१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

अमेरिका र तालिवानले युद्धविराम गर्ने

(एजेन्सी)

म्युनिख — संयुक्त राज्य अमेरिका र अफगानिस्तानको विद्रोही समूह तालिवान अस्थायी युद्धविराम गर्न सहमत भएका छन् । 

अमेरिका र तालिवानले युद्धविराम गर्ने

दुई पक्षबीच सात दिन युद्धविराम गर्ने सहमति भएको हो । सहमतिअनुसार दुवै पक्षले अफगानिस्तानभर एक साता हिंसात्मक गतिविधि गर्ने छैनन् । तालिवानले अलकायदा जस्ता समूहलाई आश्रयस्थल उपलब्ध नगराउने र अमेरिकाले आफ्ना सेना फिर्ता लान समयसीमा तोक्नेबारे पनि सहमति भएको उल्लेख छ ।


यसबारे आइतबार औपचारिक घोषणा हुने र सोमबारबाट युद्धविराम लागू हुनसक्ने अमेरिका–तालिवान वार्ताका जानकारलाई उद्धृत गर्दै समाचार एजेन्सी एपीले उल्लेख गरेको छ ।


अस्थायी युद्धविराम सफल भए तालिवानसँगको १८ वर्ष लामो युद्ध अन्त्य हुन सक्ने खालको शान्तिसम्झौतातर्फ दुवै पक्ष अघि बढ्ने जनाइएको छ । तालिवान बुधबार मात्रै हिंसात्मक गतिविधि रोक्न सहमत भएको थियो ।


अफगान सरकार र तालिवानबीच अर्को महिना वार्ताको थालनी गर्ने विषयमा पनि अमेरिकासँग सहमति भएको छ । युद्धविराम अमेरिका संलग्न लामो द्वन्द्व अन्त्यका लागि महत्त्वपूर्ण कदम हुन सक्ने राजनीतिक विश्लेषक बताउँछन् । विदेशी युद्धमा सहभागी अमेरिकी सेनालाई स्वदेश फर्काउने राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानको प्रतिबद्धता पूरा हुने माध्यम पनि युद्धविराम हुन सक्ने उनीहरूको तर्क छ । अस्थायी युद्धविरामको कार्यान्वयनसँग जोडिएको अमेरिका–तालिवान शान्तिसम्झौतापछि मात्रै वास्तविक र दीर्घकालीन शान्तिको योजना बन्ने अमेरिकी अधिकारीले बताएका छन् ।


युद्धविरामबारे अमेरिकी वरिष्ठ अधिकारी र तालिवान अधिकारीले बेग्लाबेग्लै जानकारी दिएका छन् । ‘तालिवानले हिंसात्मक घटनामा कमी गर्ने’ प्रतिबद्धता व्यक्त गरेको र समग्र अफगानिस्तानभर नै युद्धविरामको परिकल्पना गरेकोले सम्झौता ‘विशिष्ट’ खालको रहेको उनीहरूको भनाइ छ । युद्धविराम सम्झौताको कार्यान्वयन अफगान सुरक्षाफौजले पनि गर्नेछन् । अधिकारीका अनुसार तालिवानले सडकछेउमा आक्रमण नगर्ने र आत्मघाती बम विस्फोटसहित रकेट आक्रमण रोक्ने प्रतिबद्धता व्यक्त गरेको छ । प्रतिबद्धता पूरा भए १० दिनभित्र अमेरिका–तालिवानबीच शान्ति सम्झौता हुने अमेरिकी अधिकारीले बताएका छन् । तालिवानले भने शान्तिसम्झौताका लागि फेब्रुअरी २९ तय भएको र अफगान सरकारसँगको वार्ता मार्च १० बाट सुरु हुने तयारी भइरहेको उल्लेख गरेको छ । जर्मनी र नर्वेले अफगान अधिकारी र तालिवानबीचको वार्ता आयोजना गर्ने प्रस्ताव गरे पनि वार्तास्थलबारे निर्णय भई नसकेको उनीहरूले बताएका छन् । अफगान अधिकारीसँगको वार्ता सुरु हुनुपूर्व आफ्ना पाँच हजार बन्दी रिहा गर्नेबारे पनि अमेरिकासँग सम्झौता भएको तालिवानको जिकिर छ ।


अफगान राष्ट्रपति असरफ घानी र अमेरिकी विदेशमन्त्री माइक पोम्पियोसहित रक्षामन्त्री मार्क एस्परबीच शुक्रबार जर्मनीको म्युनिखमा भएको भेटपछि तालिवानसँगको युद्धविराम सहमतिबारे जानकारी गराइएको हो । अन्तर्राष्ट्रिय सुरक्षा मञ्चको साइडलाइन बैठकमा उनीहरूबीच भेट भएको थियो । युद्धविराम सम्झौतामा उल्लेख भएअनुसार तालिवान कैदी रिहा गर्ने प्रतिबद्धता पूरा गर्न वासिङ्टनले घानीको सहयोग खोजेको छ । राष्ट्रपति घानी भने तालिवानसँग पटकपटक वार्ता गरेका अमेरिकी विशेषदूत जाल्मे खलिलजादको शैलीलाई लिएर असन्तुष्ट छन् । खलिलजादले आफूहरूलाई वार्ताबारे जानकारी नदिएको भन्दै घानी रुष्ट छन् ।


वर्तमान गठबन्धन सरकारका साझेदार अब्दुल्लाह अब्दुल्लाहको भूमिकालाई लिएर पनि उनी खुसी नरहेको बताइन्छ । तालिवानसँग हुने वार्तामा काबुलको प्रतिनिधित्व अब्दुल्लाहले नै गर्नेछन् । घानी आफैंले वार्ताको नेतृत्व गर्न चाहे पनि उनका राजनीतिक प्रतिद्वन्द्वीसहित प्रमुख नेताले वार्ताको टेबलमा समावेशी प्रतिनिधित्वमा जोड दिँदै आएका छन् ।


अमेरिकी कठपुतलीको संज्ञा दिँदै अफगान सरकारसँग वार्तामा नबस्ने बताउँदै आएको तालिवान केही नरम देखिएपछि वार्ता हुन लागेको हो । तालिवान स्रोतले भने काबुल प्रतिनिधिमा सरकारी अधिकारी हुने भए पनि उनीहरूलाई सरकारी प्रतिनिधित्वभन्दा पनि सामान्य अफगान नागरिकका रूपमा मात्रै लिइने बताएको छ ।


अमेरिकी अधिकारीले भने ठ्याक्कै कहिलेबाट अमेरिकी फौज फिर्ता लगिनेछ भन्नेबारे बोलेका छैनन् । अमेरिका तालिवान सम्झौता हुनेबित्तिकै हाल विद्यमान १४ हजार सेनाको संख्या घटाएर लगभग ८ हजार ६०० बनाउने तयारी भने भइरहेको उल्लेख छ ।

प्रकाशित : फाल्गुन ४, २०७६ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?