कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

अमेरिकी राष्ट्रपतीय चुनाव : न्यु ह्याम्पसायरमा स्यान्डर्स विजयी

एजेन्सी

न्यु ह्याम्पसायर — अमेरिकाको विपक्षी दल डेमोक्र्याटिक तर्फबाट राष्ट्रपतिका आकांक्षी बर्नी स्यान्डर्स न्यु ह्याम्पसायर राज्यमा भएको प्राथमिक (प्राइमरी) चुनावमा विजयी भएका छन् । 

अमेरिकी राष्ट्रपतीय चुनाव : न्यु ह्याम्पसायरमा स्यान्डर्स विजयी

डेमोक्र्याटिक दलको राष्ट्रपति उम्मेदवार छनोटका लागि निकै महत्त्वपूर्ण राज्यको नतिजाले अर्का आकांक्षी तथा पूर्वउपराष्ट्रपति जो बाइडेनलाई नराम्रो धक्का लागेको छ । न्यु ह्याम्पसायरको चुनावी प्रतिस्पर्धामा पिट बुटिगिग दोस्रो र एमी क्लोबुचर तेस्रो भए । राष्ट्रपति उम्मेदवारका दाबेदार ठानिएका बाइडेन चौथो र म्यासाच्युसेट्सका सिनेटर एलिजाबेथ वारेन पाँचौं भए । पार्टीमा प्रगतिशील धारको नेतृत्व गर्ने स्यान्डर्सले सन् २०१६ को प्रतिस्पर्धामा पनि हिलारी क्लिन्टनलाई पराजित गरेका थिए । डेमोक्र्याटिकका तर्फबाट उम्मेदवार बनेकी क्लिन्टन वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पसँग राष्ट्रपतिमा पराजित भएकी थिइन् ।


नतिजा आफ्नो पक्षमा आएपछि स्यान्डर्सले ‘राष्ट्रपति डोनाल्ड ट्रम्पको अन्त्य निश्चित भएको प्रतिक्रिया दिएका छन् । ‘यो विजय डोनाल्ड ट्रम्पको अन्त्यको सुरुवात हो,’ राज्य भर्मोन्टका सिनेटर स्यान्डर्सले भने, ‘ठूलो जितका लागि न्यु ह्याम्पसायरका जनतालाई धन्यवाद दिन चाहन्छु ।’


अमेरिकामा न्यायपूर्ण कर प्रणाली र स्वास्थ्य सेवा सुधारका कार्यलाई कसैले रोक्न नसक्ने उनको दाबी छ । बर्नीको भनाइसँगै राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै ‘राम्रै नतिजा ल्याएका बुटिगिगले बर्नीको पागलपनलाई चुनौती दिने’ बताएका छन् । ७८ वर्षीय स्यान्डर्स न्यु ह्याम्पसायरमा विजय हुने लगभग निश्चित थियो । तर बुटिगिगले कडा चुनौती दिने अनुमान भने कसैले गरेका थिएनन् । बुटिगिगको चुनावी अभियान दलका सदस्यहरू न्यु ह्याम्पसायरको नतिजाबाट निकै उत्साहित भएका जनाइएको छ । आयोवामा बुटिगिगले झिनो मतान्तरमा स्यान्डर्सलाई पराजित गरेका थिए । बाइडेनले न्यु ह्याम्पसायरबाट उल्लेख्य मत नपाउने अनुमान भने यसअघि नै गरिएको थियो । तर उनले सोचेभन्दा पनि निकै कम अर्थात् ८ प्रतिशत हाराहारीमा मात्र मत पाएकाले उनी राष्ट्रपति उम्मेदवार हुन कठिन देखिएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।


प्रविधि उद्यमी एन्ड्रयु याङ र कोलोराडो राज्यका सिनेटका माइकल बेनेटले भने राष्ट्रपतिको दौड परित्याग गरेको घोषणा गरेका छन् । ‘तपाईंलाई थाहा छ, म गणितको विद्यार्थी हुँ र ह्याम्पसायरको मतसंख्याबाट यो स्पष्ट छ कि हामी यो दौड जित्न सक्दैनौं,’ समर्थकलाई सम्बोधन गर्दै याङले भने ।


पूर्वउपराष्ट्रपति बाइडेनको समूहमा रहेका अर्बपति व्यापारी एवं न्युयोर्कका पूर्वमेयर माइकल ब्लुमबर्ग पनि मार्च ३ मा हुने अर्को प्राथमिक चुनावमा सहभागी हुने तयारीमा छन् ।

प्रकाशित : फाल्गुन १, २०७६ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?