चीनको बाटो आए अस्ट्रेलिया भिसा क्यान्सिल 

नारायण खड्का

अस्ट्रेलिया — तपाईंकाे भर्खर भिसा लागेको छ र तपाईं अस्ट्रेलिया आउने तयारीमा हुनुहुन्छ ? यदि तपाईं चीनको कुनैपनि सहरलाई ट्रान्जिट बनाएर आउने तयारीमा हुनुहुन्छ भने बुझ्नुस् कि तपाईंले अस्ट्रेलिया प्रवेश पाउनु हुनेछैन र भिसा क्यान्सिल गरेर यहाँस्थित क्वारेन्टाइनमा राखिनेछ । 

चीनको बाटो आए अस्ट्रेलिया भिसा क्यान्सिल 

अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले शनिबार घोषणा गरेको नयाँ नियम अनुसार अस्थायी भिसा लिएर कुनैपनि विदेशी नागरिक चीनको बाटो हुँदै अस्ट्रेलिया आउनेछ भने उसको भिसा रद्द गरिनेछ । विश्वमा फैलिरहेको कोरोना भाइरसको संक्रमणलाई नियन्त्रित गर्ने योजना अनुसार आएको यो नयाँ नियमले भिसा भएपनि उनीहरुले अस्ट्रेलिया प्रवेश गर्न पाउने छैनन् । यहाँस्थित गृह मन्त्रालयले जारी गरेको सूचना अनुसार फेब्रुअरी १ अर्थात् हिजो शनिबारदेखि कुनैपनि विदेशी नागरिकलाई चीनको बाटो हुँदै अस्ट्रेलिया भ्रमण नगर्न आग्रह गरिएको छ । मन्त्रालयको सूचनामा अस्थायी रुपमा २ साताको लागि घोषणा गरिएको यो नियमको समाप्तिपछि उपयुक्त भएमा भिसालाई पुनः दिइनेसमेत उल्लेख गरिएको छ ।

‘अहिलेको अवस्थामा चीनको बाटो हुँदै अस्ट्रेलिया प्रवेश नगर्नु नै एकमात्र विकल्प हो ।’ विगत एक दसकदेखि विद्यार्थीहरुलाई परामर्श दिँदै आएका सञ्जीव पाण्डेको सुझाव छ । उनी नेपालबाट आउने विद्यार्थी तथा उनीहरुका अभिभावकहरुलाई चीनको बाटो हुँदै आउने टिकट लिएको भए त्यसलाई बदलेर अर्को बाटो हुदै आउन सुझाव दिन्छन् । उनी सरकारले लगाएको यो नियम अस्थायी भएको भएपनि आफ्ना नागरिक तथा स्थायी बासिन्दाको अनुमति लिएका व्यक्तिहरु र नजिकका आफन्तलाई यो नियम लागु नहुने बताउँछन् । यद्यपि उनीहरु चीनको बाटो हुँदै आएको खण्डमा दुई सातासम्म अरुबाट आफूलाई अलग राख्नुपर्नेछ ।

चीनियाँ पर्यटकलाई अस्ट्रेलिया आउन प्रतिबन्ध

सिड्नीमा रहेर ट्राभल्स एजेन्सी सञ्चालन गरिरहेका महेन्द्र लम्साल अहिलेको अवस्थामा चीनबाट अस्ट्रेलिया आउने टिकट लिएकाहरुलाई सो टिकटमा यात्रा नगर्न सल्लाह दिन्छन् । ‘विद्यार्थी भिसामा हुनुहुन्छ वा विद्यार्थीको अभिभावक भिसामा हुनुहुन्छ र आजभोलि नै यात्रा गर्दै हुनुहुन्छ भने बरु केही दिन ढिला आउनुस् तर चीन हुँदै नआउनुस् ।’ लम्सालको सल्लाह छ । उनका अनुसार चीनको बाटो हुँदै अस्ट्रेलिया आउने प्राय हवाई कम्पनीहरुले टिकटको सबै रकम फिर्ता गर्न थालिसकेकाले आफ्नो टिकट जाँच गरेर रकम फिर्ता लिएर अर्को टिकट लिएर वैकल्पिक बाटो हुँदै आउन आवश्यक छ ।

अस्ट्रेलियामा रहेर ट्राभल्स एजेन्सीको क्षेत्रमा काम गरिरहेकाहरुका अनुसार प्राय नेपाली विद्यार्थीको रोजाईमा चीनको ट्रान्जिट पर्ने भएकाले समेत विद्यार्थीहरु सचेत हुन आवश्यक छ । अर्का विद्यार्थी परामर्शदाता गोविन्द राना सरकारले नै यो अस्थायी नियमको औपचारिक घोषणा गरेकाले यसलाई गम्भीरतापूर्वक लिन र सरकारको आधिकारिक वेबसाइटमा गएर अद्यावधिक जानकारी लिन आग्रह गर्छन् । अस्ट्रेलियाको बारेमा सुनेर भन्दापनि यथार्थ जानकारी लिएर मात्र आउन समेत उनी सुझाव दिन्छन् ।

प्रकाशित : माघ १९, २०७६ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?