हालसम्मकै लामो तस्करी सुरङ फेला

एजेन्सी

मेक्सिको सिटी — अमेरिका सीमामा तस्करहरुले प्रयोग गर्ने हालसम्मकै लामो सुरुङ फेला परेको छ । ४ हजार ३ सय ९ फिट लामो सुरुङमा लिफ्ट, रेल ट्र्याक, ढल निकास र ‘एयर भेन्टिलेसन’ प्रणालीका साथै ‘हाई भोल्टेज इलेक्ट्रिकल केबल’ पनि पाइएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

हालसम्मकै लामो तस्करी सुरङ फेला


सुरुङको औसत गहिराइ सतहबाट ७०, उचाइ ५.५ र चौडाइ २ फिट रहेको अमेरिकी भन्सार तथा सीमा संरक्षण एकाईले जनाएको छ । सुरुङ निर्माणका लागि कति समय लाग्यो होलो भन्नेबारे भने प्रस्ट पारिएको छैन । सुरुङ मेक्सिकोको राजधानी मेक्सिको सिटीस्थित तिजुआनको औद्योगिक क्षेत्रबाट अमेरिकाको क्यालिफोर्निया क्षेत्रको सान डियागोसम्म फैलिएको अमेरिकी अधिकारीको भनाइ छ ।

सुरुङबाट कसैलाई पक्राउ गरिएको छैन र लागूऔषध पनि फेला परेको छैन । सुरुङ कसले निर्माण गरेको हो भन्नेबारे केही जानकारी नभएको अधिकारीहरुले बताएका छन् । सो क्षेत्रमा लागूऔषध तस्करीका लागि विश्वकै सबैभन्दा ठूलो मेक्सिकन गिरोह ‘सिनालोआ कार्टेल’ सक्रिय रहेकाले उसले नै सुरुङ बनाएको हुन सक्ने अमेरिकी अनुमान छ ।


सुरुङबार गत अगस्टमै सूचना प्राप्त गरिएको मेक्सिकोले बताएको छ । त्यसबेला सुरुङको प्रवेशद्वारमात्रै फेला परेको थियो । पछि अमेरिकी अनुसन्धानकर्ताले त्यसबारे अध्ययन गरेर बुधबार विस्तृत विषय सार्वजनिक गरेका हुन् ।

यसअघि सन् २०१६ मा पनि मेक्सिको–क्यालिफोर्निया सीमामा दर्जनभन्दा बढी सुविधासम्पन्न सुरुङ भेटिएका थिए । अमेरिकाको दोस्रो ठूलो सुरुङ सन् २०१४ मा सान डियागोमा भेटिएको र त्यसको लम्बाइ २ हजार ९ सय ६६ फिट रहेको अमेरिकी भन्सार कार्यालयले जनाएको छ ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रमुख प्राथमिकतामा मेक्सिको सीमा हुँदै अमेरिका प्रवेश गर्ने गैरकानुनी आप्रवासी र लागूऔषध रोक्नेछ । उनले मेक्सिको–अमेरिका सीमामा पर्खाल लगाउनुपर्ने बताउँदै आएका छन् । तर पनि मध्यअमेरिकी देशसहित अफ्रिका र एसियाका गैरकानुनी आप्रवासी मेक्सिको र अमेरिकाको सीमा हुँदै अमेरिका प्रवेश गर्ने गरेका छन् ।

प्रकाशित : माघ १६, २०७६ २१:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?