१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

ट्रम्प विरुद्ध महाअभियोग प्रक्रिया सुरु गर्न सपथ ग्रहण

एएफपी

राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाअभियोग प्रक्रिया सुरु गर्न अमेरिकी प्रधानन्यायाधीश जोन रोबर्ट्सले सिनेटका सदस्यहरूलाई निष्पक्ष रूपमा न्याय प्रदान गर्ने विषयमा बिहीबार अपरान्ह सपथ ग्रहण गराएका छन् ।

ट्रम्प विरुद्ध महाअभियोग प्रक्रिया सुरु गर्न सपथ ग्रहण

यसरी सपथ लिएपछि प्रधानन्यायाधीशले सिनेटको सदस्यका रूपमा महाअभियोग प्रस्तावमा हुने समग्र प्रक्रियाको अध्यक्षता ग्रहण गर्नेछन् । उक्त महाअभियोग प्रस्तावमा छलफलका लागि अमेरिकाको प्रधानन्यायाधीशले सबै सिनेट सदस्यलाई सपथ गराउने र उनको अध्यक्षतामा उक्त प्रक्रिायाको किनारा लगाउने कानुनी प्रावधान छ ।

यसलगत्तै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा महाअभियोग लगाउने प्रस्ताव अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा बिहीबारबाट औपचारिक रूपमा सुरुआत भएको जनाइएको छ । प्रधानन्यायाधीश जोन रोबर्टसले बिहीबार अपरान्ह सिनेट बैठकमा उक्त सिनेटका १०० जना मध्ये ९९ औँ सिनेटरलाई सपथ गराएका थिए ।

बिहीबारको सो सपथ कार्यक्रममा रिपब्लिकन पार्टीका एकजना सिनेटर भने अनुपस्थित रहेका थिए । उनको घरायसी कारणले गर्दा सो बैठकमा उपस्थित हुन नसक्नुभएको जानकारी त्यस अवसरमा गराइएको थियो । ट्रम्प विरुद्धमा महाअभियोग लगाउने प्रस्ताव अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्स्ले माथिल्लो सदन सिनेटमा पठाएको थियो ।

हाउस अफ रिप्रेजेन्टेटिभ्सले महाअभियोगको प्रस्ताव माथिल्लो सदनमा पठाउने प्रस्ताव मंगलबार पारित गरेको थियो ।यसअघि हाउस अफ रिप्रेजेन्टेटिभ्समा ट्रम्पमाथि महाअभियोग लगाउनेसम्बन्धी प्रस्तावमा मतदान हुदा २२८ जनाले माथिल्लो सदनमा पठाउने पक्षमा मतदान गरेका थिए भने १९३ जनाले विपक्षमा मतदान गरेका थिए ।

अब प्रधानन्यायाधीशले सपथ लिएसँगै बाँकी प्रक्रिया आगामी मंगलबारबाट शुरु हुन लागेको हो । सिनेटमा पठाइएको प्रस्तावको बाँकी प्रक्रिया अर्को हप्ताबाट अघि बढ्ने यसअघि बताइएको थियो । यसअघि गत मंगलबार उक्त प्रस्ताव पारित भएपछि राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमा 'हामी फेरी अगाडि बढ्ने छौँ, डेमोक्र्याटहरूले हामीलाई केही पनि गर्न सक्नेछैनन्,' लेका थिए ।

मंगलबार सो प्रस्ताव पारित भएपछि बुधबार नै हाउस अफ रिप्रेजेन्टेटिभ्सका सभामुख नान्सी पेलोसीले राष्ट्रपति ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताव सिनेटमा पठाएकी हुन् ।अमेरिकाको इतिहासमा यसरी संसदको तल्लो सदनबाट महाअभियोग लगाइएका राष्ट्रपतिहरूमध्ये ट्रम्प तेस्रो राष्ट्रपति हुन् ।

तर पनि हाउस अफ रिप्रेजेन्टेटिभ्समा राष्ट्रपति ट्रम्पको रिपब्लिकनको नभएर विपक्षी दल डेमोक्र्याटको बहुमत भएकोले यो प्रस्ताव पारित भएको तर सिनेटमा भने महाभियोग प्रस्ताव पास नहुने राजनीतिक विश्लेषक बताउँछन् । सिनेटमा भने रिपब्लिकनका सांसदहरूको बाहुल्यता रहेको छ । १०० जना सदस्य रहने सिनेटमा उनका विरुद्धमा महाभियोग लगाउन नै दुई तिहाइ मत चाहिन्छ । जुन असम्भव नै रहेको विश्लेषकहरूको भनाई छ ।

विपक्षीहरूले ट्रम्पलाई शक्तिको दुरुपयोग गरेको, संसदको काम कारबाहीमा अवरोध पुर्‍याएकोलगायतका आरोपहरुसहित महाअभियोग लगाउन प्रस्ताव गरेका हुन् ।राष्ट्रपति ट्रम्प र उनका समर्थकले भने ती आरोपहरू अस्वीकार गरी ती प्रस्ताव खण्डन गर्दै आएका छन् । ट्रम्प विरुद्धको महाअभियोगको प्रस्तावलाई पक्षपातपूर्ण र आक्रोशबाट चालिएको कदमको संज्ञा उनका समर्थकले दिएका छन् । हाउस अफ रिप्रिजेन्टेटिभ्सले गत महिना राष्ट्रपति ट्रम्प विरुद्धको महाभियोग प्रस्ताव पारित गरेको थियो । सिनेटले पनि यस प्रस्तावलाई दुई तिहाइ मतले पारित गरेमा राष्ट्रपति ट्रम्प पदच्युत हुनेछन् ।

यतिखेर अमेरिकी राजनीति राष्ट्रपति ट्रम्पलाई समर्थन गर्ने र उनको विरोध गर्नेहरूमा विभाजित भएको बताइन्छ । यस प्रस्तावको प्रक्रिया शुरु भएसँगै अमेरिकी राजनीतिक वातावरण फेरि एकपटक तात्न पुगेको छ ।ट्रम्पको दल रिपब्लिकनले महाअभियोगको प्रस्तावलाई असफल गराइने बताएको छ भने विपक्षी दल डेमोक्र्याटिकले भने ट्रम्पलाई सिनेटले महाअभियोग लगाउने र पदच्युद गर्ने बताउँदै आएको छ ।

प्रकाशित : माघ ४, २०७६ १४:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?