कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्रम्पले देख्‍छन् भनेर धमाधम पर्खाल

एजेन्सी

नयाँदिल्ली — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यसै महिना हुने भारत भ्रमणमा सुकुम्बासी बस्ती नदेखियोस् भनेर अहमदाबादमा धमाधम पर्खाल लगाइँदै छ । 

ट्रम्पले देख्‍छन् भनेर धमाधम पर्खाल

ट्रम्प दुईदिने भ्रमणका लागि फेब्रुअरी २४ मा भारत आउँदै छन् । ह्युस्टनमा गत सेप्टेम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘हाउडी मोदी’ भन्दै स्वागत गरेका ट्रम्पको स्वागतमा अहमदाबाद रंगशालामा ‘केम छो ट्रम्प (हाउ आर यु, ट्रम्प) कार्यक्रम हुने तय गरिएको छ ।


कार्यक्रममा सहभागी हुन ट्रम्प हिँड्ने सडकखण्डमा पर्ने सुकुम्बासी बस्ती छोप्न पर्खाल लगाउन थालिएको हो । मंगलबार ह्वाइटहाउसमा नरेन्द्र मोदीको भनाइ उद्धृत गर्दै ट्रम्पले कार्यक्रममा हजारौं मानिस सहभागी हुने बताइसकेका छन् । पर्खालले आफ्ना घर छेकिने भएपछि सुकुम्बासी बस्तीमा बसोबास गर्नेले गरिबी छोप्न सरकारले करदाताको पैसा सखाप पारिरहेको आरोप लगाएका छन् ।


अहमदाबाद प्रधानमन्त्री मोदीको गृहनगर गुजरातको ठूलो सहर हो । ‘अहमदाबाद विमानस्थलबाट कार्यक्रमस्थल जाँदा ट्रम्पले सुकुम्बासी बस्ती नदेखूँन् भन्ने सरकार चाहन्छ,’ पर्खाल निर्माण गरिरहेका ठेकेदारले समाचार संस्था रोयटर्ससँग भने, ‘चाँडोभन्दा चाँडो पर्खाल निर्माण गर्न भनिएको छ । त्यसैले रातदिन गरेर १५० जना कामदार काममा लगाइएको छ ।


लाज छोप्न पर्खाल लगाइएको भन्दै सामाजिक सञ्जाललगायतमा सरकारी कदमको चौतर्फी आलोचनासमेत भएको छ । सरकारका वरिष्ठ अधिकारीले भने सुकुम्बासी क्षेत्रलाई छोप्न नभई सुरक्षाका कारणले पर्खाल लगाउन थालिएको जिकिर गरेका छन् । उच्चस्तरीय विदेशी पाहुना आउँदा सहरलाई ‘सुन्दर र सफा’ देखाउने अभियानको एक हिस्साअन्तर्गत पर्खाल निर्माण गरिएको उनीहरूले स्विकारेका छन् । जेजस्तो कारण दाबी गरिए पनि ४०० मिटर लम्बाइ र सात फिट उचाइको पर्खालले अनुमानित ८०० परिवार रहेको बस्तीलाई ट्रम्पको नजरबाट लुकाउनेछ ।


दुई देशबीच व्यापारसम्बन्धी केही खटपट चलिरहेकै बेला ट्रम्प भारत आउन लागेका हुन् । राष्ट्रपतीय निर्वाचनको अभियानमा रहेका ट्रम्पले भारत भ्रमण गरेर अमेरिका बस्ने भारतीय मूलका अमेरिकी नागरिकको सहानुभूति प्राप्त गर्न खोजेको हुनसक्ने राजनीतिक विश्लेषक बताउँछन् ।

प्रकाशित : फाल्गुन २, २०७६ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?