१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

ह्यारी बहिगर्मनको कारण ‘सञ्चारमाध्यम’

३५ वर्षीय ह्यारीले सञ्चारमाध्यमप्रति चित्त दुखाएको यो पहिलो पटक भने होइन
एजेन्सी

लन्डन — बेलायती राजसंस्थाका उत्तराधिकारी युवराज चार्ल्सका द्वितीय पुत्र राजकुमार ह्यारी र उनकी पत्नी मेगन मार्कलले शाही जिम्मेवारी त्यागेर आर्थिक रूपमा निर्भर हुने घोषणा गरेपछि यसबारे विश्वभर विभिन्न टीकाटिप्पणी भइरहेका छन् ।

ह्यारी बहिगर्मनको कारण ‘सञ्चारमाध्यम’

राजकुमार ह्यारीले कसैसँग सल्लाह नै नगरी शाही जिम्मेवारी त्याग्ने घोषणा गरे पनि यस्तो निर्णयसम्म पुग्न विभिन्न कारणले खेलेको बुझिन्छ । राजकुमार ह्यारीकै भनाइलाई मान्ने हो भने उनले शाही जिम्मेवारी त्याग्नुमा सञ्चारमाध्यम पनि एक कारक हो । आफू जन्मेकै दिनदेखि केही पत्रकारले आफूलाई विभाजित गरेको आरोप लगाउँदै उनले शाही जिम्मेवारी त्यागेको शैलीबारे भने पछुतो मानेका छन् ।


कार दुर्घटनामा मारिएकी आफ्नी आमा राजकुमारी डायनालाई उद्धृत गर्दै ह्यारीले आइतबार गरेको व्यक्तिगत सम्बोधनमा शान्तिपूर्ण जीवन चाहेकाले ‘शाही जिम्मेवारी त्याग्नुको विकल्प नरहेको’ बताए । ‘२३ वर्षअघि मैले मेरो आमा गुमाउँदा, तपाईंहरूले मलाई तपाईंको पखेटामुनि राख्नुभयो,’ एचआईभीसँग संक्रमित युवाहरूलाई समर्थन गर्ने अफ्रिका आधारित उनको च्यारिटी ‘लन्डन फर सेन्टेबेल’ मा आयोजित डिनरमा उनले भने, ‘तपाईंहरूले मलाई धेरै समयदेखि नियाल्नुभयो तर सञ्चारमाध्यम शक्तिशाली फौज हो । एकअर्काबीचको हाम्रो सामूहिक समर्थन एक दिन धेरै शक्तिशाली हुनेछ र त्यसलाई चिर्न हामी सफल हुनेछौं ।’ दर्शकदीर्घामा बसेका अधिकांशले आफूलाई हुर्केको देखेकाले उनीहरूले राजकुमार वा ड्युकका रूपमा नभई ह्यारीका हैसियतमा सच्चाई सुन्न चाहेको उनले सम्बोधनको सुरुवातमै बताएका थिए ।


बेलायती महारानी एलिजाबेथ द्वितीयाले शनिबार राजकुमार ह्यारी र उनकी पत्नीले शाही जिम्मेवारी त्याग्नेबारेका सर्तहरू घोषणा गरेकी थिइन् । ह्यारीको निर्णयबारे बेलायती शाही परिवारमा भएको छलफलपछि महारानी एलिजाबेथले एउटा निष्कर्षमा पुगिएको र ‘रचनात्मक तथा समर्थनयुक्त बाटो भेटिएको’ विज्ञप्तिमार्फत जनाएकी थिइन् । महारानी एलिजाबेथले शनिबार घोषणा गरेको नयाँ सर्तअनुसार ह्यारी र मेगनले आउँदो वसन्त ऋतुदेखि ‘रोयल हाइनेस’ पदवी र सार्वजनिक कोष पनि प्रयोग गर्न पाउने छैनन् ।


ह्यारीको आइतबारको सम्बोधनबाट भने स्वतन्त्र हुँदा केही शाही जिम्मेवारी सम्हाल्न सक्नेबारे उनीहरूले गरेको इच्छालाई राजदरबारले स्वीकार नगरेको प्रस्ट हुन्छ । ‘जिम्मेवारी त्याग्दै गर्दा पनि महारानी, कमनवेल्थ र सैन्यसम्बन्धलाई बिनाकुनै सार्वजनिक कोषको सहयोगमा सेवा गर्ने हाम्रो चाहना थियो । त्यो सम्भव भएन,’ उनले भने, ‘यही कारणले मलाई दुःखी बनाएको छ ।’ ‘मैले लिएको निर्णय हलुका रूपमा आएको हैन । कैयौं वर्षका चुनौतीपछि यो निर्णय लिइएको हो र मलाई थाहा छ म सधैं सही थिइन तर जसरी घटनाक्रम बढिरहेका थिए शाही जिम्मेवारी त्याग्नुको विकल्पै भएन,’ ह्यारीले बताए ।

३५ वर्षीय ह्यारीले सञ्चारमाध्यमप्रति चित्त दुखाएको यो पहिलो पटक भने होइन । केही समयअघि पनि उनले केही सञ्चारमाध्यममाथि मुद्दा दायर गर्न लागेको स्वीकारेका थिए । एउटा अन्तरवार्तामा सञ्चारमाध्यमको व्यवहारकै कारण मेगनले पनि आफ्नी आमा डायनाकै नियति भोग्नुपर्ने त्राससमेत व्यक्त गरेका थिए । ह्यारी पत्नी मेगन पूर्वअमेरिकी अभिनेत्री हुन् । उनले पूर्वपति कलाकार एवं निर्माता ट्रेभर एंगेल्सनसँग सन् २०१३ मा सम्बन्धविच्छेद गरेकी थिइन् । ह्यारी र मेगनबीच सन् २०१८ मा बेलायती शाही परम्पराअनुसार विवाह भएको थियो । उनीविरुद्ध शाही मान्यता उल्लंघन गरेको र अवसरवादी बनेको लगायतका नकारात्मक समाचार बाहिरिएका थिए ।

प्रकाशित : माघ ८, २०७६ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?