बेलायती अर्थमन्त्री राजीनामा दिन बाध्य

एजेन्सी

लन्डन — बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो मन्त्रिपरिषद्का एक सदस्यलाई राजीनामा दिन बाध्य बनाएका छन् । आफूले लिएको नीतिलाई सहयोग नगरेको भन्दै उनले अर्थमन्त्री साजिद जाविदलाई पद त्याग्न भनेका हुन् । 

बेलायती अर्थमन्त्री राजीनामा दिन बाध्य

जोनसन युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) पछि आफूले तय गरेका नीति लागू गर्न सरकारमाथि आफ्नो नियन्त्रणलाई थप मजबुत बनाउन खोजिरहेका छन् । आफ्नो योजनामा हस्तक्षेप नहोस् भन्ने उनले चाहेका थिए । त्यही योजनाअन्तर्गत केही अधिकारी फेरबदलको प्रयास गरेपछि अर्थमन्त्रीले असहमति व्यक्त गरेका थिए ।


आफ्नो योजनामा सहयोग नगरेको भन्दै जोनसनले मार्ग प्रशस्त गरिदिन अर्थमन्त्री जाविदलाई भने । प्रधानमन्त्रीको निर्देशनपछि जाविदले राजीनामा दिएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । तत्काल सरकारका वरिष्ठ मन्त्रीलाई परिवर्तन नगर्ने र केहीलाई मात्रै परिवर्तन गर्ने तयारी प्रधानमन्त्री जोनसनको थियो ।


अर्थमन्त्री जाविदको ठाउँमा जोनसनले उनका सहायकमन्त्री रिसी सुनकलाई ल्याएका छन् । उनी जोनसन समर्थक मानिन्छन् । उनलाई प्रायः सरकारको नीति सञ्चारमाध्यमसम्म पुर्‍याउनअघि सार्ने गरिन्छ । कुनै बेला इन्भेस्टमेन्ट बैंक गोल्डम्यान स्याकमा काम गरेका सुनकले भारतीय अर्बपतिकी छोरी विवाह गरेका छन् । कतिपय कन्जरभेटिभ्सले सुनकलाई ब्रेक्जिटपछिको बेलायतबारे जोनसनको एजेन्डामा सजिलै समर्थन गर्ने पात्रका रूपमा पनि लिएका छन् । पूर्व ब्रेक्जिटमन्त्री डेभिड जोन्सले सुनकलाई ‘धेरै तेजिला’ र प्रधानमन्त्रीको ‘उत्कृष्ट छनोट’ का रूपमा व्याख्या गरेका छन् ।


जोनसनले आफ्ना विश्वासपात्रलाई नयाँ अर्थमन्त्रीमा पाएका छन् । सुनक अर्थमन्त्री नियुक्त भएसँगै बेलायती मुद्राको मूल्यमा वृद्धि भएको छ । उनको नियुक्तिले अर्को महिना जारी हुने बेलायती बजेटका लागि उचित मार्ग तय गरेको लगानीकर्ताले बताएका छन् । जोनसनले ब्रेक्जिटपछि देशको संरचनामा व्यापक फेरबदल गर्न चाहेको बुझिएको छ । उनले क्षमतावान् नयाँ सदस्यलाई राज्यका विभिन्न निकायमा ल्याउन लागेको चर्चा पनि बेलायती राजनीतिमा चलेको छ ।


कतिपय आलोचकले भने अर्थमन्त्रीको राजीनामा सल्लाहकार फेरबदलको विषयसँगै आएको हुन सक्ने जनाएका छन् । ‘जोनसनले अर्थमन्त्रीलाई राजीनामा दिन बाध्य बनाएका छन्,’ जाविद निकट स्रोतले जनाएको छ । हालका सल्लाहकार डोमिनिक कमिंग्सलाई हटाएर प्रधानमन्त्रीको डाउनिङ स्ट्रिट कार्यालयका सल्लाहकार ल्याउन जोनसनले भनेको तर त्यसमा उनले समर्थन नगरेको स्रोतले उल्लेख गरेको छ– ‘कुनै पनि स्वाभिमानी मन्त्रीले त्यस्तो प्रस्ताव स्वीकार्न नसक्ने अर्थमन्त्रीले प्रधानमन्त्रीसँग भने ।’ जाविदले आफ्ना सल्लाहकारले धेरै राम्रो काम गरेकाले नहटाउने जोनसनसँग बताएका थिए ।

प्रकाशित : फाल्गुन २, २०७६ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?