ट्रम्पले हात मिलाएनन्, पेलोसीले च्यातिदिइन् भाषण

एजेन्सी

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र हाउस अफ् रेप्रिजेन्टेटिभ्सकी सभामुख नान्सी पेलोसीबीचको कलह फेरि एक पटक सतहमा आएको छ ।

ट्रम्पले हात मिलाएनन्, पेलोसीले च्यातिदिइन् भाषण

मंगलबार संसद्‍मा राष्ट्रपति ट्रम्पले ‘स्टेट अफ् युनियन स्पीच’दिएका थिए । ट्रम्पले सम्बोधन सकेर फर्कने क्रममा सभामुखले हात अघि बढाइन् । तर ट्रम्पले हात मिलाउन चाहेनन् । ट्रम्पको सम्बोधनमा समर्थन जनाउँदै रिपब्लिकन सांसद्हरुले ताली बजाइरहेका थिए । सभामुख पेलोसीले ट्रम्पको सम्बोधनको कपी धुजाधुजा पारेर च्यातिदिइन् ।

त्यसो त सभामुख पेलोसीले आफ्नो स्वागत भाषणमा राष्ट्रपति ट्रम्पका लागि ‘डिस्टिंक्ट अनर’ शब्द प्रयोग गरिनन् । चार महिना पहिले ह्वाइट हाउसमा भएको टकरावपछि सभामुख पेलोसी र राष्ट्रपति टम्प आमनेसामने भएका हुन् । ट्रम्पको सम्बोधनको प्रति च्यातेको विषयमा पत्रकारहरुले राखेको जिज्ञासामा सभामुख पेलोसीले ‘विकल्पलाई मध्यनजर गर्दा यो विनम्र प्रतिक्रिया’ भएको जवाफ दिइन् ।

तस्बिर : रोयटर्स

झन्डै ८० मिनेट लामो आफ्नो सम्बोधनमा राष्ट्रपति ट्रम्पले आफूविरुद्धको महाभियोग प्रक्रियाबारे भने केही बोलेनन् । बरु उनले इरानी सैन्य कमाण्डर कासिम सुलेमानीमाथिको कारबाहीदेखि मेक्सिकोको सीमामा पर्खाल लगाएको चर्चासम्म गर्न भ्याएका थिए ।

राष्ट्रपति ट्रम्पले आगामी चुनावलाई मध्यनजर गर्दै ‘ग्रेट अमेरिकन कमब्याक’ को चर्चा पनि गर्न भ्याए । ट्रम्पले आफ्नो कार्यकालको उपलब्धिको फेहरिस्त सुनाइँरहँदा रिपब्लिकन सांसद्हरुले ‘स्ट्यान्डिङ ओभेसन’ दिएका थिए । तर केही डेमोक्र्याटिक सांसद्हरु भने ट्रम्पले भाषण गरिरहँदा सदनबाट निस्केका थिए । डेमोक्र्याट सांसद् जिम म्याकगोभर्नले ट्रम्पको भाषण चुनावी र्यालीजस्तै भएको प्रतिक्रिया दिए । ‘उनले राष्ट्रपतिको जस्तो व्यवहार नै देखाउँदैनन्, उनी सम्मानका हकदार नै छैनन्,’ म्याकगोभर्नले भने ।

तस्बिर : रोयटर्स

राष्ट्रपति ट्रम्प ‘दक्षिणपन्थी नायक’ बन्न खोजेको पनि विपक्षी सांसद्ले आरोप लगाएका छन् । अमेरिकी सञ्चारमाध्यम सीएनएनले राष्ट्रपति ट्रम्पको भाषण आधुनिक युगकै सबैभन्दा ध्रुविकृत भाषण भएको बताएको छ ।

ट्रम्पका झुट

सदनमा भाषणका क्रममा राष्ट्रपति ट्रम्पले धेरै गलत तथ्यांक प्रस्तुत गरेको सीएनएनले जनाएको छ । ट्रम्पले आफ्नो कार्यकालमा ग्याँस र तेल उत्पादनमा पहिलो पटक विश्वकै नम्बर एक देश बनेको दाबी गरे । तर अमेरिकी सरकारकै इनर्जी इन्फर्मेसन एडमिनिस्ट्रेसनका अनुसार सन् २०१२ मा बाराक ओबामाको कार्यकालमै तेल र ग्याँस उत्पादनमा अमेरिका शीर्ष स्थानमा पुगेको थियो ।

त्यस्तै ट्रम्पले आफ्नै कार्यकालमा फरक क्षमता भएका अमेरिकीहरुको बेरोजगारी दर सबैभन्दा कम भएको पनि गलत तथ्यांक पेस गरेका थिए । त्यस्तै उनले मेक्सिकोको सीमामा पर्खाल बनाएको पर्खालका बारेमा पनि तोडमरोड गरेर तथ्यांक पेस गरेका थिए ।

प्रकाशित : माघ २२, २०७६ १४:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?