२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

‘आपराधिक व्यक्ति किन उम्मेदवार ?’

(एजेन्सी)

नयाँदिल्ली — भारतको सर्वोच्च अदालतले आपराधिक पृष्ठभूमिका व्यक्तिलाई किन उम्मेदवार बनाएको भनेर राजनीतिक दललाई प्रश्न गर्दै यसको उचित जबाफ दिन भनेको छ । ‘देशमा भएका विभिन्न निर्वाचनमा के कति व्यक्तिको आपराधिक रेकर्ड छ, त्यो सबै उपलब्ध गराउ,’ बिहीबार जारी एक आदेशमा भनिएको छ– ‘उम्मेदवारका आपराधिक रेकर्ड भए त्यसलाई तत्काल सार्वजनिक गर ।’

कोही उम्मेदवारका त्यस्ता रेकर्ड भए चुनावमा प्रतिस्पर्धा गर्न किन छानियो भन्नेबारे स्पष्टीकरण दिन पनि अदालतको निर्देशन छ । ४८ घण्टाभित्र आपराधिक पृष्ठभूमिका उम्मेदवारबारे पार्टीका वेबसाइट र सामाजिक सञ्जालमा विवरण राख्न भनिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उम्मेदवारमाथिका अभियोगबारे निर्वाचन आयोगलाई जानकारी नदिए अदालतविरुद्धको अवहेलना मुद्दा सामना गर्न चेतावनी पनि दिइएको छ ।


आपराधिक पृष्ठभूमिका व्यक्ति उम्मेदवार बन्ने परिपाटीमा व्यापक वृद्धि भएको भन्दै सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो । आदेशमा राजनीतिक दलले किन ‘स्वच्छ छवि भएका’ उम्मेदवारलाई छान्दैन भनेर प्रश्न पनि गरिएको छ । दाग लागेका व्यक्तिलाई उसको जित्न सक्ने क्षमताका कारण निर्वाचन प्रतिस्पर्धामा उतारेको भनेर स्पष्टीकरण दिइए मान्ने नहुने चेतावनी पनि उच्च न्यायिक निकायले दिएको छ ।


पर्यवेक्षणसम्बन्धी एक संस्था ‘द एसोसिएसन फर डेमोक्र्याटिक रिफर्म्स (एडीआर) का अनुसार भारतमा सन् २०१९ का चुनावमा निर्वाचितमध्ये ४३ प्रतिशत आपराधिक पृष्ठभूमिका छन् । सन् २०१४ मा उक्त संख्या ३४ प्रतिशत थियो ।


त्यसअघि सन् २००४ मा २४ र सन् २००९ मा ३० प्रतिशत निर्वाचित उम्मेवार आपराधिक पृष्ठिभूमिका थिए । एडीआरलाई उल्लेख गर्दै बीबीसीले जनाएअनुसार निर्वाचित व्यक्तिमाथि लागेका केही मुद्दा सामान्य प्रकृति वा राजनीतिक रूपमा प्रेरित भए पनि अधिकांशमाथि चोरी, सरकारी अधिकारीमाथि आक्रमण, हत्या र बलात्कारजस्ता मुद्दा छन् ।


प्रकाशित : फाल्गुन ३, २०७६ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?