कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन थप बजेट माग

एजेन्सी

वासिङ्टन डिसी — मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन अमेरिकी रक्षा मन्त्रालयले थप बजेट माग गरेको छ । पर्खाल लगाउन सैन्य बजेटबाट करिब ४ खर्ब रुपैयाँ वृद्धि गरिदिन देशको संसद्समक्ष मन्त्रालयले माग गरेको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी आप्रवासी र लागूऔषध कारोबारलाई रोक्न अमेरिका र मेक्सिकोबीचको सीमामा पर्खाल लगाउने प्रतिबद्धता यसअघिको चुनावी अभियानमा व्यक्त गरेका थिए ।

मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन थप बजेट माग

उनी अहिले दोस्रो कार्यकालका लागि चुनावी दौडमा छन् । रक्षा मन्त्रालयले पर्खाल लगाउन थप बजेट माग गरेको संसद्ले पुष्टि गरेको छ । बिहीबार प्राप्त मन्त्रालयको पत्रमा राष्ट्रिय सुरक्षा र हतियार कार्यक्रमबाट थप रकम उपलब्ध गराउन उल्लेख भएको उसले जनाएको छ ।


पर्खाल लगाउन थप रकम माग गरेको विषयले संसद्मा विपक्षी डेमोक्र्याटिक दलसँग विवाद हुनसक्ने सम्भावना रोयटर्सले उल्लेख गरेको छ । देशको सैन्य बजेटबाट पर्खाल निर्माण गर्ने भन्ने ट्रम्प नीति खतरनाक र गलत रहेको विपक्षी डेमोक्र्याटिक दलले बताउँदै आएको छ ।


‘राष्ट्रपति ट्रम्पले पुनः एकपटक शक्ति पृथकीकरणको सिद्धान्तलाई अवमूल्यन गरेका छन् र रक्षा स्रोतलाई काम नलाग्ने सीमा पर्खालमा खर्च गर्ने भनेर हाम्रो सुरक्षालाई खतरामा पारिरहेका छन्,’ डेमोक्र्याटिक प्रतिनिधि निता लोवे र पिट भिस्क्लोस्कीले एक संयुक्त विज्ञप्ति जारी गर्दै बताएका छन् ।


अमेरिकी सदनमै प्रतिनिधित्व गर्ने रिपब्लिकन वरिष्ठ नेता म्याक थर्नबेरीले पनि थप बजेट माग गर्ने रक्षा मन्त्रालय (पेन्टागन)को कदम ‘संसद्को संवैधानिक अधिकारको विपरीत भएको’ बताएका छन् ।

पेन्टागनका वरिष्ठ अधिकारीले भने रक्षामन्त्री मार्क एस्परले १७७ माइल अर्थात् २९० किलोमिटर सीमा पर्खाल लगाउन रक्षा बजेटलाई रकमान्तर गरेर ४ खर्ब दिनेबारे स्वीकृति जनाइसकेको बताएका छन् ।


अमेरिका–मेक्सिको सीमामा लगभग ४३५ किलोमिटर पर्खाल लगाउन गत महिनै ट्रम्प प्रशासनले पेन्टागनलाई आदेश दिएको थियो । सो पर्खाल लगाउन ५ खर्ब लाग्ने बताइएको थियो ।


प्रकाशित : फाल्गुन २, २०७६ २१:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?