१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नोवल कोरोना भाइरस संक्रमित पुष्टि गर्न नयाँ विधि

एजेन्सी

काठमाडौँ — चीनले नोवल कोरोना संक्रमित पुष्टि गर्न नयाँ विधि लागू गरेको छ । संक्रमितको अवस्था हेरेर वर्गीकरणको नयाँ प्रणाली लागू गरिएको चिनियाँ स्वास्थ्य आयोगले उल्लेख गरेको छ ।

नोवल कोरोना भाइरस संक्रमित पुष्टि गर्न नयाँ विधि

यसअघि ‘न्युक्लेइक एसिड’ परीक्षणका आधारमा संक्रमित पुष्टि गरिन्थ्यो । नयाँ विधिअनुसार संक्रमणका लक्षण तथा सीटी स्क्यान गर्दा फोक्सोमा असर देखिए मात्र रोग लागेको पुष्टि गरिनेछ । भाइरसको उद्गमस्थल हुबेई प्रान्तमा लागू गरिएको विधिले संक्रमण निदानको दायरा फराकिलो बनाउने दाबी गरिएको छ । भाइरस प्रकोप नियन्त्रणमा उचित कार्य गर्न नसकेको भन्दै हुबेई र वुहानका उच्च अधिकारी हटाइएकै दिन मंगलबार संक्रमण पहिचानका लागि नयाँ विधि लागू गर्ने घोषणा गरिएको थियो । संक्रमण नियन्त्रणमा काम गर्न नसकेको भन्दै व्यापक आलोचना भएपछि ती अधिकारी बर्खास्त गरिएका थिए ।


हुबेईले संक्रमितको पहिचान र उपचारलाई तीव्रता दिन संशोधित निदान र उपचार योजना अपनाएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले दिएका छन् । निमोनिया भएकाको पहिचान गर्न ‘क्लिनिकल डाइग्नोसिस केस’ नयाँ उपचार प्रणालीमा राखिएकाले जतिसक्दो चाँडो बिरामीबारे जानकारी हुने र संक्रमण पुष्टि भए उपचार गर्न सकिने उनले बताए । नयाँ प्रक्रियाले बिरामीको संख्या र मृत्युदर घटाउन सहयोग पुग्ने प्रवक्ता मीको भनाइ छ ।


वुहानस्थित दुई अस्पतालमा उपचाररत बिरामीको उपचार गर्ने जिम्मेवारीसहित थप दुई हजार ६०० सैन्य स्वास्थ्य अधिकारी पनि खटाइएको चिनियाँ स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् । यसबाहेक चीनका अन्य सहरबाट १८९ स्वास्थ्य टोलीमा रहेका २१ हजार ५६९ अधिकारी पनि हुबेई पठाइएको स्वास्थ्य आयोगले उल्लेख गरेको छ । थप सहयोगका लागि १७ प्रान्तबाट हजार चिकित्सक, एक हजार ६८१ नर्स र २१३ विज्ञ बुधबार वुहान पठाइएको छ । त्यसैगरी तीनटा मोबाइल पी थ्री प्रयोगशाला पनि वुहान पुर्‍याइएको छ ।

प्रकाशित : फाल्गुन १, २०७६ २१:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?