कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

अमेरिकी सेना फिर्ताको माग गर्दै बग्दादमा प्रदर्शन

एजेन्सी

बग्दाद — अमेरिकी सेना फिर्ताको माग गर्दै इराकको राजधानी बग्दादमा शुक्रबार हजारौंले प्रदर्शन गरेका छन् । इराकका प्रभावशाली धर्मगुरुले आह्वान गरेको ‘मिलियन–म्यान’ अर्थात् ‘१० लाख मान्छे’ र्‍यालीमा सहभागीले अमेरिकी सेना आफ्नो देशबाट फिर्ता हुनुपर्ने माग गरेका हुन् ।

अमेरिकी सेना फिर्ताको माग गर्दै बग्दादमा प्रदर्शन

१० लाख मानिस भेला गर्ने भनिएको प्रदर्शनमा त्यतिको सहभागिता भने थिएन । बग्दादस्थित विमानस्थलमा यसै महिनाको सुरुवातमा गरिएको अमेरिकी हवाई आक्रमणमा इरानका उच्च सैन्य कमान्डर कासिम सुलेमानी मारिएपछि इराकमा अमेरिकाविरोधी भावनामा वृद्धि भएको समाचार संस्था एपीले उल्लेख गरेको छ । बढ्दो अमेरिकाविरोधी भावनाकैबीच शुक्रबार हजारौं इराकमा प्रदर्शन गरेका हुन् ।


बिहानैदेखि राजधानी बग्दादमा भेला भएर प्रदर्शनकारीले अमेरिकाविरोधी नारासमेत लगाएका थिए । प्रदर्शनकारीमध्ये केहीले मध्यपूर्वमा अमेरिकी साझेदार इजरायलविरुद्ध पनि आक्रोश पोखेका थिए ।


इराकमा अमेरिकी सेनाको संख्या थप वृद्धि गरिएको छ । इराकी संसद्ले विदेशी सेनालाई देश छोड्न भने पनि अमेरिकाले सेनाको संख्यामा वृद्धि गरेको हो । इरानको चुनौती समाधान गर्न थप सेना इराक पठाइएको वासिङ्टनको दाबी छ । इरानसँग गत महिनाबाट अमेरिकाको तनाव वृद्धि हुनुपूर्व इराकमा मात्रै ५ हजार अमेरिकी सेना तैनाथ थिए ।


आफ्ना एक ठेकेदारको इरान समर्थित मिलिसियाको आक्रमणमा मृत्यु भएको भन्दै गत महिना अमेरिकाले मिलिसियाका शिविरमा आक्रमण गरेको थियो । आक्रमणबाट २० भन्दा बढी लडाकु मारिएपछि इरानसमर्थित इराकीले राजधानी बग्दादस्थित अमेरिकी दूतावासमा आक्रमण गरेका थिए । सो आक्रमणबाट अमेरिकी दूतावासमा क्षति पुगेको थियो । आक्रोशित अमेरिकाले इरानका उच्च सैन्य कमान्डर सुलेमानी बग्दादस्थित विमानस्थलबाट बाहिरिँदै गर्दा जनवरी ३ मा ड्रोन हमलामा मारिएका थिए । हमलामा सुलेमानीसहित इराकका केही मिलिसिया कमान्डर पनि मारिएका थिए ।


अमेरिकी आक्रमणको प्रतिक्रिया स्वरूप इरानले पनि इराकस्थित अमेरिकाका दुई सैन्य आधार शिविरमा आक्रमण गरेको थियो । यद्यपि सो आक्रमणबाट मानवीय हताहती भने भएन । सोही दिन राजधानी तेहरानमा युक्रेनी ध्वजावाहक विमान दुर्घटना भएको थियो । भूलवस मानवीय त्रुटिका कारण प्रहार गरिएको क्षेप्यास्त्र लागेर विमान खसेको भन्दै इरानले केही दिनपछि सार्वजनिक रूपमै माफी मागेको थियो ।


अमेरिका र इरानबीच पछिल्लो तनाव बढिरहेकै बेला शुक्रबार इराकमा आयोजना गरिएको वासिङ्टनविरोधी प्रदर्शनले थप समस्या उत्पन्न गराउन सक्ने अन्तर्राष्ट्रिय राजनीतिका जानकारहरूले चेतावनी दिएका छन् । केही मत्थर देखिएको अमेरिका–इरान तनावलाई इराकमा शुक्रबार भएको प्रदर्शनले मलजल गर्न सक्ने अनुमान पनि गरिएको छ । इरानले पनि छिमेकी इराकबाट अमेरिकी सेना फिर्ता हुनुपर्ने माग लामो समयदेखि राख्दै आएको छ ।

प्रकाशित : माघ ११, २०७६ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?