२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

ह्यारी र मेगन ‘केही समय स्वतन्त्र’

नवीन पोखरेल

लन्डन — बेलायती महारानी एलिजाबेथ द्वितीयाले राजकुमार ह्यारी र उनकी श्रीमती मेगन मर्केलले ‘संक्रमणको अवधिभर’ यूके तथा क्यानडामा समय बिताउन स्वीकृति दिएकी छन् ।

ह्यारी र मेगन ‘केही समय स्वतन्त्र’

बेलायती सञ्चारमाध्यमका अनुसार ब्रिटिस महारानीद्वारा जारी वक्तव्यमा उनीहरूलाई केही समयका शाही भूमिकाबाट अलग रहन स्वीकृति दिइएको जनाइए पनि संक्रमणको अवधिबारे केही खुलाइएको छैन ।

राजकुमार ह्यारी दम्पतीले शाही भूमिका परित्याग गर्ने निर्णयबारे छलफल गर्न महारानी एलिजाबेथले आफ्ना परिवारका वरिष्ठ सदस्यहरूसँगको छलफलपछि उक्त निर्णय लिएकी जनाइएको छ ।


बेलायती राजकुमार ह्यारी र उनकी श्रीमती मेगनले राजपरिवारको वरिष्ठ सदस्यका रूपमा आफूहरू जिम्मेवारीबाट अलग्गिने र आर्थिक रूपमा आत्मनिर्भर हुन काम गर्ने गतसाता घोषणा गरेका थिए ।


महारानीले नयाँ भूमिका निर्वाह गर्ने राजकुमार ह्यारी तथा उनकी श्रीमतीको चाहनाप्रति आफ्नो पूर्ण सहयोग रहने पनि बताएकी छन् । तर महारानीले ह्यारी र मेगन पूर्णकालीन रूपमा शाही परिवारको सदस्यका रूपमा जिम्मेवारीमा रहिरहे राम्रो हुने बताएकी बीबीसीले उल्लेख गरेको छ ।

स्यान्ड्रिङ्घम दरबारमा भएको कुराकानी निकै रचनात्मक भएको एलिजावेथको भनाइ छ । ‘स्यान्ड्रिङ्घम समिट’ नाम दिइएको छलफलमा राजकुमार ह्यारी, राजकुमार विलियम, राजकुमार चार्लस सहभागी भए पनि मेगन भने अनुपस्थित थिइन् । गतसाता जिम्मेवारीबाट अलग्गिने घोषणासँगै उनी क्यानाडा पुगेकी थिइन् ।

बकिङ्घम राजदरबारसँग सरसल्लाह नगरीकनै उक्त घोषणा भएपछि राजपरिवारका वरिष्ठ सदस्यहरूसमेत दुःखी भएका समाचार प्रकाशित भएका थिए । तर, ती दम्पतीले कैयौं महिनाको आन्तरिक छलफलपछि शाही भूमिका परित्यागको निर्णयमा पुगिएको बताएका थिए ।

आफ्ना छोराको पठनपाठन तथा नयाँ कल्याणकारी काम सुरु गर्न पछिल्लो निर्णय गरिएको उनीहरूको भनाइ छ । उनीहरूको पहिलो सन्तान आर्ची ह्यारिसन अहिले ९ महिनाका छन् ।

ह्यारी दम्पती पछिल्लो पटक केही मिडियाका कारण तनावमा देखिन्थे । गत अक्टोबरमा ह्यारीले गैरकानुनी रूपमा आफ्नो ‘भ्वाइस मेसेज’ सुनेको आरोप लगाउँदै बेलायती समाचारपत्र सन तथा डेली मिररविरुद्ध कानुनी कारबाही सुरु गरेका थिए भने मेगनले पनि मेल अखबारविरुद्ध आफ्ना पितालाई लेखेको गोप्य पत्र प्रकाशित गरेको आरोप लगाउँदै मुद्दा दायर गरेकी थिइन् ।

प्रकाशित : माघ १, २०७६ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?