१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

‘युक्रेनी विमानमा क्षेप्यास्त्र हान्ने पक्राउ’

एजेन्सी

तेहरान — इरानले युक्रेनी विमानमा क्षेप्यास्त्र प्रहार गर्न जिम्मेवार ठानिएकाहरूलाई पक्राउ गरेको जनाएको छ । पक्राउ गरिएका मानिसको संख्याबारे उल्लेख नगरिएको समाचार संस्था रोयटर्सले जनाएको छ । 

‘युक्रेनी विमानमा क्षेप्यास्त्र हान्ने पक्राउ’

तेहरान विमानस्थलबाट गतसाता उडेको विमान क्षेप्यास्त्र प्रहारका कारण दुर्घटना भएको थियो । दुर्घटनामा ८२ इरानी, ५७ क्यानाडेली ११ जना युक्रेनीसहित स्विडेन, यूके, अफगानिस्तान र जर्मनीका नागरिकको ज्यान गएको थियो ।


न्यायपालिकाका प्रवक्ता गोलामहोसेन स्माइलीले ‘घटनाबारे अनुसन्धान जारी रहेको’ जनाएका छन् । बीबीसीका अनुसार इरानी राष्ट्रपति हसन रौहानीले उक्त मुद्दा ‘विशेष अदालतले हेर्ने’ बताएका छन् । विमान खसेको केही दिनसम्म दुर्घटनाका लागि आफू जिम्मेवार नरहेको दाबी गर्दै आएको इरानी सेनाले अन्तर्राष्ट्रिय दबाबपछि गल्ती स्वीकार गरिसकेको छ । सेनाले ‘भूलबस क्षेप्यास्त्र प्रहार गरिएको’ जनाइसकेको छ । यद्यपि, इरानी राष्ट्रपति रौहानीले दुर्घटनालाई ‘अक्षम्यपूर्ण घटना’ संज्ञा दिएका थिए ।


सरकारले दुर्घटनाबारे गल्ती बोलेको भन्दै इरानमा गत शनिबारदेखि सुरु आन्दोलन बुधबार पनि जारी रहेको छ । तेहरानका मुख्य सडक तथा चोकहरूमा विरोध जनाएका प्रदर्शनकारीले इरानी सर्वोच्च नेता आयोतुल्लाह खामेनीको कडा विरोध गरेका बीबीसीले उल्लेख गरको छ ।


प्रदर्शनकारीहरूले विमान खसाल्न जिम्मेवार अधिकारी तथा घटना लुकाउनेमाथि मुद्दा चलाइनुपर्ने तथा ‘झूटो बोल्नेलाई मृत्युदण्ड दिइनुपर्ने माग गरेका छन् ।


विरोधमा उत्रिएकामाथि मंगलबार इरानी रिभोलुसनरी गार्डअन्तर्गतको दंगा प्रहरीले अश्रुग्यास तथा रबरका गोली हानेको थियो । तेहरानको आजादी स्क्वायरमा भएको प्रदर्शनमा सुरक्षाकर्मीले गोली चलाएको दाबी गरिए पनि तेहरान प्रहरी प्रमुख हुसेन रहिमीले अस्वीकार गरेका थिए ।


मंगलबार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले विमान दुर्घटनाका पीडितलाई न्याय दिलाउने बताएका थिए । दुर्घटनामा ज्यान गुमाउनेहरूको स्मृतिमा आयोजित कार्यक्रममा उनले ‘दुर्घटनाबारे इरानसँग प्रस्ट जवाफ माग्ने’ बताएका थिए ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानमा पछिल्ला दिनमा भएका प्रदर्शनलाई समर्थन जनाएका छन् । ‘आफू इरानका बहादुर नागरिक तथा पीडितहरूको पक्षमा रहेको’ ट्रम्पको भनाइ छ ।

प्रकाशित : माघ १, २०७६ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?