो। बरू दुईजना भएर गइयो भने एकले अर्कालाई सचेत गराउन त सकिन्छ। सोही विषयमा बहस गर्दै हिँड्दा डर पनि भाग्थ्यो।

सानोमा बाख्रा चराउन गोठालो जाँदा जंगलमा एक्लै परिन्थ्यो र चिच्याई चिच्याई गीत गाइन्थ्यो। त्यसले डर भगाउन सजिलो हुन्थ्यो।

सुरक्षित हुने भएपनि क्यान्टिनमा पाइने चिनियाँ खानाले चित्त नबुझ्ने। सुपरमार्केट जाने हिम्मत बल्लतल्ल जुटाइयो। यद्यपि त्यहाँ पनि ज्वरो नाप्ने सकसबाट मुक्ति त मिल्दैन। सुन्नमा आएको थियो, जहाँ भएपनि ज्वरोको संकेत मिल्यो कि लगेर अस्पताल भर्ना गरिदिन्छन्। एक हिसाबले चीन सरकारले जनताप्रति देखाएको यो उत्तरदायी कार्यको प्रशंसा गर्न मन लाग्छ। तर कहाँ, के सुरमा हिँडेको मान्छे अस्पताल भर्ना भएर, केही गरी शंकास्पद भइयो भने १४ दिन आइसोलेसनमा बस्नुपर्ने, कोरोनाकै संक्रमण देखिएपछि त अर्को पिरलो !

अहिले केही त्यस्ता भिडियोहरू भाइरल भएका छन् त्यो चीनप्रति आलोचना गर्नेहरूलाई मसला भएको छ। कुनै घरमा वा छिमेकमा कोरोना भाइरसको संक्रमण देखिएपछि चिकित्सकहरूले सबैलाई जाँच्न अनुरोध गर्छन्। यो सामान्य प्रकोप होइन भनेर बुझाउन खोज्छन्। तर धेरै मानिसहरू अस्पतालको नाम सुन्ने बित्तिकै आत्तिएर खाटमुनी लुक्न थाल्छन्। आइसोलेसनमा बस्नुपर्ने झन्झटमा पर्न कोही पनि चाहँदैन। जिम्मेवार निकायले उनीहरूलाई तानेरै भएपनि अस्पताल लगेर, चेकजाँच गरेर, पुष्टि गरेर मात्रै पठाउने भएकाले यो रस्साकस्सी जो कोहीका लागि तीतो लाग्नसक्छ।

आवास क्षेत्रहरूमा एकद्वारे नियम बनाएर नाम/ठेगाना टिपाएर ओहरदोहर गर्न दिन्छन्। मास्क नलगाएमा लगाउन भन्छन्। जता गएपनि ज्वरो नापेकै हुन्छन्। सार्वजनिक यातायातदेखि लिफ्ट, सबवे, जहाँतहीँ कीटनाशक छरिरहेकै हुन्छन्। कोरोना विरूद्धको लडाइँमा चिनियाँको ऐक्यवद्धता लोभलाग्दो देखिन्छ। सबै कोरोना विरूद्धका गतिविधिमा लागिपरेका छन्।

उनीहरूले विगतमा के काम गर्थे, अहिले कसरी जीवन चलाउँदा हुन्? चिनियाँ राष्ट्रपतिदेखि नेताहरूको अनुगमन निरीक्षण चलेको चल्यै छ। उनीहरूले जनतालाई होस्याएका हौस्यायै छन्। जता जाउँ, सचेतनाका सन्देशहरू घन्किरहेका हुन्छन्, ‘कोठाबाट बाहिर नजाउँ, मास्क लगाउँ, हात धोउँ, भीडभाड कम गरौं।’

बिहान उठ्ने बित्तिकै नाक बुजिएको जस्तो लाग्यो कि मनमा चिसो पस्छ। हाच्छ्युँ लाग्यो कि सात्तो जान्छ। अन्य केही कुराको झन्झटले शरीर तातियो कि अनायासै हात निधारमा गएर ज्वरो नाप्न थाल्छ। नास्तिक मुलुक चीनमा अचेल भगवानको नाम लिनेहरू धेरै देखिन्छन्। यो यस्तो घडी हो जतिखेर सारा विज्ञानले हार खाइरहेको छ। त्यो भन्दा पनि कहिलेकाहीं त मनोविज्ञानले हार खान्छ र उकुसमुकुस हुन थाल्छ। फेरि पनि विराट् सत्य यही हो कि प्रकृतिको तापमानसँग मेल राख्न नसक्दा मानव शरीरले उतारचढाव बेहोर्नुपर्दछ नै। आफूलाई सदैव सक्रिय राख्नू, योग ध्यानले चित्तमाथि नियन्त्रण राख्नू, पोषिलो खानेकुरा खानू, आफ्नो सुरक्षा आफैँले गर्नू, उच्च आत्मविश्वासका साथ हौसला जगाइराख्नू वर्तमानको आवश्यकता हो। जसरी अहिले विश्व समुदायले एकै स्वरमा भनिरहेको छ-
चोङ्को च्या यौ- चीन, होस्टे हैंसे !
वुहान च्या यौ – वुहान, होस्टे हैंसे !

प्रकाशित : फाल्गुन १, २०७६ १५:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×