कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

ट्रम्पविरुद्ध बयानदिने बर्खास्त

(एजेन्सी)

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूमाथिको महाअभियोग प्रस्तावविरुद्ध बयान दिएका दुई अधिकारीलाई बर्खास्त गरेका छन् । 

ट्रम्पविरुद्ध बयानदिने बर्खास्त

ट्रम्प निसानामा पर्नेमा युरोपेली संघका लागि अमेरिकी राजदूत गोर्डन सन्डल्यान्ड र युक्रेनमा मामिलाका वरिष्ठ विज्ञ लेफ्टिनेन्ट कर्णेल अलेक्जेन्डर भिन्डम्यान छन् । दुवैजनाले ट्रम्पमाथिको महाअभियोगमा बयान दिएका थिए । राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ वकिल तथा भिन्डम्यानका जुम्ल्याहा भाइ येभजेनी भिन्डम्यानलाई पनि शुक्रबार सैन्य विभागमा फिर्ता पठाइएको थियो ।


अमेरिकी तल्लो सदन ‘हाउस अफ रिप्रेजेन्टेटिभ्स’ मा ट्रम्पमाथिको महाअभियोग पारित भएको थियो । रिपब्लिकन पार्टीको बहुमत रहेको माथिल्लो सदन ‘सिनेट’ बाट भने गत बुधबार उनले सफाइ पाएका थिए । महाअभियोग प्रस्तावमाथि सिनेटमा मतदान भएको थियो, जुन आफैंमा ऐतिहासिक क्षण थियो । ट्रम्पविरुद्ध आफ्ना सम्भावित डेमोक्र्याटिक प्रतिद्वन्द्वी जो बाइडनविरुद्ध अनुसन्धान गर्न युक्रेनलाई दबाब दिएको र आफूविरुद्धको अभियोगमा जाँचबुझ गर्ने संसद्लाई असहयोग गरेको अभियोग थियो । दुवैमा अभियोगमा उनले सफाइ पाएका थिए ।


महाअभियोगमा सफाइ पाएलगत्तै ट्रम्पले कर्मचारीतन्त्रमा व्यापक परिवर्तनको चाहना राखेको उनी निकट स्रोतलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।


गोर्डन सन्डल्यान्डले आफूलाई बर्खास्त गरेको पुष्टि गरेका छन् । ‘राष्ट्रपतिले तत्काल लागू हुने गरी युरोपेली संघका लागि अमेरिकी राजदूतबाट मलाई फिर्ता बोलाउन चाहेको भन्ने जानकारी मैले प्राप्त गरेको छु,’ उनका वकिलले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ । उनले सेवा गर्ने मौका दिएकोमा राष्ट्रपति ट्रम्प, निरन्तरको समर्थनप्रति विदेशमन्त्री माइक पोम्पियो र युरोपेली संघ कार्यालयमा काम गर्ने व्यवसायिक तथा समर्पित कर्मचारीप्रति आभार समेत प्रकट गरेका छन् । सन्डल्यान्डलाई हटाइनुभन्दा केही घण्टा अगाडि शुक्रबार लेफ्टिनेन्ट कर्णेल अलेक्जेन्डर भिन्डम्यानलाई ह्वाइट हाउसबाट निष्काशन गरिएको थियो । उनका परामर्शदाता डेभिड प्रेसम्यानले जारी गरेको विज्ञप्तिमा ‘देश र राष्ट्रपतिको सेवा गरेका भिन्डम्यानलाई ह्वाइट हाउसबाट निकालिएको’ उल्लेख छ । ‘भिन्डम्यानलाई सत्य बोलेकामा पद छोड्न भनिएको हो । सत्यप्रति उनको प्रतिबद्धता र सम्मानले शक्तिशाली पदमा बसेकालाई त्रस्त बनाइदियो,’ विज्ञप्तिमा भनिएको छ– ‘सत्यतामा अडिग हुँदा उनको जागिर र गोपनियताको अन्त्य भयो ।’ संसारको सबैभन्दा शक्तिशाली व्यक्तिको बदला लिने निर्णयका कारण भिन्डम्यान पदमुक्त भएको विज्ञप्तिमा उल्लेख छ ।


महाअभियोगमा आफूविरुद्ध अभिव्यक्ति दिने अन्य कर्मचारीप्रति पनि ट्रम्प रुष्ट रहेकाले उनीहरू पनि निष्काशनमा पर्न सक्ने अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । गत नोभेम्बरमा संसद्समक्ष बयान दिँदै सन्डल्यान्डले युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीको ह्वाइट हाउस भ्रमण नै राष्ट्रपति ट्रम्पलाई राजनीतिक रूपमा फाइदा हुने खालको अनुसन्धान गर्ने शर्तमा भएको खुलासा गरेका थिए । त्यसबेला सन्डल्यान्ड ट्रम्पको प्रत्यक्ष निर्देशनमा उनका व्यक्तिगत वकिल रुडी गिउलानीसँगै युक्रेनी नीतिमा काम गरिरहेका थिए ।


लेफ्टिनेन्ट कर्णेल भिन्डम्यानले पनि गत नोभेम्बर मै संसद्मा बयान दिएका थिए । उनले गत जुलाई २५ मा राष्ट्रपति ट्रम्पले युक्रेनी समकक्षीसँग असहज तरिकाको फोनवार्ता गरेको सुनेको बताएका थिए । त्यही फोनवार्ताको विषयले ट्रम्पले शक्तिको दुरुपयोग र संसद् अवरुद्ध गरेको अभियोगमा सदनमा महाअभियोगको सामना गर्नुपरेको थियो ।

प्रकाशित : माघ २६, २०७६ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?