१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

धेरै पानी खाएको भन्दै अस्ट्रेलियामा ५ हजार ऊँटलाई गोली हानियो 

एजेन्सी

अस्ट्रेलिया — दक्षिण अस्ट्रेलियामा ५ हजार ऊँटलाई गोली हानेर मारिएको छ । खडेरी र पानीको समस्यासँग जुधिरहेको उक्त क्षेत्रमा ऊँटले धेरै पानी खाइदिएपछि हेलिकप्टरबाट गोली हानेर मारिएको समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ ।

धेरै पानी खाएको भन्दै अस्ट्रेलियामा ५ हजार ऊँटलाई गोली हानियो 

५ दिन लगाएर 'सुटर'ले हेलिकप्टरबाट गोली हानेर ऊँट मारेका हुन् । खडेरी प्रभावित दक्षिणी अस्ट्रेलिया क्षेत्रका रैथानेहरुलाई ऊँटले पानी खाइदिएर असर गरेपछि गोली हानेर मारिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

दक्षिण अस्ट्रेलियाका अबोरिजिनल अगुवाहरुले झुन्डमा आएका ऊँटले ग्रामिण इलाकामा धेरै पानी र खानेकुरा खाइदिने, भौतिक संरचना भत्काइदिनेजस्ता गतिविधि गरेको बताए ।


ऊँटका झुन्डलाई छुट्टाइएको एपीआई क्षेत्रमा मात्र २ हजार ३ सय परिवार रैथाने समुदायको बसोबास रहेको त्यहाँका जेनेरल म्यानेजर रिचार्ड किङले बताए । झुन्ड छुट्याउने काम आइतबार सकिएको थियो ।


मंगलबार एक विज्ञप्ति निकाल्दै रिचार्डले भनेका छन्, 'पशु अधिकारकर्मीहरुको चिन्तालाई हामीले गम्भीर रुपमा लिएका छौँ तर यहाँका रैथाने जीवहरुको यथार्थबारे धेरै गलत सूचनाहरु आएका छन् । हामीले आगन्तुक प्रजातिमा समाधान खोज्नुपर्छ ।'


रिचार्डले ऊँटहरु पानी भएका स्थानहरुमा मर्दा मुहानहरु प्रदूषित भएको बताए । पानीका मुहान प्रदूषित हुँदा त्यहाँ आश्रित स्थानीय र रैथाने जीवहरुलाई असर गरेको उनले एएफपीलाई बताएका छन् ।


लामोसमयसम्म खडेरी हुँदा रैथाने जीवहरुलाई मात्रै नभएर ऊँटहरुसमेत प्रभावित हुँदा जथाभावी मरेका र रोगी ऊँटहरु फेला पर्ने गरेका थिए । ऊँटले त्यहाँका रैथाने वनस्पति तथा बिरुवाहरुलाई खाइदिने गर्दा विभिन्न समस्याहरु निम्त्याउने गरेको एपीआईले जनाएको छ । त्यहाँका मानिसहरुले यसअघि आउने ऊँटलाई बेच्ने तथा व्यवस्थापन गरेपनि पछिल्लो समय संख्या धेरै हुँदा वातवरणमा असर परेको त्यहाँको वातावरण विभागले जनाएको छ ।


सेप्टेम्बरदेखि अस्ट्रेलियामा फैलिएको डढेलोका कारण खाना र पानीको अभाव भएपछि ऊँटहरु त्यसैको खोजीमा मानवबस्तीहरुमा छिर्न थालेका छन् । कतिपय खान नपाएर भोकै रहने र जुनसुकै ठाउँमा ऊँटहरु मरेका छन् । पानीमा मुहानहरुमा पानी खाने त्यहीँ मर्न थालेपछि मारिएको हो ।

ऊँट अस्ट्रेलियाको रैथाने प्रजाति हैन । यो त्यहाँका लागि बाह्य प्रजाति हो । सन् १८४० मा अस्ट्रेलियामा पहिलोपटक भारतबाट ऊँट ल्याइएको थियो ।अस्ट्रेलियामा पहिलो पटक २० हजार ऊँट अन्यत्रबाट ल्याइएको थियो ।


अहिले विश्वमा सबैभन्दा बढी ऊँट अस्ट्रेलियामा पाइन्छन् । अस्ट्रेलियाका विभिन्न मरुभूमिहरुमा करिब १० लाखको हाराहारीमा ऊँट रहेको अनुमान गरिन्छ ।

प्रकाशित : पुस २९, २०७६ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?