१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

जेपी नड्‌डा बने भाजपा अध्यक्ष

नयाँदिल्ली — भारतको सत्तारुढ दल भारतीय जनता पार्टीको अध्यक्षमा वरिष्ठ नेता जगतप्रकाश(जेपी) नड्‌डा निर्विरोध चुनिएका छन् । सन् २०१९ को लोकसभा निर्वाचनपछि बनेको नरेन्द्र मोदी नेतृत्वको सरकारमा अध्यक्ष अमित शाह गृहमन्त्री बनेयता नड्‌डा पार्टीको कार्यवाहक अध्यक्ष भूमिकामा रहँदै आएका थिए ।

जेपी नड्‌डा बने भाजपा अध्यक्ष

सोमबार भाजपाको नयाँदिल्लीस्थित मुख्यालयमा अध्यक्ष पदका लागि भएको निर्वाचनमा नड्‌डाको मात्र उम्मेदवारी परेपछि उनी निर्विविरोध चयन भएका हुन् ।


पार्टीको ११ औं अध्यक्ष बन्न सफल भएका ५९ वर्षीय नड्‌डा मोदी र शाहका विश्वासपात्रका रूपमा चिनिन्छन् । हिमाचल बेलासपुरका उनी माथिल्लो सदन राज्यसभा सदस्य छन् । मोदी नेतृत्वको पहिलो सरकारमा स्वास्थ्यमन्त्री बनाइएका नड्डालाई केही समयपछि नै पार्टीको सांगठनिक काम हेर्ने गरी फिर्ता बोलाइएको थियो ।


विद्यार्थीकालबाटै राजनीतिक जीवनको सुरुवात गरेका नड्‌डा पटना विश्वविद्यालयमा अध्ययनरत रहँदा भाजपाको विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी) मा आबद्ध भएका थिए । उनी पार्टीभित्र कुशल संगठनकर्ताका रूपमा समेत चिनिन्छन् ।


९० को दशकमा राजधानी दिल्लीको राजनीतिमा सक्रिय नड्‌डा पहिलो पटक सन् १९९३ को चुनावमा हिमाञ्चल विधानसभा सदस्य चुनिएका थिए । त्यसपछि उनी सोही प्रान्त सरकारमा मन्त्रीसमेत बने । सन् २०१० मा तत्कालीन पार्टी अध्यक्ष नीतिन गड्करीले नड्‌डालाई प्रथम महासचिव बनाए । त्यसयता उनी पार्टीको केन्द्रीय तहमा रहँदै आएका छन् । पार्टीका तर्फबाट उनी सन् २०१२ मा राज्यसभामा निर्वाचित भएका थिए ।


भाजपाको अध्यक्ष चुनिएका नड्‌डा नेपाल–भारत सम्बन्धमा जानकार मानिन्छन् । उनका पिता नारायणलाल नड्‌डा पटना विश्वविद्यालयको प्राध्यापक तथा पछि सिनेट सदस्यसमेत भएका थिए । त्यति बेला नेपालको कलेज परीक्षा पटना विश्वविद्यालयले सञ्चालन गर्ने गर्थ्यो । उक्त परीक्षा सञ्चालनका लागि नड्‌डाका पिता नारायणलाल काठमाडौं आउने जाने गरिरहन्थे । र, आफूसँगै छोरा जेपीलाई पनि लिएर जाने गर्थे । नड्‌डाले नेपाल जाने क्रमलाई पछि पनि निरन्तरता दिएको भाजपा स्रोतको दाबी छ । नेपालसँगको त्यही पुरानो सम्बन्धकै कारण उनले नेपाल र भारतको विषयमा पनि चासो राख्ने गरेका छन् ।

प्रकाशित : माघ ६, २०७६ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?