कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

बेइजिङ पुग्‍ने १४ दिन क्‍वारेन्टाइनमा बस्‍नैपर्ने

(एजेन्सी)

बेइजिङ — चीनको राजधानी बेइजिङ आउने सबैले १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । नोवल कोरोना भाइरस संक्रमण नियन्त्रणको पछिल्लो प्रयासस्वरूप बेइजिङ आउने सबैलाई क्वारेन्टाइनमा बस्न निर्देशन दिइएको हो । क्वारेन्टाइनमा नबसे सजाय भोग्न चेतावनीसमेत दिइएको छ । 

बेइजिङ पुग्‍ने १४ दिन क्‍वारेन्टाइनमा बस्‍नैपर्ने

नयाँ वर्षको लामो बिदापछि सहर फर्किएकालाई स्वयं वा सरकारले तोकेको ठाउँमा क्वारेन्टाइनमा बस्न भनिएको छ । चीनका अन्य सहरबाट बिदा मनाएर बेइजिङवासी फर्कन थालेपछि भाइरस नियन्त्रणका लागि सक्रिय सरकारी निकायले शुक्रबार यस्तो सूचना जारी गरेको हो । ‘घरमै अलग्गै बस्न वा केन्द्रीकृत निगरानीमा बस्न अस्वीकार गर्नेलाई कानुनअनुसार कारबाही गरिने छ,’ सूचनामा उल्लेख छ ।


कारोना भाइरस प्रकोप रोकथाममा सहयोग पुगोस् भनेर चिनियाँ नयाँ वर्षको बिदा बढाइएको थियो । राजधानी बेइजिङमा दुई करोडभन्दा बढी मानिस बसोबास गर्छन् । भाइरस उद्गमस्थल हुबेई प्रान्तबाहिर संक्रमण फैलन नदिने प्रयासस्वरुप यस्तो निर्देशन दिइएको चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।


नोवल कोरोना भाइरसका कारण चीनमा शुक्रबारसम्म एक हजार ५२३ जनाको मृत्यु भइसकेको छ । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले शनिबार दिएको जानकारीअनुसार शुक्रबार थप १४३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । थप दुई हजार ६४१ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म चीनमा ६६ हजार ४९२ जनामा कोरोना संक्रमण पाइएको स्वास्थ्य आयोगले उल्लेख गरेको छ । चीनबाहिर २४ देशमा ५०० संक्रमित पाइएका छन् ।


युरोपमा पहिलो मृत्यु

पेरिस– कोरोना भाइरसका कारण युरोपमा पहिलोपटक एक जनाको मृत्यु भएको छ । युरोपेली मुलुक फ्रान्समा भाइरस संक्रमित एक चिनियाँ पर्यटकको मृत्यु भएको हो ।


मृत्यु हुनेमा चीनको हुबेई प्रान्तका ८० वर्षीय एक वृद्ध भएको फ्रान्सेली स्वास्थ्यमन्त्री एग्नेस बुजिनले जानकारी दिएकी छन् । मन्त्री बुजिनका अनुसार जनवरी १६ मा फ्रान्स आएका ती वृद्धमा कोरोना संक्रमण देखिएपछि जनवरी २५ बाट क्वारेन्टाइनमा राखिएको थियो । गत डिसेम्बरमा कोरोना संक्रमण देखिएयता यसअघि चीनबाहिर हङकङ, फिलिपिन्स र जापानमा तीनजना संक्रमितको मृत्यु भएको थियो ।


यसैबीच, अफ्रिकामा पनि कोरोना भाइरसको संक्रमण पाइएको छ । इजिप्टको स्वास्थ्य मन्त्रालयले आफ्नो देशमा कोराना संक्रमित भेटिएको पुष्टि गरेसँगै अफ्रिका महादेशमा पनि भाइरस पुगेको हो । संक्रमित विदेशी रहेको भने पनि उनको राष्ट्रियताबारे भने मन्त्रालय बोलेको छैन । कोरोना संक्रमितबारे विश्व स्वास्थ्य संगठनलाई जानकारी दिइसकिएको र बिरामीलाई आइसोलेसनमा राखिएको उसले उल्लेख गरेको छ ।


यसैबीच, कोरोना संक्रमणसँग जुधिरहेको चीनका लागि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) नेतृत्वमा रहेको मिसनले आइतबारबाट आफ्नो काम सुरु गर्ने भएको छ । कोभिड–२०१९ नामकरण गरिएको भाइरस कसरी फैलिरहेको छ भन्ने अध्ययन मिसनले गर्ने छ । साथै, भाइरसको गाम्भीयर्ताबारे पनि अनुसन्धान केन्द्रीत रहने डब्लूएचओका निर्देशक ट्रेडोस अधानोम गेब्रियससले बताएका छन् ।


अन्तर्राष्ट्रिय विज्ञसहितको मिसनले एक हजार ७०० भन्दा बढी स्वास्थ्यकर्मीमा कसरी र कहिले संक्रमण फैलियो भन्नेबारे पनि अध्ययन गर्ने छ । मिसनमा १२ अन्तर्राष्ट्रिय सदस्य र १२ जना चिनियाँ विज्ञ रहनेछन् ।


‘भाइरस कसरी फैलिरहेको छ, यसको प्रकृति कस्तो छ र संक्रमण रोक्नलाई हाल गरिएका प्रयासका के कस्ता असर छन् भन्नेबारे ध्यान दिइनेछ,’ डब्लुएचओले जनाएको छ ।

प्रकाशित : फाल्गुन ४, २०७६ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?