बेलायती राजकुमार ह्यारी र मेगनको शाही पदवी खोसिने

नवीन पोखरेल

लन्डन — बेलायती राजकुमार ह्यारी तथा उनकी श्रीमती मेगनको शाही पदवी खोसिने भएको छ । उनीहरुले आउँदो वसन्त ऋतुदेखि ‘हिज, हर रोयल हाइनेस्’ भन्ने पदवी र शाही कोष पनि प्रयोग गर्न नपाउने बकिङघम राजदरबारले शनिबार घोषणा गरेको छ । तर ह्यारीलाई राजकुमार र ड्युक अफ ससिक्स् एवं मेगनलाई डचेस अफ ससिक्स् भनेर चाहिं सम्बोधन गरिने छ । 

बेलायती राजकुमार ह्यारी र मेगनको शाही पदवी खोसिने

केही शाही विश्लेषकले यसलाई रानीको कडा निर्णयका रुपमा पनि लिएका छन् । ‘द ड्युक एण्ड डचेस अफ ससिक्स्’ ले वीन्डजोर बर्कसायरस्थित आफ्नो निवास फ्रगमोर कटेज मर्मतका लागि करदाताबाट लिएको २.४ मिलियन पाउन्ड पनि तिर्ने भएका छन् । उनीहरु सैन्य नियुक्तिबाट हट्ने र बेलायती महारानीको औपचारिक प्रतिनिधित्वसमेत नगर्ने बीबीसीले जनाएको छ । विज्ञप्तिमा ह्यारी दम्पतीको सुरक्षा प्रबन्धबारे भने केही खुलाइएको छैन ।


रानीले महिनौंको छलफलपछि नाति र उनको परिवारका लागि रचनात्मक एवं सहयोगी बाटो पहिल्याएको भन्दै खुसी व्यक्त गरेकी छन् । उनले ह्यारी, मेगन र उनीहरुका छोरा आर्ची आफ्नो परिवारमा सधैं प्रिय रहिरहने पनि उल्लेख गरेकी छन् । ह्यारी परिवारमा खुसी र शान्तिपूर्ण नयाँ जीवनको कामना पनि रानीले गरेकी छन् ।


विज्ञप्तिमा ह्यारी दम्पतीले आफूहरुको नयाँ स्वतन्त्र जीवनका लागि महारानी र राजपरिवारबाट प्राप्त समर्थनप्रति आभार व्यक्त गरेको पनि जनाइएको छ । ह्यारी दम्पतीको शाही भूमिका परित्यागबारे महारानी एलिजावेथ द्वितीयाले गत सोमबार आफ्ना परिवारका वरिष्ठ सदस्यहरुसँग स्यान्ड्रिङ्गम दरबारमा छलफल गरेकी थिइन् ।


यो पनि

ह्यारी मेगनले राजपरिवारको वरिष्ठ सदस्यका रुपमा आफूहरु जिम्मेवारीबाट अलग्गिने र आर्थिक रूपमा आत्मनिर्भर हुन काम गर्ने घोषणा गरेपछि रानीले दरबारमा छलफलका लागि बोलाएकी थिइन् । छलफलमा रानीले उनीहरुको चाहनाप्रति आफ्नो पूर्ण सहयोग रहने बताउँदै संक्रमणकालको अवधिभर यूके तथा क्यानाडाबीच समय बिताउन सहमति जनाएकी थिइन् ।


ह्यारी दम्पतीले गत अक्टोबरमा शाही जीवनको चुनौती र केही बेलायती अखबारले आफूहरुको पिछा गरेको भन्दै चिन्ता व्यक्त गरेको समाचार प्रकाशित भएका थिए । ह्यारीले मिडियाका कारण मेगनले आफ्नी आमा डायनाकै नियति भोग्नुपर्ने त्राससमेत व्यक्त गरेका थिए ।


बेलायतको राजनीति तथा स्वास्थ्य क्षेत्रमा निकट रहेर काम गरिरहेका बच्चुकैलाश कैनी राजपरिवारमा सृजित यो संकट ह्यारी र मेगनमा २१ औं शताब्दीमा आधुनिक र स्वतन्त्र बन्ने सोचका कारण आएको बताउँछन् । ‘आजको पुस्तामा स्वन्तन्त्रताको महत्व कति छ भन्ने यो एउटा उदाहरण हो’, कैनी भन्छन्, ‘आजको पुस्ता कसैको दवावमा बस्न सक्दैन् भन्ने पनि यसबाट बुझ्न सकिन्छ ।’

बेलायती राजपरिवार र यो संग सम्बन्धित रीतिरिवाज, संस्कार र परम्परा सयौं वर्ष पुराना छन् । साथै बेलायतीहरु राजसंस्थालाई निकै आदर सम्मान गर्छन् । त्यसैले पनि यो घटनाले बेलायती राजपरिवारको संरचना र राजपरिवारलाई हेर्ने नजरमा खासै फरक नआउने ठान्छन् कैनी ।

प्रकाशित : माघ ५, २०७६ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?