बेलायतले कम दक्ष विदेशी कामदार रोक्ने

एजेन्सी

लन्डन — युरोपेली संघबाट बहिर्गमन (ब्रेक्जिट) पछि बन्ने नयाँ नियममा कम दक्षता भएका विदेशी कामदारलाई बेलायत प्रवेशमा कडाइ गरिने गृहमन्त्री प्रिती पटेलले जनाएकी छन् ।

बेलायतले कम दक्ष विदेशी कामदार रोक्ने

अर्को वर्षबाट लागू हुने नयाँ नियमअनुसार बेलायत आउन चाहने सबै विदेशी कामदार दक्ष हुनुपर्ने र भाषामा दक्ष हुनुपर्ने छ । ‘हाम्रो नयाँ आप्रवासनसम्बन्धी नियमले सस्तो र अदक्ष कामदारलाई रोक लगाउने छ,’ मन्त्री पटेलले आइतबार ‘द सन’ मा लेखेकी छन्– ‘अर्को वर्षबाट सबै दक्ष कामदारले बेलायतमा काम गर्न प्वाइन्ट प्राप्त गर्नुपर्नेछ । उनीहरु अंग्रेजी बोल्नमा दक्ष हुनुपर्ने र तलवमान पूरा हुने गरी बेलायतस्थित राम्रो कम्पनीले रोजगार दिएको हुनुपर्ने छ ।’


दक्षता कम भएका क्षेत्रमा बेलायत आउन चाहनेलाई थप प्वाइन्ट दिने तयारी पनि सरकारको रहेको मन्त्री पटेलले बताएकी छन् ।


बेलायतले गत जनवरी ३१ मा औपचारिक रूपमै युरोपेली संघ छोडे पनि डिसेम्बर ३१ सम्म संक्रमणकाल जारी छ । ब्रेक्जिटअघि युरोपी संघका सदस्य राष्ट्रका नागरिक युरोपभर आवतजावत र रोजगारी गर्न सक्थे ।


विपक्षी दलले भने आप्रवासीलाई रोक्ने खालको नियमले राष्ट्रिय स्वास्थ्य सेवालगायतका सार्वजनिक क्षेत्रमा असर पर्न सक्ने चेतावनी दिएका छन् । बेलायतका स्वास्थ्यसम्बन्धी क्षेत्र नर्स र चिकित्सकका लागि युरोपेली संघका अन्य सदस्य राष्ट्रसँग भर पर्दै आएका छन् ।

प्रकाशित : फाल्गुन ४, २०७६ २१:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?