२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

कोरोना भाइरसको संक्रमण बढ्दो : चीनले बिदा लम्ब्यायो

चीनका प्रधानमन्त्री ली खछ्याङले सोमबार भाइरस प्रभावित वुहानको भ्रमण गरेका छन्
एजेन्सी

बेइजिङ — चीनमा नोवल कोराना भाइरसको संक्रमण थप फैलिन नदिन बिदा लम्ब्याइएको छ । मानिसहरू घरमै बसून् र संक्रमण नफैलियोस् भनेर चिनियाँ नयाँ वर्षको बिदा लम्ब्याइएको हो । ‘मानिसको भीड रोक्न र प्रकोप नफैलियोस् भनेर यसअघि बिहीबारसम्म दिइएको बिदा आइतबारसम्म पुर्‍याइएको छ,’ मन्त्रिपरिषद्को बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ, ‘अर्को सूचना नआएसम्म विद्यालयहरू पनि बन्द रहनेछन् ।’ 

कोरोना भाइरसको संक्रमण बढ्दो : चीनले बिदा लम्ब्यायो

भाइरसका कारण मृत्यु हुनेको संख्या सोमबार ८१ पुगेसँगै बिदा लम्ब्याइएको हो । ३ हजारभन्दा बढी संक्रमित भेटिएको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । भाइरस उद्गमस्थल हुबेईको वुहानमा मात्रै ७६ जनाको मृत्यु भएको चिनियाँ स्वास्थ्य मन्त्रालयले जनाएको छ । सांघाई, हेबेई, हेइलङजियाङ र हेनानमा पनि १/१ जनाको मृत्यु भएको छ । सोमबार हैनानमा पनि ८० वर्षीया महिलाको ज्यान गएको छ ।

चीन शासित हङकङले वुहानबाट आउने सबैलाई प्रवेश निषेध गर्ने भएको छ । भाइरसको फैलन सक्ने क्षमता बढिरहेको भन्ने चीन सरकारको जानकारीसँगै हङकङको पछिल्लो घोषणा आएको हो । सबै ट्राभल एजेन्सीलाई देशभित्रका यात्रा रद्द गर्न भनिएको छ ।


हुबेई प्रान्तको वुहानमा जनवरी २२ बाट स्थगन गरिएको विमान, रेल र बस सेवा अझै खुलाइएको छैन । १७ सहरमा पनि यी सेवा बन्द गरिएका छन् । यसले ५ करोडभन्दा बढी जनता प्रभावित भएका छन् । विश्व व्यापारको केन्द्र सांघाईले बिदा लम्ब्याएर फेब्रुअरी ९ सम्म पुर्‍याएको छ । उसले खेलकुद रंगशाला बन्द गर्न र धार्मिक गतिविधिसमेत नगर्न भनेको छ ।

अन्य देशमा पनि भाइरस संक्रमण भेटिएका छन् । दक्षिण कोरियाले सोमबार कोरोना भाइरसको चौथो संक्रमित भेटिएको जनाएको छ । कम्बोडियाले पहिलोपटक सोमबार एकजनामा संक्रमण पाइएको उल्लेख गरेको छ । थाइल्यान्ड, ताइवान, जापान, अमेरिका, भियतनाम, सिंगापुर, मलेसिया, नेपाल, फ्रान्स, क्यानाडा र अस्ट्रेलियामा पनि संक्रमित भेटिएका छन् । हङकङमा ५ र मकाउमा २ जना संक्रमित भेटिएको चीनले पुष्टि गरेको छ ।


प्रधानमन्त्री ली वुहानमा

चीनका प्रधानमन्त्री ली खछ्याङले सोमबार भाइरस प्रभावित वुहानको भ्रमण गरेका छन् । संक्रमण रोकथामका लागि भइरहेका कामको अनुगमन गर्दै आवश्यक निर्देशन दिन उनी त्यहाँ पुगेको मन्त्रिपरिषद्को वेबसाइटमा उल्लेख छ । उनले अस्पतालका कर्मचारीसँग पनि भेटेका छन् । लीले भाइरस नियन्त्रणका लागि सरकारले आवश्यक सबै कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।उनले सहरका केही सुपरमार्केटको अनुगमन पनि गरेका छन् । ‘भाइरस नियन्त्रणमा ल्याउनु समग्र देशका लागि सुखद् समाचार हुनेछ,’ लीले भने, ‘हामी वुहानका जनताको सुरक्षा, स्वास्थ्य र लामो जीवनको कामना गर्छौं ।’


पर्यटकीय क्षेत्र बन्द

यसैबीच, भाइरसको संक्रमण फैलन सक्ने भन्दै चीनका कैयौं पर्यटकीय क्षेत्र बन्द गरिएका छन् । तिब्बतको राजधानी ल्हासास्थित प्रख्यात पोताला दरबार पनि सोमबार बन्द गरिएको छ । बेइजिङस्थित पूर्वशाही दरबार पनि अर्को सूचना नभएसम्मका लागि शुक्रबारै बन्द गरिएको थियो । हङकङमा पनि मुख्य पर्यटकीय क्षेत्र बन्द गरिएको छ ।


विदेशी नागरिक फिर्ता लगिँदै

वुहानस्थित अमेरिकी महावाणिज्य दूतावासले आफ्ना कूटनीतिज्ञ र नागरिकलाई मंगलबार फिर्ता लाने तयारी भइरहेको बताएको छ । फ्रान्सले पनि आफ्ना नागरिकलाई स्वदेश लगेर छुट्टै निरीक्षणमा राख्ने जनाएको छ । त्यसैगरी, जापान र जर्मनीले पनि वुहानबाट आफ्ना नागरिकलाई फिर्ता लान खोजिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।


अर्थतन्त्रमा धक्का

भाइरसका कारण चीनमा यातायात, मनोरञ्जनका क्षेत्रसहित कलकारखाना पनि बन्द भएका छन् । घरमै बस्नुपर्ने भएकाले उपभोक्ताले खर्च गर्ने दर घटेको छ । यी कारणले खस्कँदो चिनियाँ आर्थिक दरलाई झनै समस्या हुने देखिएको छ ।


पयर्टक र आयात बजारका लागि चीनमा भर पर्ने एसियाली अर्थतन्त्र पनि समस्यामा पर्न सक्ने देखिएको छ । चीनका अनुगमनकर्ताले बैंक र इन्स्योरेन्स कम्पनीलाई भाइरस प्रभावित मानिस र कम्पनीलाई सहयोग गर्न सोमबार विज्ञप्तिमार्फत आग्रह गरेका छन् । भाइरस संक्रमण यसरी नै बढ्दै गए पर्यटन, होटल र रेस्टुरेन्टसहित उद्योगमा समेत असर पर्ने अर्थविद्ले बताएका छन् ।

प्रकाशित : माघ १४, २०७६ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?