१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अमेरिकासँग वार्ताका लागि इरान तयार

एजेन्सी

दुबई — इरानका विदेशमन्त्री मोहम्मद जावेद जरिफले अमेरिकासँग वार्तामा बस्न तयार रहेको बताएका छन् । अमेरिकी ड्रोन हमलामा आफ्ना उच्च सैन्य कमान्डर मारिए पनि अमेरिकासँगको वार्ताबाट इरान भाग्न नखोजेको शनिबार जर्मनीको ‘डेर स्पिजेल म्याग्जिन’लाई अन्तरवार्ता दिँदै विदेशमन्त्री जरिफले बताए । 

अमेरिकासँग वार्ताका लागि इरान तयार

विश्वका ६ शक्तिशाली राष्ट्र र इरानबीच सन् २०१५ मा भएको आणविक सम्झौताबाट अमेरिकाले सन् २०१८ मा एकतर्फी रूपमा हात झिकेदेखि दुई देशबीच तनाव जारी छ । तेहरानमाथि लागेको आर्थिक प्रतिबन्ध हटाउने र त्यसको बदलामा उसले आणविक कार्यक्रम बन्द गर्ने सर्तमा अमेरिकासहितका राष्ट्रले इरानसँग आणविक सम्झौता गरेका थिए । सम्झौताबाट बाहिरिएर अमेरिकाले तेहरानमाथि पुनः प्रतिबन्ध लगाएको छ ।


तनावकैबीच इरानका लागि मध्यपूर्व योजनाका कुटिल योजनाकार सैन्य कमान्डर कासिम सुलेमानीको जनवरी ३ मा इराकको राजधानी बग्दादस्थित विमानस्थलमा अमेरिकी ड्रोन हमलामा मृत्यु भएको थियो । सुलेमानीको मारिएपछि इरानले पनि इराकस्थित दुई अमेरिकी सैन्य आधार शिविरमा क्षेप्यास्त्र प्रहार गरेको थियो । यद्यपि त्यसबाट कुनै मानवीय क्षति भने नभएको अमेरिकाले बताउँदै आएको छ ।


‘पछिल्लो तनावकैबीच पनि इरान अमेरिकासँग वार्ता गर्न चाहन्छ तर त्यसका लागि अमेरिकी प्रतिबन्ध हट्नुपर्छ,’ विदेशमन्त्री जरिफले भने, ‘हाम्रा लागि ह्वाइटहाउसमा को छ भन्ने विषयले भन्दा उनीहरूले कसरी व्यवहार गरिरहेका छन् भन्नेले अर्थ राख्छ ।’ आफ्नो विगत सुधार्दै इरानमाथिको प्रतिबन्ध हटाए ट्रम्प प्रशासनसँग वार्ता हुने जरिफको भनाइ छ । ‘हामी त अझै वार्ताको टेबलमै छौं । वार्ता छोडेर जाने उनीहरू नै हुन्,’ उनले भने ।


जर्मन अखबारलाई दिएको अन्तर्वार्ताको सारांश राखेर इरान वार्ताका लागि तयार रहेको विदेशमन्त्री जरिफले ट्वीट पनि गरेका छन् । उनको ट्वीटमा प्रतिक्रिया जनाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताका लागि तेहरानविरुद्धको प्रतिबन्ध नहट्ने प्रस्ट पारेका छन् ।

सन् २०१५ को सम्झौताले इरानको ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमलाई सम्बोधन नगरेको भन्दै ट्रम्पले नयाँ सम्झौतामा जोड दिँदै आएका छन् । उनले मध्यपूर्वमा भइरहेको द्वन्द्वमा इरानी संलग्नताको पनि विरोध गर्दै आएका छन् ।


आणविक सम्झौताका अन्य हस्ताक्षरकर्ता राष्ट्रले भने त्यसलाई जीवित राख्न प्रयत्न गरिरहेका छन् । सुलेमानीको हत्यापछि इरानले पनि आणविक सम्झौताको कुनै पनि सर्त नमान्ने घोषणा गरिसकेको छ ।


प्रकाशित : माघ १३, २०७६ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?