कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

तालिवान प्रवक्ता हिरासतबाट भागे

एजेन्सी

इस्लामाबाद — हिरासतमा रहेका पाकिस्तानी तालिवान प्रवक्ता फरार भएका छन् । लगभग तीन वर्षअघि सरकारी सुरक्षा फौजसामु आत्मसमर्पण गरेका तेहरिक–ए–तालिवान पाकिस्तान (टीपीपी) का प्रवक्ता एसानुल्लाह एहसान हिरासतबाट भागेको पाकिस्तानी अधिकारीले आइतबार बताएका हुन् ।

तालिवान प्रवक्ता हिरासतबाट भागे

आफूले हिरासत तोडेर भागेको र हाल टर्कीमा रहेको भन्दै एहसानले अडियो सार्वजनिक गरेपछि मात्रै पाकिस्तानी सुरक्षा फौजले यसको पुष्टि गरेको हो । पाकिस्तानी सुरक्षा फौजले उनी टर्कीमा रहेको भन्ने विषय भने पुष्टि गरेको छैन । एहसान हिरासतबाट कसरी भागे भन्नेबारे पनि केही बताइएको छैन । पाकिस्तान उच्च सैनिक स्रोतका अनुसार तालिबान लडाकु पहिचान गर्न र उनीहरूको अवस्था पत्ता लगाउने जानकारी लिनका लागि एहसान महत्त्वपूर्ण स्रोत थिए ।


टीपीपीले गरेका आक्रमणको जिम्मेवारी एहसानले लिने गरेका थिए । उनले सन् २०१६ मा लाहोरस्थित पार्कमा गरेको बम विस्फोट र शैक्षिक अभियन्ता एवं नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईमाथि गरिएको आक्रमणलगायत घटनाको जिम्मेवारी लिएका थिए ।


सन् २०१७ मा प्रशासनसमक्ष आत्मसमर्पण गरेका उनले हिरासतमै रहँदा पाकिस्तानी टेलिभिजनमा अन्तरवार्ता पनि दिएका थिए । देशमा वर्षौंसम्म रक्तपातपूर्ण अवस्था सिर्जना गरेका व्यक्तिलाई प्रशासनले टेलिभिजनमा अन्तरवार्ता दिन लगाएको भन्दै त्यसबेला पाकिस्तानभर आक्रोश व्यक्त गरिएको थियो । तालिवान लडाकुविरुद्धको लडाइँमा एहसानले सरकारलाई महत्त्वपूर्ण सहयोग र जानकारी दिएको भन्दै पाकिस्तानी सुरक्षा अधिकारी प्रतिरक्षामा उत्रिएका थिए ।


पाकिस्तान लामो समयदेखि इस्लामिक अतिवादविरुद्ध लडिरहेको छ । सन् २००७ मा टीपीपीले हिंसाको सुरुआत गरेदेखि पाकिस्तानमा हजारौं नागरिक र सुरक्षा अधिकारीको ज्यान गइसकेको छ ।

प्रकाशित : माघ २७, २०७६ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?