गर्भवती महिलालाई अमेरिका प्रवेशमा कडाइ- विश्व - कान्तिपुर समाचार

गर्भवती महिलालाई अमेरिका प्रवेशमा कडाइ

एजेन्सी

वासिङ्टन — संयुक्त राज्य अमेरिका प्रवेश गर्न चाहने गर्भवती महिलालाई अप्ठेरो हुने गरी ट्रम्प प्रशासनले बिहीबार नयाँ भिसा नियम सार्वजनिक गरेको छ ।

बच्चा जन्माउनका लागि मात्रै अमेरिका आउन लागेको भन्ने कन्सुलर अधिकृतहरुलाई लाग्यो भने आवेदकका पर्यटक भिसा अस्वीकृत गरिने संघीय रजिस्टरले जारी गरेको नयाँ नियममा भनिएको छ । ‘बच्चा जन्माउनभन्दा पनि मेडिकल आवश्यकताले मात्र अमेरिका जान लागेको भन्ने आवेदकका भनाइलाई चिर्न अत्यन्तै अप्ठेरो हुने गरेको थियो । मेडिकल आवश्यकताले अमेरिका जान आवेदन दिनेलाई अन्य विदेशीलाई झैं उनीहरुले त्यसका लागि पैसा खर्च गर्न सक्छन् वा सक्दैनन् भनेर हेरिनेछ । त्यसमा उनीहरुको यातायात र अमेरिका बस्दाको खर्च गर्न सक्ने क्षमतालाई पनि हेरिनेछ,’ संघीय रजिस्टरले जनाएको छ ।


राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘जन्म पर्यटन’ प्रतिबन्ध गर्ने उद्देश्यलाई साकार बनाउने उद्देश्यसहित नयाँ भिसा नियम आएको हो । बच्चा जन्माउनकै लागि गर्भवती महिला अमेरिका प्रवेश गर्ने र जन्मका आधारमा पासपोर्ट माग्ने गरेको भन्दै ट्रम्पले उनीहरुको भिसालाई कडाइ गर्ने यसअघि नै बताउँदै आएका थिए ।


‘बर्थ टुरिजम’ अर्थात् ‘जन्म पर्यटन’ एजेन्सी सञ्चालकलाई किर्ते गरेको र कर छलेको आधारमा पक्राउ गरिएको केही घटना भए पनि अमेरिकामा बच्चा जन्माउन जानुलाई मौलिक रूपमा कानुनी अभ्यास मानिन्छ । र, भिजाका लागि आवेदन दिँदा महिलाहरुले सत्य नै बोल्ने गरेका छन् । उनीहरुले कन्सुलरसमक्ष चिकित्सक र अस्पतालसाग गरिएका हस्ताक्षरयुक्त करार पनि देखाउने गरेका छन् ।


अमेरिकी विदेश मन्त्रालयले बच्चालाई नागरिकता पाउने वातावरण बनाउनका लागि मात्रै अमेरिका प्रवेश गर्नु भनेको ‘बर्थ टुरिजम’ भएको आरोप लगाउँदै यो कार्य अवैधानिक भएको जिकिर गरेको छ । उसका अनुसार बिहीबार सार्वजनिक नयाँ नियम शुक्रबारबाटै कार्यान्वयनमा आउनेछ ।

प्रकाशित : माघ ९, २०७६ २१:४३
प्रतिक्रिया
पठाउनुहोस्

प्याजमा घूस लिने सशस्त्र प्रहरी निरीक्षकविरुद्ध मुद्दा

कान्तिपुर संवाददाता

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्याजमा घूस लिएको अभियोगमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बलका निरीक्षक अमृत थापासहित दुई जनाविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।


सशस्त्र प्रहरी बल बीओपी मोरङका कार्यालय प्रमुख थापा र जवान शशितनारायण विश्वासले भारतबाट प्याज ल्याउने व्यापारीसित घूस लिने गरेको पुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । मुद्दा दायर भएसँगै दुवै जना निलम्बित भएका छन् । अख्तियारले दैलेखको श्री पीपलचौतरा माध्यमिक विद्यालय डुंगेश्वर ५ का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं शिक्षक छनोट समितिका संयोजक भक्तबहादुर शाहीसहित तीन जनालाई पक्राउ गरेको छ । शाहीले म्यासेन्जरमार्फत शिक्षक छनोट परीक्षामा प्रश्नपत्र र उत्तरकुञ्जिका पठाई आफ्नो मान्छेलाई उत्तीर्ण गराएको पाइएकाले नियन्त्रणमा लिइएको अख्तियारले उल्लेख गरेको छ ।

शाहीले प्रश्नपत्र र उत्तरकुञ्जिका उपलब्ध गराई शिक्षकमा घनश्याम भण्डारी र वैकल्पिक उम्मेदवार दलबहादुर विकलाई छनोट गराएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ । अख्तियारले शाहीका अतिरिक्त भण्डारी र विकलाई समेत पक्राउ गरी हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित : माघ ९, २०७६ २१:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×