जब दिल्ली प्रहरीलाई अदालतले संविधान पढायो...

को हुन् चन्द्रशेखर आजाद ?
कान्तिपुर संवाददाता

काठमाडौँ — दिल्लीको तीस हजारी अदालतले भीम आर्मीका प्रमुख चन्द्रशेखर आजादविरुद्ध प्रमाण पेस गर्न नसकेकोमा दिल्ली प्रहरीकाे आलाेचना गरेकाे छ । चन्द्रशेखरको जमानत याचिकामा मंगलबार सुनुवाइ गर्दै अदालतले नागरिककाे विराेध गर्ने अधिकारमा हस्तक्षेप गर्न नहुने बताएकाे हाे ।

न्यायाधीश कामिनी लाउले भीम आर्मीका प्रमुखलाई ‘विरोध गर्ने संवैधानिक अधिकार’ भएको बताइन् । डिसेम्बर २१ म नागरिकता संशोधन कानुनको विरोधमा प्रदर्शन गर्दा दरियागञ्जबाट चन्द्रशेखरलाई दिल्ली प्रहरीले पक्राउ गरेको थियो ।


अदालतले संसदमा कुरा नउठेपछि मानिसहरु सडकमा ओर्लिएको पनि बताएको छ । न्यायाधीश लाउले नागरिकलाई विरोध गर्ने अधिकार भएको बताउँदै दिल्ली प्रहरीसँग सोधिन्, ‘धर्ना गर्नुमा के गलत हाे ? विरोध जनाउनु के गलत हाे ? सबैलाई विरोध गर्ने संवैधानिक अधिकार रहेको छ ।’


चन्द्रशेखर नेतृत्वको सामाजिक संगठन भीम आर्मीले प्रहरीको अनुमतिबिना डिसेम्बर २० मा जामा मस्जिददेखि जन्तरमन्तरसम्म र्‍यालीकाे आयोजना गरेको थियो ।


संसदले कुरा नसुनेपछि नागरिक सडकमा उत्रिने कुरालाई जोड दिँदै न्यायाधीश लाउले दिल्ली प्रहरीलाई भनिन्, ‘तपाईँहरु यस्तो व्यवहार गर्दै हुनुहुन्छ कि जामा मस्जिद पाकिस्तानमा छ । पाकिस्तानमा भएको भए पनि तपाईँ त्यहाँ गएर विरोध प्रदर्शन गर्न सक्नुहुन्छ । पाकिस्तान अभिवाजित भारतको एक हिस्सा थियो ।’


जवाफमा सरकारी वकिलले विरोध प्रदर्शन गर्नुअघि अनुमति लिनुपर्ने तर्क प्रस्तुत गरे । यसको जवाफमा न्यायाधीश लाउले यस विषयलाई सर्वोच्च अदालतले कैयौँ पटक धारा १४४ को दुरुपयोगको संज्ञा दिएको बताइन् ।


न्यायाधीश लाउले संसदबाहिर प्रदर्शन गर्ने कैयौँ व्यक्ति पछि नेता र मन्त्री बनेको देखेको बताइन् । संसदमा उठ्नुपर्ने कुरा नउठेपछि नागरिकले त्यस्ता कुरा सडकमा पोख्ने न्यायाधीश लाउले दोहोर्‌याइन् ।

त्यसपछि सरकारी वकिलले चन्द्रशेखरको सामाजिक सञ्जालमा रहेको एउटा पोस्टका आधारमा उनलाई जमानत दिन नहुने तर्क राख्यो । सुरुमा सरकारी वकिलले चन्द्रशेखरको स्टाटस बताउन नमाने पनि न्यायाधीशको निर्देशनपछि उनीहरुले पढेका थिए । चन्द्रशेखरले सामाजिक सञ्जालमा नागरिकता कानुन र एनआरसीको विरोधमा जामा मस्जिदमा भेला हुन सबैलाई आह्वान गरेका थिए ।


न्यायाधीश लाउले चन्द्रशेखरको स्टाटसमा हिंसा भड्काउने कुरा केही नभएको बताइन्, ‘हिंसा कहाँ छ ? यी सबै पोस्टमा हिंसाको कुराचाहिँ कहाँ छ ? कसले भन्यो कि विरोध गर्न पाइँदैन ? के तपाईँले संविधान पढ्नु भएको छ ?’ उनले प्रहरीसँग सोधिन्, ‘तपाईँ मलाई देखाउनुस् कि कुन कानुनबमोजिम धार्मिक स्थानबाहिर प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको छ ?’


न्यायाधीशले यसघटनामा चन्द्रशेखरले हिंसा गरेको केही प्रमाण छ भनेर पनि सरकारी वकिलसँग प्रश्न गरिन् । उनले भनिन्, ‘के तपाईँलाई लाग्छ दिल्ली प्रहरी यति निकम्मा छ कि उसँग केही प्रमाण नै छैन । स–साना घटनाका पनि प्रमाण जुटाउने दिल्ली प्रहरीसँग यस घटनाको प्रमाण किन छैन ?’


दिल्ली प्रहरीले जवाफमा ड्रोन क्यामेराबाट लिएको एउटा तस्बिरबाहेक आफूहरुसँग केही प्रमाण नभएको बताएको छ । अदालतले चन्द्रशेखर आजादसँग कानुनको ड्रिगी भएकाले उनले अदालतभित्र पनि प्रदर्शन गर्न पाउने बताएको थियो । अदालतले चन्द्रशेखरको अम्बेडकरवादी विचारधाराका बारेमा पनि टिप्पणी गरेको थियो । ‘आजाद सम्भवतः अम्बेडकरवादी हुन् । अम्बेडकर मुसलमान, सिख, दलित तथा मुख्यतयाः समाजमा पछाडि पारिएका समुदायको नजिक थिए । उनमा आफ्नै प्रकारको विद्रोहीपन थियो । सायद आजादले गर्न चाहेको कुरा पनि पर्याप्त छैन होला । उनलाई पूरा जानकारी नहुन सक्छ । यदि तपाईँ कुनै मुद्दा चलाउँदै हुनुहुन्छ भने रिसर्च गर्नुहोस् । तपाईँका दलिलमा उनी परेका छैनन् ।’


चन्द्रशेखर आजादका तर्फबाट दर्ता गरिएको याचिकामा महमूद प्राचाले बहस गरेका थिए । चन्द्रशेखरलाई लगाइएको आरोपमा प्रहरीसँग कुनै प्रमाण नभएकाले उनको गिरफ्तारी गैरकानुनी भएको उनले बताए । चन्द्रशेखरकाे मुद्दामा बुधबार पुन: सुनुवाइ हुँदैछ ।


को हुन् चन्द्रशेखर आजाद ?

चन्द्रशेखर आजाद उर्फ रावण उत्तर प्रदेशको सहारनपुरको धडकौलीमा स्थायी बासिन्दा हुन् । उनी कानुनमा स्नातक गरेका छन् ।

सन् २०१४ मा उनले विनय रतन सिंहसँग मिलेर भीम आर्मी वा भीम आर्मी भारत एकता मिसनको स्थापना गरे ।



यो संस्था दर्ता भएको छैन, तर यसले दलित र सीमान्तकृत समुदायको लागि लड्ने उद्घोष गरेको थियो । चन्द्रशेखेरले आफ्नो गाउँमा ‘द ग्रेट चमार डा. भीमराव अम्बेडकर ग्राम धडकौली तपाईँलाई हार्दिक स्वागत गर्दछ’ भनेर बोर्ड लगाएपछि चर्चामा आएका थिए ।


भीम आर्मी कस्तो संस्था हो ?

भीम आर्मीले भारतका सात वटा राज्यमा ४० हजारभन्दा बढी सदस्य भएको दाबी गर्छ । विशेषगरी यो संस्था उत्तर प्रदेशका सीमान्तकृत समुदायमा लोकप्रिय रहेको छ । यसले सीमान्तकृत समुदायका बालबालिकाको शैक्षिक सुधारका लागि तीन सयभन्दा बढी विद्यालय सञ्चालन गरिरहेको छ । दलित समुदायका १८ वर्षदेखि २५ वर्षसम्मका युवा संस्थामा जोडिन सक्छन् । संस्थामा सबैभन्दा बढी चमार समुदायका सदस्य रहेका छन् । त्यस्तै मुस्लिम समुदाय पनि संस्थामा जोडिन सक्नेछन् ।


सन् २०१७ मा भीम आर्मीले दिल्लीमा अम्बेडकरको फोटोसहित ठूलो प्रदर्शन गरेको थियो । दिल्ली प्रहरीका अनुसार भीम आर्माीका झन्डै १० हजार सदस्य जन्तर मन्तरमा भेला भएर विरोध प्रदर्शन गरेका थिए ।


-एजेन्सीकाे सहयाेगमा प्रकाशित : माघ १, २०७६ १४:०३

प्रतिक्रिया
पठाउनुहोस्

सुनको मूल्यमा उतारचढाव कायमै,  तोलामा ७०० ले बढ्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — निकै उतारचढावकाबीच कारोबार हुँदै आएको सुनको मूल्यमा बुधबार सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्यमा प्रतितोला ७०० रुपैयाँले वृद्धि भएको छ ।

महासंघले छापावाला सुनको मूल्य प्रतितोला ७४ हजार ७०० र तेजाबी सुनको मूल्य प्रतितोला ७४ हजार ४०० तोकेको छ । मंगलबार छापावाला सुन प्रतितोला ७४ हजार र तेजाबी सुन प्रतितोला ७३ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो । गत बधुबार नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको थियो ।

उक्त दिन छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ७६ हजार २०० रुपैयाँ पुगेको थियो । सुनको मूल्य बढेसँगै चाँदीको मूल्यमा पनि प्रतितोला ५ रुपैयाँले वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला ८८५ मा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

पछिल्लो समय मध्यपूर्वमा देखिएको तनाव, चीन–अमेरिका व्यापार युद्धका कारण सुनको मूल्यमा उतारचढाव देखिँदै आएको छ ।

प्रकाशित : माघ १, २०७६ १३:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×