१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

ट्रम्प ‘जोकर’ हुन् : खामेनी

एजेन्सी

तेहरान — इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘जोकर’ को संज्ञा दिएका छन् ।

ट्रम्प ‘जोकर’ हुन् : खामेनी

राजधानी तेहरानस्थित मोसल्ला मस्जिदबाट शुक्रबार ८ वर्षपछि सार्वजनिक सम्बोधन गरेका खामेनीले इरानका जनतालाई समर्थन गरेजस्तो देखाउने ट्रम्पलाई ‘जोकर’ भनेका हुन् ।

अमेरिकी हवाई हमलामा मारिएका उच्च सैन्य कमान्डर कासिम सुलेमानीको अन्तिम संस्कारमा लाखौं सहभागी हुनुले इरानी जनताले इस्लामिक गणतन्त्रको समर्थन गरिरहेको प्रस्ट भएको सम्बोधनका क्रममा खामेनीले बताए ।


इस्लामिक स्टेट समूहविरुद्धको लडाइँमा अति प्रभावशाली सैन्य नेतृत्व गरेका सुलेमानीलाई अमेरिकाले जनवरी ३ मा ‘कायरतापूर्वक हत्या गरेको’ उनले आरोप लगाए । उनको हत्याको बदलामा इरानले इराकस्थित अमेरिकाका दुई सैन्य आधार शिविरमा कैयौं ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो । यद्यपि सो आक्रमणबाट कुनै ठूलो क्षति नभएको वासिङ्टनको दाबी छ । इरानले प्रहार गरेको क्षेप्यास्त्र ‘आफूमात्रै विश्वको शक्ति सम्पन्न राष्ट्र हौं’ भन्ने अमेरिकी इज्जतमा प्रहार भएको उनको भनाइ छ ।

शुक्रबारको प्रार्थनापछि सर्वोच्च नेता खामेनीले विरलै गर्ने सम्बोधनमा अमेरिकालाई मध्यपूर्वबाट फिर्ता पठाएपछि मात्रै ‘वास्तविक सजाय’ दिइएको हुने बताए ।


सम्बोधनका क्रममा उनले देशको शक्तिशाली सेनाको समर्थन पनि गरेका छन् । इराकमा क्षेप्यास्त्र हमला गरेकै युक्रेनी यात्रुवहाक विमानलाई ‘भूलवश’ खसालेको भन्ने इरानी सेनाको भनाइलाई ‘झूटो’ रहेको भन्दै तेहरानमा प्रदर्शन भइरहेकै बेला खामेनीले सेनाको बचाउ गरेका हुन् ।

‘भूलवश’ भएको भनिएको हमलाका कारण युक्रेनी ध्वजाबाहक विमानमा सवार चालक दलसहितका १ सय ७६ जना सबै यात्रुको मृत्यु भएको थियो, जसमा अधिकांश यात्रु इरानकै थिए ।


विमान खसेको तीन दिनसम्म इरानी प्रशासनले प्राविधिक कारणले दुर्घटना भएको भन्दै हमला नगरेको दाबी गरिरहेको थियो । पश्चिमा राष्ट्रले इरानले नै युक्रेनी विमान खसालेकोबारे प्रमाण रहेको बताएपछि मात्रै सेनाले ‘गम्भीर मानवीय त्रुटिका कारण भूलवश विमानमा क्षेप्यास्त्र आक्रमण भएको’ स्वीकार गरेको थियो ।

झूटो बोलेको भन्दै तेहरानलगायतका क्षेत्रमा प्रदर्शन भएपछि सरकारले बल प्रयोग गरेको थियो । शुक्रबारको सम्बोधनमा खामेनीले पनि ‘विमान खसाल्नु एउटा तितो दुर्घटना भएको’ र यसले जति शत्रुलाई खुसी बनाएको छ, त्योभन्दा बढी इरानी जनतालाई दुःखी बनाएको बताएका छन् ।


विमान खसालिएको विषय शत्रुहरुले इस्लामिक गणतन्त्र, रिभोलुस्नरी गार्ड र सशस्त्र फौजविरुद्ध प्रश्न गर्न प्रयोग गरेको उनको जिकिर छ । ‘इरानी जनतालाई घुँडामा टेकाउन’ पश्चिमा राष्ट्रहरु अति नै कमजोर रहेको उनले बताए । सन् २०१५ कै आणविक सम्झौताका बुँदाहरुमा इरानलाई टिकाइराख्न यसै साता विवाद संयन्त्र घोषणा गरेका बेलायत, फ्रान्स र जर्मनी अमेरिकाको ‘दास’ भएको आरोप पनि लगाए । उनले अमेरिकाबाहेक अन्य राष्ट्रसँग वार्ता गर्न इरान तयार रहेको बताए ।

खामेनी सन् १९८९ देखि इरानी शक्तिको केन्द्रमा छन् । उनको अन्तिम भनाइ नै देशको निर्णय हुन्छ । जनरल सुलेमानीको अन्तिम संस्कारमा खुला रूपमा रोएका ८० वर्षीय खामेनीले शुक्रबारको सम्बोधनमा पनि अमेरिकाविरुद्ध ‘कडा बदला लिने’ प्रतिबद्धता व्यक्त गरेका छन् ।


शुक्रबारको प्रार्थनमा हजारौं इरानी सहभागी भएका थिए । उनीहरुले अमेरिकाविरुद्ध नारा पनि लगाएका थिए ।

विश्वका ६ शक्तिशाली राष्ट्र र इरानबीच उसको आणविका कार्यक्रम रोक्ने र त्यसका लागि उसविरुद्धको प्रतिबन्ध हटाउने विषयमा भएको आणविक सम्झौताबाट सन् २०१८ मा अमेरिका एक पक्षीय रूपमा बाहिरिएर थप प्रतिबन्ध लगाएपछि दुई देशबीच तनाव बढेको हो ।


अमेरिकी प्रतिबन्धका कारण पछिल्लो समय इरानको अर्थतन्त्र डामाडोल भएको र यसले उसको मुद्राको मूल्य पनि घटेको छ ।

प्रकाशित : माघ ३, २०७६ २०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?