३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

भारतमा नागरिकता कानुनको विरोध : देशद्रोहको आरोपमा विद्यार्थी पक्राउ

एजेन्सी

नयाँदिल्ली — भारतीय प्रहरीले देशद्रोहको आरोपमा विश्वविद्यालयका एक विद्यार्थीलाई पक्राउ गरेको छ । विवादित नयाँ नागरिकता कानुनको विरोधमा जारी प्रदर्शनको संयोजन गर्दै आएका शरजिल इमाम नामका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हो ।

भारतमा नागरिकता कानुनको विरोध : देशद्रोहको आरोपमा विद्यार्थी पक्राउ

नागरिकता कानुनबारे ती विद्यार्थीले बोलेको विषय राज्यद्रोह भएको आरोप भारत सरकारले लगाएको छ । उनलाई बिहारको जहानाबादबाट पक्राउ गरिएको हो । जहानाबाद अदालतले उनलाई ट्रान्जिट रिमान्डमा दिल्ली प्रहरीलाई जिम्मा लगाएको छ ।


नागरिकतासम्बन्धी नयाँ कानुनको विरोधमा एक महिनायता भइरहेका प्रदर्शनलाई ३१ वर्षीय शरजिलले सहयोग गर्दै आएका छन् । इतिहासका विद्यार्थी उनले उत्तरपूर्वी राज्य असमलाई भारतको अन्य भागबाट ‘अलग्याउनुपर्ने’ भनेर दिएको अभिव्यक्ति देशद्रोही भएको सरकारी दाबी छ । सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का प्रवक्ता सम्बित पात्राले गत साता इमामको प्रतिक्रिया ‘खुला जिहाद’ भएको आरोप लगाएका थिए । आफूले असम जाने रेल र सडक सञ्जाललाई मात्रै अवरोध गर्नुपर्ने धारणा राखेको शरजिलको भनाइ छ ।


आईआईटी रुड्कीबाट इन्जिनियरिङ पढेका शरजिल जवाहरलाल नेहरु विश्विवद्यालयमा आधुनिक इतिहासका समेत विद्यार्थी हुन् । उनले आफ्‍नो भाषणको एउटा हिस्सालाई ताेडमोड गरेर आफूमाथि गलत आरोप लगाएकाे दाबी गर्दै आएका छन् ।


भारत सरकारले गत डिसेम्बर ११ मा पारित गरेको नागरिकतासम्बन्धी नयाँ कानुन मुसलमानविरोधी रहेको भन्दै भारतमा विरोध प्रदर्शन भइरहेका छन् । कानुनमा छिमेकी पाकिस्तान, बंगलादेश र अफगानिस्तानका गैरमुस्लिमलाई भारतीय नागरिकता दिने प्रावधान छ ।

प्रकाशित : माघ १५, २०७६ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?