कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कोरोना संक्रमणले दुई गैरचिनियाँको मृत्यु, २०० मिलियन युआन खर्च गरिने

(एजेन्सी)

बेइजिङ — नोवल कोरोना भाइरस संक्रमणका कारण पहिलोपटक गैरचिनियाँ नागरिकको मृत्यु भएको छ ।

एक अमेरिकी नागरिकको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको अमेरिकी अधिकारीले शनिबार पुष्टि गरेका छन् । जापानले पनि भाइरसकै कारण आफ्ना एक नागरिकको मृत्यु भएको जनाएको छ । 

कोरोना संक्रमणले दुई गैरचिनियाँको मृत्यु, २०० मिलियन युआन खर्च गरिने

भाइरसको उद्गमस्थल हुबेई प्रान्तको राजधानी वुहानमा गत बिहीबार एक ६० वर्षीय अमेरिकीको मृत्यु भएको बेइजिङस्थित अमेरिकी दूतावासका प्रवक्ताले बताएका छन् । ‘उनको निधनप्रति हामी गहिरो शोक व्यक्त गर्दछौं,’ प्रवक्तालाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले भनेको छ, ‘पारिवारिक गोपनीयताको सम्मान गर्दै थप विवरण दिन हामी असमर्थ छौं ।’


निमोनिया देखिएपछि वुहानस्थित अस्पतालमा भर्ना भएका ६० वर्षको हाराहारीकै एक जापानी नागरिकको कोरोना भाइरस संक्रमणजस्तै लक्षणका कारण मृत्यु भएको जापानी विदेश मन्त्रालयले उल्लेख गरेको छ । ‘जापानी नागरिकलाई कुन रोग लागेको थियो भन्ने ठ्याक्कै भन्न नसकिएकाले निमोनियाका कारण मृत्यु भएको भनिएको छ,’ चिनियाँ चिकित्सा अधिकारी जनाएका छन् ।


गत वर्षको अन्त्यतिर चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणका कारण हालसम्म चिनियाँ नागरिकका मात्रै ज्यान गएको थियो । यसअघि मुख्यभूमि चीनबाहिर हङकङमा एक र फिलिपिन्समा अर्का एक जनाको कोरोना भाइरसका कारण मृत्यु भएको भए पनि ती दुवै चिनियाँ नागरिकै थिए । बिहीबार मध्याह्नसम्म चीनमा १७ विदेशीलाई क्वारेन्टाइनमा राखेर उपचार भइरहेको सरकारको पछिल्लो तथ्यांकले जनाएको छ । चीनबाहिर २७ देशमा संक्रमण फैलिएको र ३ सय ३० भन्दा बढी संक्रमित रहेको विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको छ । संक्रमितको संख्या चीनमा मात्रै ३१ हजार ७ सयभन्दा बढी रहेका स्वास्थ्य अधिकारीले बताएका छन् ।


कोरोना भाइरसका कारण चीनमा मात्रै शनिबारसम्ममा ७ सय २२ जनाको ज्यान गइसकेको स्वास्थ्य अधिकारीले बताएका छन् । मृतकको संख्यामा भइरहेको वृद्धिलाई हेर्ने हो भने सन् २००२–२००३ मा फैलिएको ‘सार्स’ को महामारीलाई यसले उछिन्ने देखिएको छ । सार्सका कारण त्यतिबेला ७ सय ७४ जनाको मृत्यु भएको थियो ।


हङकङमा नयाँ नियम

हङकङले मुख्यभूमि चीनबाट आउने सबैलाई दुई साता अनिवार्य क्वारेन्टाइनमा राख्ने भएको छ । अब चीनबाट हङकङ पुग्ने सबैले होटलका कोठा वा सरकार सञ्चालित केन्द्रमा अलग्गै बस्नुपर्नेछ । हङकङवासी आफ्नै घरभित्र ‘आइसोलेसन’ मा बस्न सक्नेछन् । शनिबारबाट लागू हुने गरी ल्याइएको नयाँ नियम उल्लंघन गर्नेलाई जरिवाना र जेल सजाय तोकिएको हङकङका अधिकारीले बताएका छन् ।


‘फ्रेन्च स्की रिसोर्ट’ मा संक्रमण

फ्रेन्च स्की रिसोर्टमा ५ जना बेलायती नागरिकमा कोरोना भाइरस संक्रमण देखिएको छ । दक्षिणपूर्वी फ्रान्समा रहेको उक्त रिसोर्टको एउटै लजमा बसेका ५ जनामा संक्रमण भेटिएको स्वास्थ्य अधिकारीले बताएका छन् ।

५ जनामध्ये एक भर्खरै सिंगापुरबाट फर्किएका थिए । भाइरस संक्रमण पाइए पनि उनीहरूको अवस्था चिन्ताजनक भने नभएको अधिकारीले बताएका छन् । विद्यालय बिदा रहेको अवस्थामा बेलायतका धेरै नागरिक उक्त रिसोर्टमा पुगेकाले अन्यमा पनि संक्रमण फैलिएको हुन सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ ।


२०० मिलियन युआन खर्च

चीनले कोरोना भाइरस संक्रमितको उपचारका लागि २०० मिलियन युआन खर्च गर्ने भएको छ । भाइरस संक्रमणका गम्भीर बिरामीको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले चीनका शीर्ष आर्थिक योजनाकारले केन्द्रीय बजेटबाट शुक्रबार २०० मिलियन युआन (लगभग २८.६७ मिलियन अमेरिकी डलर) खर्च गर्ने निर्णय गरेको सिन्ह्वाले उल्लेख गरेको छ ।


कोरोना भाइरस फैलिएको हुबेई प्रान्तस्थित तीनवटा अस्पतालमा गम्भीर प्रकृतिका संक्रमितको उपचारका लागि एकाई बनाउन बजेट पठाइएको राष्ट्रिय विकास तथा सुधार आयोगले जनाएको छ । गम्भीर अवस्थामा रहेका बिरामीको उपचारमा सहयोग पुर्‍याउने हेतुले ‘नन–इन्भेसिन भेन्टिलेटर र ईसीजी मनिटर’ सहित मुख्य मेडिकल उपकरण किन्नका लागि बजेट पठाइएको हो । आयोगले भाइरससँग लड्न भविष्यमा गर्ने लगानीमा मेडिकल सामग्री र क्वारेन्टाइन सुविधालाई प्राथमिकतामा राख्ने पनि जनाएको छ ।


ड्रोन प्रयोग

नोवल कोरोना भाइरसको संक्रमण रोकथामका लागि चीनको दक्षिणपश्चिमी युनान प्रान्तको राजधानी कुन्मिङमा शनिबार ड्रोन प्रयोग गरी हावामा किटाणुनाशक पदार्थ छरिएको छ ।


एकपटकमा १० लिटर किटाणुनाशक पदार्थ बोकेको उक्त ड्रोनले करिब ८ हजार वर्गमिटरमा किटाणुशोधन गरेको अधिकारीले बताएका छन् । हुबेई प्रान्तबाट ल्याइएका पर्यटक राखिएको क्षेत्रमा ड्रोनमार्फत किटाणुनाशक पदार्थ छरिएको युनान सेन्ये एभियसन टेक्नोलोजी कम्पनीले जनाएको छ ।


मानवरहित ड्रोनको प्रयोगले मानिसबाट मानिसमा संक्रमण सर्न सक्ने जोखिम कम हुने र शीघ्र काम हुने उसको भनाइ छ । ड्रोनको प्रयोगले किटाणुनाशक पदार्थ छर्न सजिलो हुने भएकाले भविष्यमा विद्यालयलगायतका मुख्य क्षेत्रमा यसको प्रयोगलाई निरन्तरता दिइने स्थानीय स्वास्थ्य अधिकारीले बताएका छन् ।

प्रकाशित : माघ २६, २०७६ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?