राष्ट्रपति उम्मेदवार चयनमा प्रविधिले धोका दिएपछि...

एजेन्सी

आयोवा — अमेरिकी डेमोक्र्याटिक पार्टीको आयोवा राज्यमा भएको राष्ट्रपति चयनको प्रारम्भिक चुनावी नतिजा सार्वजनिक कार्यक्रम प्राविधिक समस्याका कारण स्थगन भएको छ । मोबाइल एपको रिपोर्टिङ प्रणालीमा देखिएको समस्याले पार्टीका नेता एवं समर्थकहरू निराश भएका छन् ।

राष्ट्रपति उम्मेदवार चयनमा प्रविधिले धोका दिएपछि...

आयोवा डेमोक्र्याटिक पार्टीले मंगलबार अपराह्न मात्र प्रारम्भिक नतिजा सार्वजनिक गर्ने जनाएको छ । पार्टीले मतपत्र मार्फत भएको मतदान र विद्युतीय मतदानलाई जाँच गरेर मात्र नतिजा सार्वजनिक गर्ने स्पष्ट गरेको छ ।

पार्टीका अध्यक्ष ट्रोए प्राइसले कम्प्युटर प्रणाली ह्याक वा कुनै अवरोधका कारण नभई रिपोर्टिङमा मात्र समस्या देखिएको बताए । नयाँ मोबाइल एपमा समस्या रहेको पार्टीका समर्थकहरूले पहिल्यै औंल्याएका थिए । पार्टीले नतिजामा गडबडी नहोस् भन्नका लागि एक एक गरी मतपत्र गणना गर्न निर्देश दिएको छ ।

डेस मोइन्स काउन्टीका डेमोक्र्याटिक पार्टीका अध्यक्ष टम कर्टनीले पनि मोबाइल एपमा समस्या देखिएको भन्दै मतदाताले गुनासो गरेको बताए । समस्याका बारेमा जानकारी गराए पनि पार्टीको केन्द्रीय कार्यालयले चित्तबुझ्दो जवाफ नदिइएको समाचारहरूमा जनाइएको छ ।

अमेरिकी राष्ट्रपतिको उम्मेदवार हुन बर्नी स्यान्डर्स, जो बाइडेन, पिट बुटिगीगसमेतका वरिष्ट नेता आयोवाको प्रारम्भिक नतिजालाई व्यग्रताका साथ पर्खिरहेका छन् ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगीहरूले डेमोक्र्याटिक पार्टीभित्र फेरि प्रारम्भिक चुनावमा धाँधली हुन लागेको भन्दै व्यंग गरेका छन् ।

प्रकाशित : माघ २१, २०७६ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?