कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेइजिङ पुग्‍ने १४ दिन क्‍वारेन्टाइनमा बस्‍नैपर्ने

(एजेन्सी)

बेइजिङ — चीनको राजधानी बेइजिङ आउने सबैले १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । नोवल कोरोना भाइरस संक्रमण नियन्त्रणको पछिल्लो प्रयासस्वरूप बेइजिङ आउने सबैलाई क्वारेन्टाइनमा बस्न निर्देशन दिइएको हो । क्वारेन्टाइनमा नबसे सजाय भोग्न चेतावनीसमेत दिइएको छ । 

नयाँ वर्षको लामो बिदापछि सहर फर्किएकालाई स्वयं वा सरकारले तोकेको ठाउँमा क्वारेन्टाइनमा बस्न भनिएको छ । चीनका अन्य सहरबाट बिदा मनाएर बेइजिङवासी फर्कन थालेपछि भाइरस नियन्त्रणका लागि सक्रियसरकारी निकायले शुक्रबार यस्तो सूचना जारी गरेको हो । ‘घरमै अलग्गै बस्न वा केन्द्रीकृत निगरानीमा बस्न अस्वीकार गर्नेलाई कानुनअनुसार कारबाही गरिने छ,’ सूचनामा उल्लेख छ ।


कारोना भाइरस प्रकोप रोकथाममा सहयोग पुगोस् भनेर चिनियाँ नयाँ वर्षको बिदा बढाइएको थियो । राजधानी बेइजिङमा दुई करोडभन्दा बढी मानिस बसोबास गर्छन् । भाइरस उद्गमस्थल हुबेई प्रान्तबाहिर संक्रमण फैलन नदिने प्रयासस्वरुप यस्तो निर्देशन दिइएको चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।


नोवल कोरोना भाइरसका कारण चीनमा शुक्रबारसम्म एक हजार ५२३ जनाको मृत्यु भइसकेको छ । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले शनिबार दिएको जानकारीअनुसार शुक्रबार थप १४३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । थप दुई हजार ६४१ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म चीनमा ६६ हजार ४९२ जनामा कोरोना संक्रमण पाइएको स्वास्थ्य आयोगले उल्लेख गरेको छ । चीनबाहिर २४ देशमा ५०० संक्रमित पाइएका छन् ।


युरोपमा पहिलो मृत्यु

पेरिस– कोरोना भाइरसका कारण युरोपमा पहिलोपटक एक जनाको मृत्यु भएको छ । युरोपेली मुलुक फ्रान्समा भाइरस संक्रमित एक चिनियाँ पर्यटकको मृत्यु भएको हो ।


मृत्यु हुनेमा चीनको हुबेई प्रान्तका ८० वर्षीय एक वृद्ध भएको फ्रान्सेली स्वास्थ्यमन्त्री एग्नेस बुजिनले जानकारी दिएकी छन् । मन्त्री बुजिनका अनुसार जनवरी १६ मा फ्रान्स आएका ती वृद्धमा कोरोना संक्रमण देखिएपछि जनवरी २५ बाट क्वारेन्टाइनमा राखिएको थियो । गत डिसेम्बरमा कोरोना संक्रमण देखिएयता यसअघि चीनबाहिर हङकङ, फिलिपिन्स र जापानमा तीनजना संक्रमितको मृत्यु भएको थियो ।


यसैबीच, अफ्रिकामा पनि कोरोना भाइरसको संक्रमण पाइएको छ । इजिप्टको स्वास्थ्य मन्त्रालयले आफ्नो देशमा कोराना संक्रमित भेटिएको पुष्टि गरेसँगै अफ्रिका महादेशमा पनि भाइरस पुगेको हो । संक्रमित विदेशी रहेको भने पनि उनको राष्ट्रियताबारे भने मन्त्रालय बोलेको छैन । कोरोना संक्रमितबारे विश्व स्वास्थ्य संगठनलाई जानकारी दिइसकिएको र बिरामीलाई आइसोलेसनमा राखिएको उसले उल्लेख गरेको छ ।


यसैबीच, कोरोना संक्रमणसँग जुधिरहेको चीनका लागि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) नेतृत्वमा रहेको मिसनले आइतबारबाट आफ्नो काम सुरु गर्ने भएको छ । कोभिड–२०१९ नामकरण गरिएको भाइरस कसरी फैलिरहेको छ भन्ने अध्ययन मिसनले गर्ने छ । साथै, भाइरसको गाम्भीयर्ताबारे पनि अनुसन्धान केन्द्रीत रहने डब्लूएचओका निर्देशक ट्रेडोस अधानोम गेब्रियससले बताएका छन् ।


अन्तर्राष्ट्रिय विज्ञसहितको मिसनले एक हजार ७०० भन्दा बढी स्वास्थ्यकर्मीमा कसरी र कहिले संक्रमण फैलियो भन्नेबारे पनि अध्ययन गर्ने छ । मिसनमा १२ अन्तर्राष्ट्रिय सदस्य र १२ जना चिनियाँ विज्ञ रहनेछन् ।


‘भाइरस कसरी फैलिरहेको छ, यसको प्रकृति कस्तो छ र संक्रमण रोक्नलाई हाल गरिएका प्रयासका के कस्ता असर छन् भन्नेबारे ध्यान दिइनेछ,’ डब्लुएचओले जनाएको छ । प्रकाशित : फाल्गुन ४, २०७६ १०:०४

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

वुहानबाट उद्धारपूर्व नै प्रतिबद्धता पत्रमा हस्ताक्षर गराइएको थियो, यस्तो छ व्यहोरा [पत्रसहित] 

स्वरूप आचार्य

काठमाडौँ — आइतबार झिस्मिसेमा १७५ जना नेपाली कोरोना संक्रमणको केन्द्र मानिएको चीनको हुबेइ प्रान्तका विभिन्न सहरहरुबाट उद्धार भएर नेपाल आइपुगे । उनीहरुलाई स्वदेश फर्काउनका लागि बेइजिङस्थित नेपाली दूतावासले सम्पूर्ण व्यवस्था मिलाएको थियो ।

उद्धार व्यवस्थापनको जिम्मा लिएको दूतावासले १७५ जना नेपालीलाई सरकारले निश्चित गरेको समावधीभर क्वारेन्टाइनमा बस्न मन्जुर भएको प्रतिबद्धाता पत्रमा समेत हस्ताक्षर गराएको थियो।

उद्धार भएर काठमाडौं आइपुगेका नेपालीले दिएको जानकारी अनुसार दूतावासलाई बुझाइएको प्रतिवद्धता पत्रमा सरकारले तोकेको अवधिभर क्वारेन्टाइन क्षेत्रमा बिनाकुनै अटेर गरी बस्छु र सम्पूर्ण रुपमा सहयोग गर्छु नभए कानुन अनुसारको कारवाही भोग्न तयार छु भन्ने व्यहोरा लेखेर हस्ताक्ष र औंठाछाप गर्न लगाइएको थियो।

उनीहरु सबैले सरकारले खरिपाटीस्थित क्वारेन्टाइन क्षेत्रमा गरेको व्यवस्थाको पालना गर्न मन्जुर भएका छन्।फर्किएका सबै नेपालीले यस्तै व्यहोरा लेखेर दूतावासलाई बुझाएका छन्।

यस्तो छ पत्र :




प्रकाशित : फाल्गुन ४, २०७६ ०९:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×