केजरीवालका मन्त्री पुरुष मात्रै

सुरेशराज न्यौपाने

नयाँदिल्ली — आम आदमी पार्टी (आप) का संयोजक अरविन्द केजरीवालले तेस्रोपटक दिल्ली मुख्यमन्त्री पदको शपथ लिएका छन् । राजधानी नयाँदिल्लीको रामलीला मैदानमा केजरीवालसँगै अन्य पाँच मन्त्रीलाई दिल्लीका उपराज्यपाल अनिल बैजलले आइतबार शपथग्रहण गराएका हुन् । नयाँ मन्त्रिपरिषद्मा मनीष सिसोडिया, गोपाल राय, कैलाश गहलोत, राजेन्द्र पाल गौतम र इमरान हुसेन अटाएका छन् । उनीहरू सबै अघिल्लो कार्यकालकै मन्त्री हुन् । सरकारमा पुरुषलाई मात्रै स्थान दिइएको भन्दै केजरीवालको आलोचना भएको छ । अघिल्लो कार्यकालको सात सदस्यीय मन्त्रिपरिषद्मा पनि महिला थिएनन् । 

मनीष सिसोडियाका प्रमुख सल्लाहकार अतिशी मर्लेनालगायत केही महिला नयाँ मन्त्रिपरिषद्मा अटाउने चर्चा भए पनि उनीहरूले मौका पाएनन् । सरकारमा महिला प्रतिनिधित्व नगराएको भन्दै सामाजिक सञ्जालमा केजरीवालविरुद्ध आक्रोश व्यक्त भएका छन् । महिलाकै भोटको बलमा आपले जितेको तर नयाँ मन्त्रिपरिषद्मा सहभागी नगराइएको भन्दै विरोध भएको हो । पत्रकार फए डिसेजाले खोइ अतिशी भन्दै प्रश्न गरेकी छन् । त्यसैगरी पत्रकार विजैता सिंहले पनि केजरीवालको नयाँ मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व नभएकामा असन्तुष्टि व्यक्त गरेकी छन् । बलिउड सिनेकर्मी अनुराग कश्यपले समेत सिंहलाई समर्थनगरेका छन् । आपले चुनावी अभियानमा महिला सुरक्षा, स्टार महिला उम्मेदवार र महिलालाई निःशुल्क बससेवालगायतका प्रतिबद्धता व्यक्तगरेको थियो ।


नवनियुक्त मन्त्रीद्वय सिसोडिया र गौतमले यसअघिको कार्यकालमा दिल्लीको सार्वजनिक शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको नेतृत्व गरेका थिए । चुनाव जित्न तिनै सुधारका कामले अहम् भूमिका खेलेको आपको बुझाइ छ । चुनाव प्रचारमा आपले पाँच वर्षमा गरेका सार्वजनिक शिक्षा र स्वास्थ्य क्षेत्रका कामलाई प्रमुख मुद्दा बनाएको थियो । हालैको विधानसभा चुनावमा आपले दिल्लीको कुल ७० मध्ये ६२ सिटमा जित हासिल गरेको थियो, जसमा महिलाको सिट संख्या आठ छ । भारतीय जनता पार्टी (भाजपा) ले आठ सिट जितेको थियो भने भारतीय राष्ट्रिय कांग्रेस ‘क्लिन स्विप’ भएको थियो ।


शपथग्रहण समारोहलाई विशेष बनाउन आपको विशेष तयारी थियो । समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीलगायत दिल्लीका सार्वजनिक विद्यालयका शिक्षकलाई समेत निमन्त्रणा गरिएको थियो । कार्यक्रममा ५० जनाका दरले विभिन्न क्षेत्रमा विशेष योगदान दिएकालाई पनि निम्त्याइएको थियो । शपथग्रहणमा एक लाख मानिस उपस्थित भए पनि प्रधानमन्त्री मोदी अनुपस्थित रहे ।


शपथ ग्रहणपछिको सम्बोधनमा मुख्यमन्त्री केजरीवालले चुनाव जित्नका लागि स्रोतको बेवास्ता गर्दै नागरिकलाई निःशुल्क सेवा दिएको भन्ने आरोपको खण्डन गरेका छन् । केजरीवाल सरकारले अघिल्लो कार्यकालमा दिल्लीवासीलाई महिनामा २ सय युनिटसम्म बिजुली र २० हजार लिटर पानी निःशुल्क र सार्वजनिक बसमा यात्रा गर्दा महिलालाई पूरै भाडा छुट दिने व्यवस्था गरिएको थियो । यी सुविधालाई लिएर विपक्षीले केजरीवाल सरकारको आलोचना गर्दै आएका थिए । ‘उनीहरू केजरीवालले सबै कुरा सित्तैमा दियो भन्छन् । प्रकृतिले नै सबै बहुमूल्य चीज दिएको छ । चाहे त्यो आमाको माया होस् वा बुबाको त्याग । केजरीवाल आफ्ना जनतालाई माया गर्छ र यही माया दिएको हो,’ रामलिला मैदानको सम्बोधनमा उनले भने । आफू सबै दिल्लीवासीको मुख्यमन्त्री भएको भन्दै कसैप्रति पनि भेदभाव नहुने उनले बताए । ‘म सबै पार्टी, धर्म, जातका लागि काम गर्नेछु,’ उनले भने । यसपटकको चुनावबाट मुलुकमा विकास र कामको राजनीति उदय भएको समेत उनले दाबी गरे ।


लगातार तीन कार्यकाल नेतृत्व गरेकी कंग्रेस नेत्री शीला दीक्षित सरकारलाई पराजित गर्दै पहिलोपटक सन् २०१३ मा आप दिल्ली सरकारको नेतृत्व गर्न पुगेको थियो । त्यसपछि दिल्लीमा भएका दुवै निर्वाचनमा उसले जित हासिल गरेको छ । अघिल्लो पटक ७० मध्ये ६७ सिट जितेको आपलाई यसपटक भाजपाको आक्रामक चुनाव प्रचारले केही दबाबमा राखेको थियो । भाजपाले चुनावमा राष्ट्रियता र सुरक्षालाई प्रमुख मुद्दा बनाएको थियो । प्रकाशित : फाल्गुन ५, २०७६ ०९:३४

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

निर्माणाधीन पाल्पा सिजी सिमेन्ट उद्योगमा स्थानीयले लगाए ताला

माधव अर्याल

पाल्पा — आफ्‍ना माग पूरा नगरेको भन्दै शनिबार बेलुकी स्थानीय बासिन्दाले तालाबन्दी गरेपछि रैनादेवी छहरा गाउँपालिका-२ साेमादीमा निर्माणाधीन सिजी सिमेन्ट उद्योगको काम तीन दिनदेखि ठप्प भएको छ । निर्माण कम्पनी भारतीय आईयूके र सिजी सिमेन्ट उद्योगको प्रशासनमा स्थानीय बासिन्दाले तालाबन्दी गरेपछि तीव्र गतिमा भइरहेको निर्माणका काम ठप्प भएको हो । 



स्थानीय बासिन्दाले धुलोधूवाँ गराएको, तीव्र गतिमा टिपर चलाएको, आईयूके कम्पनीका कामदारले जथाभावी फोहोर गरेको, वातावरणीय प्रदूषण बढाएको आरोपमा तालाबन्दी गरेको बताएका छन्। कम्पनीले आफ्‍ना मागप्रति वेवास्ता गरेकाले तालाबन्दी गरेको बताएका छन्।

केही दिनअघि पनि यही विषयमा स्थानीय बासिन्दा, जनप्रतिनिधि, कम्पनीबीच छलफल भएको थियो। समिति निर्माण गरेर वार्ता गर्ने र समस्या समाधान गर्ने भन्ने निष्कर्षमा पुगेको थियो। स्थानीय दीपक पाण्डेयका अनुसार कम्पनीका केही कर्मचारीले स्थानीय बासिन्दालाई धम्की दिएकाले तालाबन्दी गर्नु परेको बताए। उनका अनुसार स्थानीय युवाहरुले शनिबार बेलुकीदेखि तालाबन्दी गरेर काम ठप्प भएको छ।

सोमबार रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्की, वडाध्यक्ष जीवनाथ पोखरेल, स्थानीय बासिन्दा र कम्पनीका महाप्रबन्धक कल्याण पन्तबीच छलफल भइरहे पनि निष्कर्षमा पुगेको छैन। स्थानीयले तालाबन्दी गरेर काम रोकेको थाहा पाएपछि आफू कम्पनी निर्माणस्थलमा पुगेको गाउँपालिका अध्यक्ष कार्कीले बताए।

कम्पनीका महाप्रबन्धक पन्तले जानकारी बिना तालाबन्दी गरेको बताए। उनले लिखित माग कोही कसैले नदिएको र केही युवाहरुले आएर अचानक सिजीको प्रशासनमा तालाबन्दी गरेको बताए। उनले कम्पनी निर्माणको चरणमा भएको तर सुरक्षाको प्रत्याभूति हुन नसकेको बताए। खेतमा सिंचाइ गर्ने कुलो पुरिएको विषयमा दुई साता अघि पनि स्थानीय बासिन्दा र कम्पनीबीच विवाद भएपछि जनप्रतिनिधि, स्थानीय समाजसेवी, अगुवा बसेर समाधान भएको थियो।

चौधरी ग्रुपले सोमादीको सर्देवामा सिमेन्ट उद्योग स्थापना गर्न झण्डै ५ सय रोपनी जग्गा खरिद गरिसकेको छ। यस्तै रिब्दीकोट गाउँपालिका–२, देउरालीको डम्बकमा समेत ३ सय ८० रोपनी जग्गा खरिद गरेर राखेको छ।

प्रकाशित : फाल्गुन ५, २०७६ ०९:२१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×