कोरोना प्रकोप : बिहीबार १२४ को मृत्यु, संक्रमित पुष्टि गर्न नयाँ विधि

एजेन्सी

बेइजिङ — नोवल कोरोना भाइरसका कारण बिहीबार चीनमा १२३ र जापानमा एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहानसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक हजार ३ सय ८३ पुगेको छ । त्यसमध्ये हङकङ, फिलिपिन्स र जापानमा एक-एक जनाको मृत्यु भएको छ ।

ZenTravel

बुधबारको तुलनामा भने बिहीबार मृत्यु हुने र संक्रमितको संख्यामा कमी आएको छ। बुधबार मात्रै डिसेम्बरमा संक्रमण देखिएयताकै सबैभन्दा धेरै २४२ जनाको मृत्यु भएको थियो भने करिब १५ हजार संक्रमित थपिएका थिए।

त्यस्तै बिहीबार चीनमा मात्रै थप चार हजार ८ सय ५४ जनामा संक्रमण देखिएको छ। बिहीबार नै जापानमा ५०, सिंगापुरमा ८, हङकङमा ३, अमेरिकामा २ र मलेसिया र भियतनाममा १-१ जनामा संक्रमण देखिएको छ।

शुक्रबार बिहानसम्म विश्‍वरभर संक्रमितको संख्या ६५ हजार २४७ पुगेको छ । उपचारमा नयाँ विधि लागू गरिएपछि थप संक्रमित पहिचान भएको स्वास्थ्य आयोगका प्रवक्ता मीले बताए । प्रयोगशालामा पुष्टि भएका मात्रै नभई लक्षण र जोखिमका आधारमा ‘क्लिनिकल्ली पुष्टि भएका’ लाई पनि संक्रमितमा राखिएकाले यो संख्या पुगेको उनको भनाइ छ ।

संक्रमित पुष्टि गर्न नयाँ विधि

चीनले नोवल कोरोना संक्रमित पुष्टि गर्न नयाँ विधि लागू गरेको छ । संक्रमितको अवस्था हेरेर वर्गीकरणको नयाँ प्रणाली लागू गरिएको चिनियाँ स्वास्थ्य आयोगले जनाएको छ ।

यसअघि ‘न्युक्लेइक एसिड’ परीक्षणका आधारमा संक्रमित पुष्टि गरिन्थ्यो । नयाँ विधिअनुसार संक्रमणका लक्षण तथा सीटी स्क्यान गर्दा फोक्सोमा असर देखिए मात्र रोग लागेको पुष्टि गरिनेछ । भाइरसको

उद्गमस्थल हुबेई प्रान्तमा लागू गरिएको विधिले संक्रमण निदानको दायरा फराकिलो बनाउने दाबी छ । भाइरस प्रकोप नियन्त्रणमा उचित कार्य गर्न नसकेको भन्दै हुबेई र वुहानका उच्च अधिकारी हटाइएकै दिन मंगलबार संक्रमण पहिचानका लागि नयाँ विधि लागू गर्ने घोषणा गरिएको थियो । संक्रमण नियन्त्रणमा काम गर्न नसकेको भन्दै व्यापक आलोचना भएपछि ती अधिकारी बर्खास्तमा परेका थिए ।

हुबेईले संक्रमितको पहिचान र उपचारलाई तीव्रता दिन संशोधित निदान र उपचार योजना अपनाएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले बताएका छन् । निमोनिया भएका संदिग्धको पहिचान गर्न ‘क्लिनिकल डाइग्नोसिस केस’ नयाँ उपचार प्रणालीमा राखिएकाले जतिसक्दो चाँडो बिरामीबारे जानकारी हुने र संक्रमण पुष्टि भए उपचार गर्न सकिने उनले बताए । नयाँ प्रक्रियाले बिरामीको संख्या र मृत्युदर घटाउन सहयोग पुग्ने प्रवक्ता मीको भनाइ छ ।

वुहानस्थित दुई अस्पतालमा उपचाररत बिरामीको उपचार गर्ने जिम्मेवारीसहित थप दुई हजार ६०० सैन्य स्वास्थ्य अधिकारी पनि खटाइएको चिनियाँ स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् । यसबाहेक चीनका अन्य सहरबाट १८९ स्वास्थ्य टोलीमा रहेका २१ हजार ५६९ अधिकारी पनि हुबेई पठाइएको स्वास्थ्य आयोगले उल्लेख गरेको छ । थप सहयोगका लागि १७ प्रान्तबाट एक हजार चिकित्सक, एक हजार ६८१ नर्स र २१३ विज्ञ बुधबार वुहान पुगेका छन् । त्यसैगरी तीनटा मोबाइल पी थ्री प्रयोगशाला पनि वुहान पुर्‍याइएको छ ।

पर्यटकका गतिविधि नियाल्दै इन्डोनेसिया

इन्डोनेसियाले कोरोना भाइरस संक्रमण भएको हुन सक्ने भन्दै चिनियाँ पर्यटकका गतिविधि नियाल्ने भएको छ ।

स्वास्थ्य मन्त्रालयका अधिकारीले बिहीबार जनाएअनुसार रिसोर्ट टापु बालीबाट फर्कने सबै चिनियाँ पर्यटक निगरानीमा हुनेछन् । २६ करोड जनसंख्या रहेको विश्वकै चौथो ठूलो देश इन्डानेसिया चिनियाँ पर्यटकका लागि लोकप्रिय गन्तव्य हो । इन्डोनेसियामा हालसम्म कोरोना संक्रमित व्यक्ति भेटिएका छैनन् ।

चिनियाँ पर्यटक गएका होटल र अन्य गन्तव्यमा भाइरस परीक्षण भइरहेको तर हालसम्म कही पनि संक्रमणका लक्षण नपाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले चीनमा देखापरेको भाइरस प्रकोपलाई अति सावधानीपूर्वक लिनुपर्ने धारणा राखेको छ । स्विट्जरल्यान्डको जेनेभामा आयोजित एक कार्यक्रममा संगठनका प्रमुख टेड्रोस एड्हानोम घेब्रेयसुसले कोरोना भाइरसबारे भ्रम फैलाइँदा त्यसले प्रकोप न्यूनीकरणमा असर पर्ने भन्दै सावधानीपूर्वक लिन सबैमा आग्रह गरेका हुन् ।

कहाँ कति संक्रमित?

चीन – १३८३ मृत्यु, ६४,६५८ संक्रमित

हङकङ – १ मृत्यु, ५३ संक्रमित

फिलिपिन्स – १ मृत्यु, ३ संक्रमित

जापान - १ मृत्यु, २५२ संक्रमित

संक्रमित मात्रै

सिंगापुर – ५८

थाइल्याण्ड – ३३

दक्षिण कोरिया – २८

ताइवान – १८

अस्ट्रेलिया – १५

मलेसिया – १९

जर्मनी – १६

भियतनाम – १६

अमेरिका – १५

फ्रान्स – ११

मकाओ – १०

बेलायत – ९

क्यानडा – ७

यूएई – ८

इटाली – ३

भारत – ३

रुस – २

श्रीलंका – १

कम्बोडिया – १

फिनल्याण्ड – १

नेपाल – १

स्विडेन – १

स्पेन – १

बेल्जियम – १


प्रकाशित : फाल्गुन २, २०७६ ०८:५९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

हिंसा रोक्न तालिवान सहमत

एजेन्सी

काबुल — अफगानिस्तानको विद्रोही समूह तालिवान तत्कालका लागि हिंसात्मक कारबाही रोक्न सहमत भएको छ । अमेरिकासँगको वार्ताका क्रममा तालिवानले हिंसात्मक घटना रोक्ने तथा स्थायी शान्ति स्थापनाका लागि क्रियाशील रहनेबारे प्रस्ताव गरेको अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले ट्विटरमार्फत जनाएका छन् । 

विदेशमन्त्री पोम्पियोले तालिवानसँगको वार्तामा भएका प्रगतिबारे जानकारी दिन अफगानिस्तानका राष्ट्रपति असरफ घानीलाई टेलिफोनसमेत गरेका छन् । दुई नेताबीच भएको वार्तामा पोम्पियोले घानीलाई विद्रोही समूह तालिबानसँगको वार्तामा उल्लेखनीय प्रगति भएको र चाँडै टुंगोमा पुग्ने विश्वास व्यक्त गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

घानीले वार्ताबारे सकारात्मक प्रतिक्रिया दिँदै भनेका छन्, ‘यो स्वागतयोग्य हो र मलाई खुसी लागेको छ । हाम्रो प्रमुख उद्देश्य मूर्खतापूर्ण रक्तपात अन्त्य गर्नु नै हो ।’ अमेरिका र तालिबानी प्रतिनिधिबीच यसै महिना मात्रै दुईपटक वार्ता भइसकेको छ ।वार्ताका लागि अमेरिकी विशेषदूत जाल्मे खलिलजादले आइतबार तालिवानका सह–संस्थापक मुल्लाह बारादार र अन्य कैयौं नेतासँग भेटवार्ता गरेका थिए ।

उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) प्रतिनिधि, पाकिस्तान र अफगानी नेताहरूसँग बेल्जियमको राजधानी ब्रसेल्स, पाकिस्तानको राजधानी इस्लामाबाद र अफगानिस्तानको राजधानी काबुलको भ्रमणपछि खलिलजाद दोहा फर्किसकेका छन् । राष्ट्रपति घानीले अमेरिकी पहलमा जारी ‘समग्र शान्ति प्रक्रियाप्रति सकारात्मक समर्थन गर्दै अफगानिस्तानले तालिवान अमेरिकाबीचको आगामी चरणका वार्ताको व्यवस्थापन गर्ने’ बताएका छन् ।

समाचार संस्था एएफपीले अमेरिकी अखबार न्युयोर्क टाइम्सलाई उद्धृत गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘तालिवानले एक साता अफगानिस्तानमा हिंसात्मक घटना रोकेको खण्डमा थप वार्ता गर्न आफूहरू तयार रहेको’ बताएका जनाएको छ ।

अमेरिकी प्रस्ताव तालिवान समूहले स्वीकार गरेको पाकिस्तानस्थित तालिवान नेताहरूले जनाएका छन् । फेब्रुअरी ४ मा राष्ट्रपतिको ‘स्टेट अफ द युनियन’ सम्बोधनका क्रममा ट्रम्पले अफगानिस्तानमा तैनाथ अमेरिकी सेना फर्काउने प्रतिबद्धता जनाएका थिए । अफगानिस्तानमा हाल करिब १४ हजार अमेरिकी सेना तैनाथ छन् ।

प्रकाशित : फाल्गुन २, २०७६ ०८:०६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
×